
पोखरा : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ। आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गते बाट शुरु हुनेछ।
आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह बैशाख ५ गते हुने भएपनि केही खेलहरु २०७५ साल चैत २७ बाटै सुरु हुँदैछ। नेपालको राष्ट्रिय खेलकुदको इतिहासमानै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको हो।
कुल ६ वटा स्वर्ण पदकका लागि विभागिय टोली नेपाली सेना र प्रदेशका तर्फ बाट ४६ पुरुष र ९ महिला खेलाडी भिड्ने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिब शैलेन्द्र राउतले बताए।
प्याराग्लाइडिङतर्फ दुई वटा विधा क्रश कन्ट्री र एक्यूरेसी गरि प्रतियोगिता संचालन हुनेछ। जसमा पुरुष खेलाडी तर्फको एक्यूरेसीमा टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसी र क्रश कन्ट्री तर्फ टिम क्रश कन्ट्रि र इन्डिभिजुअल क्रश कन्ट्री संचालन हुने महासचिब राउतले बताए। यता महिलातर्फ भने इन्डिभिजुअल क्रश कन्ट्री र ईन्डिभिजुअल एक्यूरेसीमा खेलाडी भिड्ने छन्।
प्याराग्लाइडिङमा प्रदेश नं १ बाट ९ जना, प्रदेश ३ बाट ११ जना, गण्डकी प्रदेश बाट १३ जना, प्रदेश ६ बाट ४ जना र प्रदेश ७ बाट ४ जना रहेका छन भने विभागिय टोली नेपाल आर्मी बाट १४ जना रहेका छन्। प्रदेश २ र ५ बाट भने प्याराग्लाइडिङमा कुनै पनि खेलाडी मैदानमा छैनन्।
यस पटक प्याराग्लाइडिङ प्रतिष्पर्धामा विभागिय टोली आर्मीले पुरुष तर्फ १० र महिला ४ गरि १४ जनाको टिम तयार गरेको छ। आर्मीबाट प्रतिष्पर्धामा रहेका पुरुष २ जना खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन। एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम भने आर्मीबाट प्रतिष्पर्धामा उत्रने भएका हुन।
यूवा खेलाडी यूकेश गुरुङ र शसिल गुरुङले गण्डकी प्रदेश बाट खेल्ने छन १८औं एशियाडमा सहभागी महिला खेलाडी सबिता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजन गण्डकी प्रदेशबाट नै सहभागिता जनाउने छन्। तर एशियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारीले आठौं खेलकुदमा निर्णायकको भूमिकामा रहने महासचिब राउतले बताए। प्याराग्लाइडिङ खेल बैशाख ९ गतेसम्म संचालन हुने छ।