मिस नेपाल २०१९ प्रतियोगिताको २५ औं संस्करण हो अर्थात् प्रतियोगिताको सिल्भर जुब्ली। सिल्भर जुब्लीको संघारमा सौन्दर्य प्रतियोगिता आयोजक हिडन ट्रेजरले गाली र आलोचना खेप्नु पर्यो। मिस नेपाल २०१९ को अडिसनको भिडियो क्लिपका कारण आलोचना भएको हो। अस्मिता महर्जन नाम गरेकी सहभागीलाई मेक अप नगरेको, लेन्सको सट्टा चश्मा लगाएको निहुँमा गाली गरेको भन्दै आयोजक र जज रचना गुरुङ शर्मा विरुद्ध सामाजिक सञ्जालमा मानिस खनिए।
सोही विषय बारे स्पष्टीकरण दिन हिडन ट्रिजरले विज्ञप्ति जारी गरेको छ। लेखिएको छ,'जुनसुकै जाँच, परिक्षा वा अन्तर्वातामा सहभागीले गाह्रो प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ। सहभागीको सहन शक्ति, आत्मविश्वास र तनाव सन्तुलन जाँच्नको लागि पनि यसो गरिन्छ। यसले उनीहरुको उत्कृष्ट पक्ष बारे थाहा दिनसक्छ। यस्तो प्रश्न कसैलाई हानी वा नोक्सान पुर्याउने उदेश्यले गरिंदैन।'
हिडन ट्रेजरले पनि सोही प्रक्रिया अपनाएको जनाएको छ। लेखिएको छ,'भिडियो क्लिपमा प्रस्तुत सहभागी पनि उत्कृष्ट ठहरिइन् र अर्को चरणमा पुग्न सफल पनि भइन्।'
२५ वर्षयता मिस नेपालको कोरियोग्राफी सम्हाल्दै आएकी रचना गुरुङले भने मेकअप सौन्दर्य प्रतियोगिताको लागि आवश्यक भएकाले आफू त्यसरी प्रस्तुत भएको जनाएकी थिइन्।
भिडियो क्लिपकै कारण सहानुभूती बटुलेकी सहभागी अस्मिता प्रतियोगिताको उत्कृष्ट २६ मा पुगेकी छिन्। उनी नम्बर ८ प्रतियोगी हुन्। अब २६ जनाबाट उत्कृष्ट १९ छानिने छन्। धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड र काठमाडौंमा भएको अडिसनबाट छानिएकाहरुलाई विभिन्न तालिम प्रदान भइरहेको छ। मे ९ मा हुने फिनालेका लागि अडिसनबाट छानिएका प्रतियोगीहरुले ६ साता लामो प्रशिक्षण पाउँनेछन्। प्रशिक्षण अवधीभर पनि विभिन्न प्रतिस्पर्धा हुनेछन्।