PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

हावाहुरी पीडितलाई प्रतिपक्षी कांग्रेसको सहयोग प्रस्तावमा सत्तापक्षका सांसद मौन, कर्णालीबाट यसरी जुट्दैछ सहयोग



पी बी खड्का

हावाहुरी पीडितलाई प्रतिपक्षी कांग्रेसको सहयोग प्रस्तावमा सत्तापक्षका सांसद मौन, कर्णालीबाट यसरी जुट्दैछ सहयोग

 ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,

तराईमा आँधी आए पहाडले छेक्नुपर्छ....’

गएको मंगलबार कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले ढ्याप्ढ्यापे समयमा देशभक्ती भावले ओतप्रोत यो गीत गुन्गुनाउने प्रयास गरे।

नेता शाहीले थपे, ‘बारा र पर्सामा भयानक हावाहुरीले पीडितको अवस्था अहिले दर्दनाक छ। धेरै परिवार घरवारविहिन भएका छन्,’ उनले थपे, ‘यो गीतको भावनामा जोडिनुपर्छ। बारा र पर्साको त्यो पीडामा कर्णालीबाट मल्हम लगाउन सक्नुपर्छ।’ नेता शाहीले बोल्दै बारा र पर्सामा आएको आँधिहुरी पीडितलाई चार दिन बराबरको पारिश्रमिक पठाउनुपर्ने माग अघि सारे।

उक्त प्रस्तावलाई स्विकार गर्दै कर्णाली प्रदेशमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले करिब ४२ हजार बढी रुपैयाँ सहयोग गरे। यद्यपि नेकपा सांसद भने, अहिलेसम्म चुप छन्। दुई तिहाई भन्दा धेरै बहुमत रहेको कर्णाली प्रदेशसभामा प्रतिपक्षको प्रस्तावमा मौन रहे।

बुधबार बसेको काँग्रेस संसदीय दलको बैठकले बारा र पर्साका हावाहुरी पीडितको राहतका लागि भन्दै ४२ हजार ४६६ रुपैयाँ नगद प्रदेश नं. २ सरकारको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ। संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले पाउने पारिश्रमकको ७ दिन बराबर ११ हजार ६ सय ६६, सचेतक हिमबहादुर शाहीले ४ दिन बराबर ६ हजार ४ सय, सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले ४ दिन बराबर ६ हजार ४ सय, प्रदेशसभा सदस्य यज्ञबहादुर बिसीले ६ हजार, झोवा विकले ६ हजार र अमृता शाहीबाट ६ हजार गरेर सो रकम जम्मा गरे।

बारा र पर्साका नागरिकको पीडामा मल्हमपट्टी लगाउन कर्णाली प्रदेश सरकारदेखि सर्वसाधारणसम्म सहयोग जुटाउन लागिपरेका छन्।

यसैबीच कर्णाली प्रदेश सरकारले भर्खरमात्रै करोड दिने निर्णय गरेको छ। राहतस्वरुप प्रदेश नं. २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फबाट १ करोड उपलब्ध गराउने निर्णय भइसकेको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए।

बारा र पर्सामा भएको धनजनको क्षतिमा थोरै भएपनि मल्हम लगाउन कर्णालीवासीले रगतदेखि राहतसम्म पठाई सकेका छन्। रगतको अभावमा घाइते हुनेहरुको ज्यान गुमाउनु नपरोस् भनेर केही दिन अघि कर्णाली इन्जिनियरिङ समाज सुर्खेत र तराई इन्जिनियरिङ समाजले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरे। रक्तदान कार्यक्रमबाट संकलित ४६ पिन्ट रगत बारा र पर्सामा पठाइ सकिएको छ। संकलन रगत जिल्ला रेडक्रसमार्फत प्रभावित क्षेत्रमा पठाइएको हो।

कर्णालीका विभिन्न जिल्लाबाट समेत राहत साम्रगी संकलन गर्ने र पठाउने क्रम जारी छ। जाजरकोट र दैलेखले पनि राहत सामग्री पठाइसकेको छ। जाजरकोटबाट कर्मचारीहरुले २३ हजार ५ रुपैयाँ २ र दैलेखले ४२ हजारबढी २ नम्वर प्रदेशका मुख्य मन्त्री राहतकोषको खाता जम्मा गरिसकेका छन्।

जाजरकोटकै स्थानीय व्यापारीहरुले समेत १ सय ९७ जोडा जुत्ता–चप्पल र १ सय ५३ थान लत्ता–कपडा प्रभावित जिल्लामा पठाएका छन्। हिमालदेखि पहाड हुँदै तराईसम्मको यो अभियानले बारा र पर्साको पीडामा पक्कै पनि मल्हम लगाउन सघाउने अपेक्षा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell