
काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपालले सान्त्वना जित हात पारेको छ।
म्यानमारमा भइरहेको समूह ए को छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित गरेको हो। नेपालको लागि सावित्रा भण्डारीले ३६औँ र ८९औँ मिनेटमा गोल गरिन्। इन्डोनेसियाको लागि सालिहानले ४७औँ मिनेटमा गोल गरिन्।
यसअघि नै म्यानमार र भारतसँग समान ३-१ को नतिजामा पराजित भएको नेपाल समूह चरणबाटै बाहिरसकेको छ।
इन्डोनेसिया विरुद्धको खेलमा नेपालका प्रशिक्षक हरि खड्काले तीन खेलाडी परिवर्तन गरेका थिए। खड्काले गोलकिपर अन्जना राना मगर र डिफेण्डरद्वय अमृता जैशी र कविता धिमाललाई पहिलो रोजाईँमा खेलाएका थिए।
यस्तै अर्को खेलमा भारतसँग ३-३ को बराबरी खेलेको घरेलु टोली म्यानमार अघिल्लो चरणमा प्रवेश गरेको छ। बराबरीपछि म्यानमार र भारतको समान अंक भएपनि गोलअन्तरको आधारमा म्यानमार शीर्ष स्थानमा रहेको हो।