
काठमाडौं : सलिनमान बनियाँ अभिनित फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ।
निर्माण टिमले फिल्मको प्रचार टार्गेट गरेर 'हाजिरी जवाफ' प्रतियोगिता गर्ने भएको छ। निर्माण टिमले मकै एपसँगको सहकार्यमा एउटा प्रश्नमाथि हाजिरी जवाफ गर्ने भएको हो।
प्रतियोगिताको विजेतालाई नगद १ लाख उपहार दिइने बताइएको छ। प्रतियोगिताको प्रश्न हो, फिल्ममा तपस्याको भूमिका निर्वाह गरेकी मलिका महतले आँखाको ज्योति कसरी गुमाउँछिन्?
ट्रेलर हेरेर जो कोहीले जवाफ दिन पाउनेछन्। यो प्रतियोगिता आउँदो चैत्र २९ गतेसम्म हुने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए। आगामी वैशाख २० गते फेसबुक लाइभ मार्फत विजेता घोषणा गरिने निर्माण टिमले जनाएको छ।
मलिकाले यसै फिल्म मार्फत फिल्ममा डेब्यू गरेकी हुन्।
फिल्ममा मलिका र सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ।
त्यस्तै चाइनाका जुन झाङ र केन्याका बबीको पनि फिल्ममा अभिनय रहनेछ। कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ।
फिल्म भने अनमोल केसी अभिनित 'ए मेरो हजुर ३'सँगै चैत २९ मा प्रदर्शनमा आउँदैछ।