PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सुदूरपश्चिममा ७४ विशेषज्ञ चिकित्सकमध्ये ७२ संघमा, तर पनि प्रदेश सरकार भन्छ, 'प्रदेश चिकित्सक विहीन हुँदैन' 



एम बम

सुदूरपश्चिममा ७४ विशेषज्ञ चिकित्सकमध्ये ७२ संघमा, तर पनि प्रदेश सरकार भन्छ, 'प्रदेश चिकित्सक विहीन हुँदैन' 

कैलाली: सुदूरपश्चिम प्रदेशमा अहिले ७४ विशेषज्ञ चिकित्सक, ७१ मेडिकल अधिकृत, ६९ जनस्वास्थ्य अधिकृत, ४ मेडिकल रेकर्डर, ४ सय १९ अहेब र अनमी, १ सय ३० जना नर्स गरी ३ हजार १ सय ७७ जनाको दरबन्दी छ। 


तर संघीय सरकारले सार्वजनिक गरेको कर्मचारी समायोजनको सूचीमा प्रदेशका लागि १२ जना चिकित्सक मात्रै तोकिएका छन्। प्रदेश मातहतका अस्पतालका लागि २ जना विशेषज्ञ र ४ जना मेडिकल अधिकृत र स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रका लागि ६ जना मेडिकल अधिकृत मात्रै तोकिएका हुन्। हाल सेती अञ्चल अस्पतालमा कार्यरत चिकित्सक दसौँ तहका डा. खगेन्द्र भट्ट र नवौँ तहका डा. जगदीश जोशी मात्रै सुदूरपश्चिममा समायोजन भए। 


अब प्रदेशमा ७२ विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदै छ। अहिले सेती र महाकाली अञ्चल अस्पताल प्रदेश मातहत छन्। सेती अञ्चल अस्पताल प्रदेशको रेफरल अस्पताल समेत हो। यस्तै, बैतडी, बाजुरा, अछाम, बझाङ, दार्चुला र डोटी जिल्ला अस्पताललगायत अन्य ४ वटा गरी १२ वटा अस्पताल प्रदेश सरकारको मातहतमा छन् । सुदूरपश्चिममा डडेलधुराको उपक्षेत्रीय अस्पताल भने संघीय सरकार मातहत छ ।


यसभन्दा पहिले पनि सुदूरपश्चिम प्रदेशमा चिकित्सकको दरबन्दी कहिल्यै पूर्ण पूर्ति हुन सकेको छैन। रेफरल अस्पताल सेतीमा २२ जना विशेषज्ञ चिकित्सक मध्ये आधा जति दरबन्दी सुरुवात बाटै हालसम्म पनि रिक्त छ। अब झन् प्रदेश नै रित्तिने अवस्थामा पुगेको हो। 

प्रदेश सरकार भन्छः प्रदेश चिकित्सक विहीन हुन दिन्नौँ 


‘प्रदेशका चिकित्सकले धनगढी छोड्यो भन्दैमा यहाँ डुबी हाल्ने अवस्था चाहिँ छैन। त्यसको लागि हामी चिन्ता गरिराख्नु पर्दैन,’ प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले भने ‘अब अहिले विज्ञापन रोकिएको हुनाले अलिकति समस्या चाहिँ हो। अब तुरुन्तै विज्ञापन खुल्यो भने हामीले २/३ महिनामा चिकित्सक भर्ना गरेपछि अहिलेको समस्या केही हदसम्म समाधान हुन्छ नै।’ 
प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि प्रदेश चिकित्सक विहीन नहुने दाबी गरे। उनले भने ‘अहिले संघ समायोजन रोजेका चिकित्सकहरूको प्रदेशका २ ठूला अस्पतालहरू पनि केन्द्रमा लैजानुपर्छ भन्ने माग छ। त्यो हामी कदापि हुन दिन्नौँ। बरु प्रदेशका अस्पतालहरूको व्यवस्थापनमा ध्यान दिन्छौँ।’ 


के सम्भव छ त प्रदेश सकरारको आफै चिकित्सक नियुक्त गर्ने योजना?


सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सकको दरबन्दी पूर्ति नहुनु अथवा हुन नसक्नु आजको समस्या होइन। अस्पतालहरू सञ्चालमा आए देखि नै यहाँका स्वास्थ्य संस्थाहरूमा पूर्णरुपमा चिकित्सकको पदपूर्ति हुन सकेको छैन। 


हाल पनि प्रदेशमा रहेका ७४ विशेषज्ञ चिकित्सक, ७१ मेडिकल अधिकृत, ६९ जनस्वास्थ्य अधिकृत, ४ मेडिकल रेकर्डर, ४ सय १९ अहेब र अनमी, १ सय ३० जना नर्स गरी ३ हजार १ सय ७७ जनाको दरबन्दीमा ६ सय ३२ पद रिक्त छन्। 


त्यसमा पनि २१ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा ३ जना मात्रै काम गर्नुपर्ने अवस्था समेत छ। यस्तो अवस्थामा प्रदेशमा चिकित्सक पाउनु प्रदेश सरकारले भने जति सहज नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी बताउँछन्।  

 
‘सरकारले भने पनि एमबीबीएस डाक्टर त पाइएलान् तर विशेषज्ञ डाक्टर पाउन धेरै मुस्किल छ।  उनले भने यसका लागि केन्द्रबाटै दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकहरू आउन जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell