
बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजबाट नेपालगन्जमा सुरु भएको पुरुष हक्की प्रदेश नं. ३ लाई प्रदेश नं. २ ले ५-० ले पराजित गरेको छ।
खेल अवधिभर प्रदेश नं. ३ लाई दबाबमा राखेको २ नं. प्रदेशका लागि मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे।
३८ औँ मिनेटमा गोविन्द अधिकारीले दोस्रो गोल गरे।, खेलको ५२ औँ र ५४ औँ मिनेटमा कप्तान हरविन्द्र सिंहले दुई गोल गर्दै २ नं. प्रदेशलाई ४-० को अग्रता दिलाए।
निरन्तर दबाबमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरे। प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए।
प्रतियोगिताको पहिलो दिन प्रदेश नं. ३ का खेलाडीले कुनै गोल गर्न नसकेपनि खेलाडीको प्रदर्शन राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताए। उनले २ नं. प्रदेशका पुराना र अनुभवी खेलाडीसँग ३ नं. प्रदेशका नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नु नै सौभाग्य भएको बताए।
उनले प्रतियोगितामा सहभागी सवै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताए। ‘खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन। नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो। खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने।
त्यसअघि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ। सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दबाबमा राखे पनि कुनै गोल गर्न सकेन। दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ।
आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए। गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन। ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दबाबमा राखेपनि गोल गर्न सकेन,’ उनले भने।