
बाँके : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपालगन्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ। नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ। सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन। दुवै टिमले गोल गर्न नसकेपछि १-१ अंक बाँडिएको छ।
आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए। गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन। ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने।
आर्मीका प्रशिक्षक मान बहादुर बस्नेतले आफ्नो टिमले फिल्ड नयाँ र अगाडि खेल्ने खेलाडिको व्यवस्थापन नमिल्दा खेल अवधिभर दवावमा पारेपनि गोल गर्न नसकिएको प्रतिक्रिया दिए। गण्डकी प्रदेशका प्रशिक्षकले आर्मिलाई रोक्न सक्नु नै मुख्य सफलता मिलेको प्रतिक्रिया दिए। उनले भने ‘हाम्रो ६ जना राम्रो खेलाडि नेपाल प्रहरीको टिममा गएकाले केहि कमजोर खेल प्रर्दशन भएपनि बराबरी हुदाँ फाइलनमा पुगेको जस्तो भान भएको छ।’
मुख्य प्रशिक्षक पिन्टुका अनुसार दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच तथा बेलुकी तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ बी हुनेछ।
२८ चैत (बिहीबार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए।
उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेशबीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेश वीच प्रतिष्पर्धा हुने छ । त्यसैगरि, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने भएको छ।
४ वैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ वीच हुने भएको छ।
त्यसैगरि, १ वैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस वीच हुने छ। दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेश वीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पनि शर्माले जानकारी दिए। २ वैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिस वीच हुने जानकारी दिए। ३ वैशाखदेखि सेमीफाइनलका खेल हुने भएको छ। वैशाखमा ४ मा फाइनल खेल हुने उनले बताए।
हक्कीमा पुरुषतर्फ १६२ र महिलातर्फ १०८ खेलाडी सहभागि छन्।