
काठमाडौं : दीपेन्द्र लामाको निर्देशनमा 'छ माया छपक्कै' बन्ने भएको छ। आमा सरस्वती मुभिजको ब्यानरमा फिल्म बन्ने भएको हो।
निर्देशक लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्म यही वैशाखदेखि छायाँकनमा जाने जानकारी गराएका हुन्। फिल्मका लागि कलाकारहरु फाइनल भएका छैनन्।
हालै कलाकार दीपकराज गिरीले निर्देशक लामालाई आमा सरस्वती ब्यानरको नयाँ फिल्मका लागि निर्देशक चयन गरेका थिए। यो ब्यानरले 'छ'बाट शुरु हुने शीर्षकमा फिल्म बनाउँदै आएको छ।
यसअघि ब्यानर अन्तर्गत '६ एकान ६', 'वडा नम्बर ६', 'छक्का पञ्जा'को तेस्रो सिरिज निर्माण भइसकेका छन्। सँधै दशैंको बिदा टार्गेट गरेर प्रदर्शनमा आइरहेको 'छक्का पञ्जा'को सिरिज आगामी दशैंमा भने प्रदर्शनमा आउने छैन। 'छ माया छपक्कै'ले दशैंलाई रिलिज टार्गेट बनाएको छ।
ब्यानरबाट कमेडी जनराका फिल्म निर्माण हुँदै आएका छन्। यसअघि 'घामपानी' र 'गोपी' निर्देशन गरिसकेका लामा कमेडी जनरामा कथा भन्ने तयारीमा देखिन्छन्। रोहित अधिकारी फिल्म्ससँगको संयुक्त निर्माणमा बन्ने फिल्ममा हरि हुमागाईंको छायाँकन रहने बताइएको छ।