PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

तानातानमा बाबुराम: पार्टी एकीकरण फोरम कि राजपासँग?



बीपी साह

तानातानमा बाबुराम: पार्टी एकीकरण फोरम कि राजपासँग?

काठमाडौँ: पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणका लागि सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपाल र सत्ता बाहिर रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता अगाडि बढाएका छन्।

फोरम नेपाल र नयाँ शक्तिबीच चैत पहिलो सातादेखि नै छलफल सुरु भएको छ। स्थानीय तह निर्वाचनमा सहकार्य गरेपछि नयाँ शक्ति र फोरमबीच एकीकरणको प्रयास भएको थियो।

एकताको प्रक्रियामा भने नेतृत्वको विषयमा सहमति भएको थिएन। बाबुराम पक्षले अध्यक्षमा उपेन्द्र यादवलाई अस्वीकार गर्दा एकीकरण रोकिएको थियो। त्यसपछि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन दुवै पार्टी छुट्टाछुट्टै चुनाव चिह्न लिएर लडेका थिए।

तर, निर्वाचन सकिएको डेढ वर्षपछि नयाँ शक्ति र फोरमबीच पुनः एकताको प्रयास थालिएको छ। एकीकरणका लागि छलफल भइरहेको फोरमका सहध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।

‘चैतको पहिलो साता उहाँहरूसँग छलफल भएको हो। कुनै निष्कर्षमा पुग्न सकेका छैनौँ’ पहिलोपोस्टसँग श्रेष्ठले भने,‘थप छलफलको आवश्यकता छ।’

यसैबीच चैतको दोस्रो साता नयाँ शक्ति पार्टी र राजपाबीच पनि एकीकरणका विषयमा छलफल भएको छ। छलफलमा दुवै पक्षका नेताहरूले आ–आफ्ना कुरा राखेका थिए।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले पार्टी एकीकरणका लागि प्रारम्भिक छलफल भएको बताए। भण्डारीले भने, 'थप छलफलका लागि नेता राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति बनाएका छौँ। समितिले प्रक्रिया अघि बढाइरहेको छ।'

पछिल्लो समय राजपा र फोरमबीच नै एकीकरणको चर्चासमेत चलेको थियो। तर, उक्त चर्चा अहिले साम्य भएको छ।

फोरमका सहध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामीले पत्र पठायौँ। उताबाट पनि पत्र आयो। पुनः हामीले पत्राचार गर्‍यौँ। त्यसको जवाफ आएको छैन। राजपासँगको एकीकरण अहिलेका लागि पत्राचारमै सीमित छ।’

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै फोरमसँगको एकीकरण प्रक्रिया अघि बढाउने उल्लेख गरेका छन्। अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नेतृत्वको वार्ता समितिले एकीकरणबारे छिट्टै प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा भनिएको छ।

 

नयाँ शक्तिको एकीकरण अभियान

नयाँ शक्ति पार्टीका प्रवक्ता प्रशान्त सिंहले पार्टीको योजना अनुसार पाँच महिनामा पाँच काम गर्ने क्रममा रहेको बताए। योजना अनुसार जनपरिचालन र जनसंवाद भएको बताउँदै प्रवक्ता सिंहले भने,‘अब विभिन्न शक्तिहरू मिल्नु पर्ने आवश्यकता देखिएकोले छलफल चलाइएको छ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दुवै उस्ता उस्तै पार्टी रहेको आरोप लगाउँदै सिंहले भने,‘अब देशमा राजनीतिक ध्रुवीकरण भएन भने संविधानभन्दा पछाडि देश फर्किन सक्छ। त्यस कारण डा. बाबुराम भट्टराईले सबै शक्तिहरूलाई मिलाएर नयाँ ध्रुव बनाउन खोज्नु भएको छ।’

सिंहले ध्रुवीकरणका लागि राजपा, फोरम, विवेकशील साझालगायतका दलहरूसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको पुष्टि गरे। उनले आफ्नो पार्टीको नीति बमोजिम नै एकीकरणका लागि छलफल भइरहेको बताए।

विभिन्न दलसँग छलफल भए पनि अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिएको बताउँदै सिंहले भने,‘देशका अन्य भागमा पनि सक्रिय शक्तिहरूसँग वार्ताको क्रम चलेको छ। सबैलाई एक ढिक्का बनाउने हाम्रो पार्टीको योजना रहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell