PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

लिबिया संकट: अमेरिकी र भारतीय सैनिक फिर्ता, नेपाली सेनाको जिम्मामा युएन मिसन मुख्यालय



विधुर ढकाल

लिबिया संकट: अमेरिकी र भारतीय सैनिक फिर्ता, नेपाली सेनाको जिम्मामा युएन मिसन मुख्यालय
फोटो: REUTERS

काठमाडौं: पछिल्लो समय लिबियामा शान्ति स्थापनाको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेरेसको प्रयास असफल भएसँगै हिंसा भड्किएको छ। त्यहाँको विद्रोही समूह दी लिबियन नेसनल आर्मी (एलएनए)ले सरकारी फौजमाथि आक्रमणलाई बढाउँदै लगेको छ।

एलएनएका लडाकुहरु आक्रमणलाई तीब्र पार्दै राजधानी त्रिपोली तर्फ अगाडि बढेका छन्।

गत शुक्रवारमात्र राष्ट्र संघका महासचिव गुर्टेरेस र विद्रोही नेता खलिफा हफ्तारबीच वार्ता भएको थियो। वार्ता असफल भएसँगै विद्रोही नेताले आक्रमणलाई अगाडि बढाउने लडाकुलाई निर्देशन दिएका थिए।

विद्रोहीहरुले त्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडानमा रोक लगाउँदै 'नो फ्लाइ जोन' घोषणा गरेका छन्।

त्यहाँ रहेका राष्ट्र संघीय सहयोग मिसनका अधिकारीहरुलाई सडक मार्गको बाटो प्रयोग गरी छिमेकी राष्ट्र ट्यूनिसिया पठाउन थालिएको छ।

लिबिया मिसनका प्रमुख तथा महासचिवका विशेष प्रतिनिधि घासन सलामेलगायतका उच्च अधिकारीहरु अझै लिबियामा रहेका छन्। राजधानी त्रिपोलीस्थित मिसन हेडक्वाटरको सुरक्षा त्यहाँस्थित राष्ट्र संघीय शान्ति सेनामा कार्यरत नेपाली सेनाले गरिररहेको छ। मिसनमा कार्यरत  २३१ जना नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको नेपाली सेनाको मुख्यालयमा जनाएको छ।

पछिल्लो पटक राजधानी त्रिपोली नजिकै राष्ट्र संघ समर्थित सरकारी सेना र विद्रोही पक्षबीच भएको भिडन्तमा २१ जना मारिएका छन्

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले युद्ध रोकी वार्ताको लागि आह्वान गरेका छन्।

यद्दपि जनरल हफ्तार नेतृत्वको विद्रोही लडाकुहरु पूर्वबाट राजधानी त्रिपोली तर्फ अगाडि बढिरहेका छन्। प्रधानमन्त्री फैयाज अल सेराजले उनीहरुलाई सफल हुन नदिने दाबी गरेका छन्।

शनिबार भएको भिडन्तमा परी रेड क्रिसेन्टका चिकित्सकको मृत्यु भएको बताइएको छ। त्यस्तै जनरल हफ्तारका १४ लडाकु मारिएको बताइएको छ।

यसअघि राष्ट्रसंघले घाइतेहरुको उद्धारका लागि दुई घण्टा युद्धविराम गर्न आग्रह गरेको थियो तर पनि युद्ध जारी रहेको छ।

अन्तर्राष्ट्रिय समुदायले युद्ध भड्किएसँगै आफ्ना नागरिकहरुलाई उद्धार गर्न थालेका छन्। लिबियामा सन् २०११ मा लामो समयदेखिका शासक मुअमुर गद्दाफीलाई अपदस्त गरेसँगै युद्ध भड्किँदै आएको छ।

गद्दाफी सर्मथक जनरल हफ्तार नेतृत्वको एलएनएका लडाकुले गत बिहीबार देखि त्रिपोलीमाथि पश्चिम र दक्षिणबाट आक्रमण गरिरहेका छन्। राष्ट्र संघले मानवीय सहायतका लागि गरेको आग्रह अस्विकार गरिएको छ। भने आपतकालिन सेवा दिन नपाएको र युद्ध चलिरहेको स्थानमा पुग्न नसिकएको जनाएको छ।

यद्यपि राष्ट्र संघका प्रवक्ताले सकरात्मक संकेत आउने आशा व्यक्त गरेका छन्।

आइतबार एलएनएका लडाकुहरुले आफ्नो पहिलो एयर स्ट्राइक गरेको जनाएका छन्। शनिबारमात्र राष्ट्र संघ समर्थित सरकारले एयर स्ट्राइक गरेको थियो।

युद्ध त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भइरहेको बताइएको छ। जनरल हफ्तारले विमानस्थल आफ्नो कब्जामा लिएको जनाएको छ।

विदेशी सैनिक सारिए

अमेरिकाले आफ्नो सैनिकहरुलाई स्थानान्तरण गरेको जनाएको छ। अमेरिकी सेनाको युएस अफ्रिका कमाण्ड त्यहाँबाट सारिएको बताइएको छ।

त्यस्तै भारतले पनि शान्ति सेनामा कार्यरत आफ्ना सैनिक तथा प्रहरीलाई सारेको जनाएको छ। भारतीय विदेश मन्त्री सुस्मा स्वराजले त्यहाँ कार्यरत १५ सेन्ट्रल रिजर्भ पुलिस फोर्सका शान्ति सेनालाई त्रिपोलीबाट उद्धार गरिएको जानकारी गराएकी छन्।

इटालीको बहुमदेशीय तेल तथा ग्यास कम्पनी एनीले आफ्ना सबै कामदारहरुलाई उद्धार गरेको जनाएको छ। त्यस्तै राष्ट्र संघले आवश्यक बाहेकका आफ्ना अधिकारीहरुलाई बाहिर पठाएको छ।

सन् १९६९ मा गद्दाफीले सत्ता हत्याएपछि उनलाई साथ दिएका हफ्तारले विद्रोहीको नेतृत्व गरिरहेका छन्। सन् २०१५ मा संयुक्त सरकार बने पनि त्यहाँको राष्ट्रिय संकट रोक्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell