'लभ स्टेसन'को ट्रेलर सार्वजनिक गरेसँगै ट्रेलरमा टर्किस फिल्म 'हेर्से अस्क्तन'का केही दृश्य कपी गरिएको गसिप चल्यो। कतिले फिल्म नै उक्त टर्किस फिल्मबाट प्रभावित हुनसक्ने अनुमान पहिल्यै गरेका थिए।
२०१६ मा रिलिज भएको 'हेर्से अस्क्तन' युट्युबमा हेर्न सकिन्छ। 'लभ स्टेसन'मा 'हेर्से अस्क्तन'का अधिकांश पटकथा चोरिएका छन्, तर फिल्मको स्टोरीलाइन भने 'सेभेम्ली तेल्हकेली' को हो। यो पनि टर्किस फिल्म।
लभ स्टेसन'को शुरुवातको न्यारेसनमा भनिएको छ 'इलामको सुन्दर अनि एक्लो घरबाट कथा सुरु गरौं।'
दर्शकलाई लाग्न सक्छ इलामबाट कथा शुरु भयो। वास्तवमा त्यहाँ इलामको कथा होइन 'सेभेम्ली तेल्हकेली'को कथा सुरु हुन्छ। भनीराख्नु नपर्ला फिल्मको कथा उही, पटकथा उही अनि केन्द्रीय द्वन्द्व पनि।
उदयराज थापा (रमेश बुढाथोकी)की श्रीमतीले प्रसव पीडामा नै प्राण त्याग्छिन्। सम्पति छोराछोरीको नाममा गरिदिएकी हुन्छिन्। आमासँगै बच्चाको पनि मृत्यु हुन्छ। अदालतको आँखा छल्न अरुको बच्चालाई आफ्नो बनाउन तयार हुन्छन् उदयराज। उनलाई जसरी नि सम्पति हडप्नु छ। पैसा दिएर सागर (प्रदीप खड्का)का बुवालाई बच्चा चोर्न लगाउँछन्। बुवाले सागरलाई सिरु बिष्ट र रवि डंगोलकी छोरी रानी (जसिता गुरुङ) चोर्न लगाउँछन्।
सागरले बच्चा चोरेर दिएसँगै उनको बुवा मारिन्छन्। सानैबेला चोरेको उक्त रानी खोज्ने कथासँगै अघि बढ्छ 'लभ स्टेसन'।
टर्किस फिल्म र 'लभ स्टेसन'मा फरक भनेको स्थान र संवादमा प्रयोग भाषा हो। कतिपय संवादमा दुवै फिल्ममा समानता भेटिन्छ। टर्किस फिल्मको सुर्यमूखी फूलको सेटिङलाई यता चियाबगानमा परिणत गरिएको छ।
'लभ स्टेसन'को पहिलो हाफमा 'हेर्से अस्क्तन'का पटकथा मिसाइएका छन्।
फिल्ममा सागर गिटारिस्ट हुन्छन् टर्किस फिल्ममा भने हिरो ड्रमरको भूमिकामा छन्। सागर र रानीको दार्जिलिङको पहिलो भेट 'हेर्से अस्क्तन'का पेलिन र बुरकको भेट जस्तै समान छन्। पेलिन जसरी नै रानी सागरको गाडीमा ठोक्किन पुग्छिन्। बुरकले जसरी नै यता सागरले जसिताको हिँडाइसँग ताल मिलाएर कंगो बजाउँछन्। त्यस्तै, ब्याचलर पार्टीको निहूँमा अर्कै केटीसँग रसलिला रचाउँदै गरेको अवस्थामा पेलिनले प्रेमीलाई लखेटेको दृश्य निर्देशकले हुबहु कपी गरेका छन्।
'हेर्से अस्क्तन' मा जस्तै लभ स्टेसनमा अभिनेत्री जसिताले पनि आफ्नो प्रेमीलाई अरुसँगै भेटेपछि सम्बन्ध टुटाउँछिन्। रिसाउँदै पिठो मुछ्ने दृश्य, फेसबुकमा सिंगल लेख्ने कार्य, अनि प्रेमीले फकाएको दृश्यमा केही फरक छैन।
'हेर्से अस्क्तन'मा देखिएका पात्रहरु लभ स्टेसनमा देखिन्छन्। रेस्टूराँको मालिक र विनोद पौडेललाई उस्तै स्थापित गरिएको छ। फिल्मको नाम लभ स्टेसन भए पनि फिल्ममा कतै पनि 'प्रेम' स्थापित नै भएको लाग्दैन।
फिल्मका लेखक सुवास सिंह बस्नेतले दुई टर्किस फिल्मलाई नेपालको कथा बनाएर 'लभ स्टेसन'मा ढालेका छन्। फिल्मको नामलाई नै न्याय दिन नसकेका निर्देशक उज्ज्वल फिल्म हुबहु कपी गर्नमा भने माहिर देखिएका छन्।
दोस्रो हाफ स्लो छ।
निर्देशक उज्ज्वलले नक्कल गर्न अक्कल नपुर्याएको देखिन्छ।
उनी क्लाइमेक्सको दृश्यमा चलाखी अपनाउन खोज्दा चिप्लिएका छन्। त्यसैको प्रतिफलस्वरुप क्लाइमेक्स दृश्य टर्किस फिल्ममा भन्दा बढी तन्काइएको लाग्छ।
टर्किस फिल्ममा पाइने मिठास 'लभ स्टेसन'मा कतै भेटिन्न।
पार्श्व संगीतमा एलिस कार्कीको काम सान्दर्भिक नै छ। कतै भने संगीत निकै लाउड सुनिन्छ।
फिल्ममा कतै टर्किस फिल्मलाई क्रेडिट दिएको छैन। चोरिएको आरोपबाट मुक्त छैन फिल्म। एडाप्टेसन भनिएको भए दर्शकलाई न्याय हुन्थ्यो तर निर्माण टिम यसमा जिम्मेवार देखिएन।
प्रदीपको अभिनयमा सुधार छैन। 'लिलिबिली'पछि जसिताले यो फिल्ममा मेहनत गरेकी छिन्। सिरुले आफ्नो भूमिकालाई न्याय दिने किसिमको अभिनय गरेकी छिन्। यद्यपि, फिल्म कपी गरेका कारण उनीहरुको अभिनयले ओरिजिनल फिल्म हेरेका दर्शकहरुलाई खल्लो लाग्छ नै।
नेपाली फिल्मबाट निराश भएका नेपाली दर्शकलाई यस्तो फिल्मले कस्तो सन्देश देला?
हुन त, नेपाली रजतपटमा 'अर्गानिक' कथाको खुबै चर्चा छ अहिले। निर्देशकदेखि अभिनेता/ अभिनेत्रीहरु प्रचारप्रसारका एउटै मन्त्र जप्छन् 'फिल्मको कथा नौलो छ।'
नेपाली नेताहरुको जेन्टलमेन एग्रिमेन्ट झै उनीहरुले दर्शकसँग नयाँ कथा पस्केको भाषण गर्छन्। घरबाट दशर्कलाई सिनेमा घरसम्म डोर्याउनेछ।'
पैसा तिरेर दर्शक पनि आफ्ना स्टारका फिल्म हेर्न पुग्छन्, उही नौलो कथाको खोजीमा। तर धेरैपटक फिल्म सकिने बेलासम्म अर्गानिक भनिएको कथन बासी निस्कन्छ। एउटा बिग्रेको आलुले बोरामा भएको सबै आलु बिग्रार्छ भनेझै फिल्मी क्षेत्रमा आफै बिग्रने रोग हावी भएको छ। आउने केही समयसम्म त्यो रोगको उपचार गर्न सकिएन भने त्यसले नेपाली रजतपटलाई धरायसी नबनाउलान् भन्न सकिँदैन।