PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

आज कीर्तिपुरमा पृथ्वीनारायण शाहले नाक काटेको दिन : सम्झनामा बन्दै ८६५ किलोको गँ (घण्ट)



सहयोग रञ्जित

आज कीर्तिपुरमा पृथ्वीनारायण शाहले नाक काटेको दिन : सम्झनामा बन्दै ८६५ किलोको गँ (घण्ट)

कीर्तिपुर : कीर्तिपुरको बाघ भैरब मन्दिर पछाडि ८ सय ६५ किलोको गँ (घण्ट) निर्माण हुने भएको छ।

पृथ्वीनारायण शाहले चैत्र २६ मा कीर्तिपुर विजय गरेको र चैत्र २७ गते नाक, कान र ओठ काटेको दिन भन्दै आज गँ राख्ने स्थानको शिलन्यास गरिएको हो।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गँ निर्माण हुने स्थानमा पुजा गरी शिलन्यास गरेका हुन्। महर्जनले कीर्तिपुरका वीर योद्धाहरुलाई गरिएको अपमानको विरुद्ध गँ स्थापना गर्न लागेको बताए।

कीर्तिपुर विजय गरेको भोलिपल्ट पृथ्वीनारायण शाहले आफ्नो क्रोध यहाँ बाँकी रहेका मानिसहरुमाथि निकालेको भन्दै वीरगति प्राप्त गरेका कीर्तीपुरवासीहरुको सम्झनामा गँ स्थापना गर्ने कार्य स्वागत योग्य रहेको उनले बताए।

राज्य पक्षले कीर्तिपुरवासीहरुमाथि भएको अमानवीय व्यवहारलाई कहिल्यै स्वीकर नगरेको भन्दै उनले गँ इतिहासमा भएको क्रुरताको प्रतीक हुने तर्क गरे।

फोटो सौजन्य: शुद्धरत्न महर्जन

बाघ भैरव मन्दिर गुठी व्यवस्थापन समितिको पहलमा गँ स्थापना गर्ने कार्य भएको हो। कीर्तिपुरवासीकै आर्थिक सहयोगमा गँ स्थापना गर्ने योजना छ।

समितिका अध्यक्ष सुद्धरत्न महर्जन ८ सय ६५ किलोकै गँ राख्नुको कारण बारे भन्छन्, 'कीर्तिपुर विजयपछि पृथ्वीनारायण शाहले ८ सय ६५ जनाको नाक, कान र ओठ काटेका थिए। त्यसैले युद्धमा आत्मसमर्पण गरे पनि राज्य विस्तारको उन्मादमा शाहले बाँकी रहेका मानिसहरुमाथि अन्याय गरेका हुन्। त्यसैले वीरगति प्राप्त गरेकाहरुका ८ सय ६५ जनाकै सम्झनामा यहाँ गँ स्थापना गर्न लागिएको हो।'

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको तर जित्नेले पराजित हुनेलाई सम्मान गर्नुपर्नेमा शाहले उल्टै कीर्तिपुरलाई उजाड बनाएर वसन्तपुर दरबारमा आसिन भएको सुद्धरत्नको दाबी छ।

त्यही क्रूरताको प्रतीकका रुपमा कीर्तिपुरवासीले छ्याक: ल्वहं (छ्याके ढुंगा) मा थुक्ने गरेका छन्। नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै पृथ्वीनारायणलाई ठेस लागेर लडेको उक्त ल्वहंमा कीर्तिपुरवासीहरुले थुक्दै आएकाछन्।

छ्याक: ल्वहं रहेको स्थानबाट वसन्तपुर दरबार प्रस्ट देखिने हुँदा कीर्तिपुरवासीले आफ्नो काम सकाएर फर्किँदा उक्त ल्वहंमा इतिहासको क्रुरतालाई समझेर थुक्ने प्रचलन बसालेका हुन्। विगतमा स्वतन्त्र रुपमा थुक्दै आए पनि यसपटक पृथ्वीनारायण शाहको जन्म जयन्ती पुस २७ गते भने प्रहरीले छ्याक: ल्वहंलाई चारैतिरबाट घेरेर कसैलाई थुक्न दिएको थिएन।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन भन्छन्, 'साँस्कृतिक रुपमा मान्छेहरुले आफूलाई दिएको पीडा प्रस्तुत गर्दै आएका थिए। हामीले सो दुंगालाई नै संरक्षण गर्दै आइरहेका छौं। तर, सरकारले यसपटक ढुंगा नै घेर्नु आवश्यक थिएन। सरकारले झनै प्रचार गरिदियो। मानिसहरु केही नगरी थुक्दै गइरहेका थिए। तर, सरकारले आफै आएर नथुक भन्दा त्यसले माहौल झनै बिगारिदियो।'

सरकारले एउटा ढुंगालाई संरक्षण गर्न त प्रहरी खटाउँछ भने त्यस्तै प्रतीक स्वरुप यो गँ स्थापनामा कतै अवरोध त आउँदैन भनेर सोध्दा उनले भने, 'अहिले स्थापना हुन लागेको गँले अहिल्यै महत्व नपाएता पनि पछि यो सबैका लागि महत्वपूर्ण हुनेछ।'

पृथ्वीनारायण शाहले धेरै पटक कीर्तिपुरमाथि आक्रमण गरेका थिए। त्यसमध्ये उनले तीनपटक ठूलो आक्रमण गरेका थिए। पहिलो आक्रमणमा कालु पाँडे मारिएका थिए भने दोस्रो युद्धमा पृथ्वीनारायण शाहका भाइ सुरुप्रताप शाहको आँखा फुटाइएको स्थानीय बताउँछन्। दुवैपल्ट पृथ्वीनारायण शाह कीर्तिपुरबाट पराजित भएका थिए।

तेस्रो पटक आक्रमण गर्दा गोर्खाली सेनाले १८२२ साल ज्येष्ठ १ मा कीर्तिपुरको कोत लुटेको, चैत्र ३ मा मारेको र चैत्र २७ मा नाक काटेको शिलालेखहरुमा उल्लेख छ। विजयी भएपछि पृथ्वी नारायण शाहले कीर्तिपुरमा रहेका घर, बस्ती र राजदरबारहरु सबै नष्ट गरेको ऐतिहासिक प्रमाण रहेको स्थानीयको दाबी छ।

शाहले १८२२ साल चैत्र २६ गते भने कीर्तिपुरवासीले ६ महिनाको नाकाबन्दी र आफ्ना धेरै योद्धाहरुले वीरगति प्राप्त गरेपछि आत्मसमर्पण गरेका थिए।

कीर्तिपुरका घर, दरबार सबै नष्ट गरे पनि त्यसबेला मन्दिरहरुमा भने धेरै क्षति पुगेको थिएन। बाघ भैरब मन्दिरको माथि झुण्डयाइ राखिएका तरवारहरु युद्धका प्रतीक हुन्।

स्थानीयहरु पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि सजिलै विजय हासिल गर्न नसकेको र त्यसको झोंक बाँकी रहेका मानिसहरु माथि ज्यादति गरेर देखाएको दाबी गर्छन्।

स्थानीय विविशा शाक्य भन्छन्, 'कीर्तिपुरवासीले आत्मसमर्पण त गरे। तर, दुई - दुई पल्ट हारेको कुरा पृथ्वीनारायणको मनको बिझेको थियो। त्यसैले उनले युद्धमा पराजित हुँदाको वितृष्णा मेटाउन यहाँ बाँकी रहेका मानिसहरुको नाक, कान र ओठ काटेका थिए।'

आउँदो भाद्र १ सम्म गँ निर्माण कार्य सम्पन्न गर्ने समितिको योजना छ। उक्त गँ भाद्र १ गते १०८ पटक मात्र बजाइनेछ। भाद्र १ गते सिन्ह संक्रान्तिका दिन बाघ भैरव जात्राका दिन मानिसहरु १०८ पटक मन्दिर घुम्ने परम्परा रहेकोले १०८ पटक गँ बजाइने अध्यक्ष महर्जन बताउँछन्। अरुबेला गँमा ताल्चा लगाएर राखिनेछ।

गँको आवाजले मानिसहरुमा आध्यात्मिक चिन्तन उत्पन्न गर्ने र इतिहास जीवन्त हुने उनको दाबी छ।

उसो त काठमाडौं, भक्तपुर र ललितपुरमा ठूल्ठूला गँ रहेका छन्। तर, कीर्तिपुरमा भने त्यस्तो केही छैन। पहिला कीर्तिपुर छुट्टै राज्य भए पनि शाहले विजय हासिल गरेपछि यहाँका सबै इतिहास मेटाइएको स्थानीय विविशा शाक्य बताउँछन्।

'पहिलो र दोस्रो युद्धमा कीर्तिपुरलाई काठमाडौं, भक्तपुर र ललितपुरको साथ थियो। तर, तेस्रो युद्धसम्म आइपुग्दा पृथ्वीनारायण शाहले एकीकरणका नाममा राज्य विस्तार गर्न उपत्यकाका तीनै शहरमाथि कूटनीतिक कब्जा गरिसकेका थिए। अत: ६ महिना नाकाबन्दी गरेपछि कीर्तिपुरले आत्मसमर्पण गरेको थियो। शाहले त्यसपछि यहाँका सबै अवशेष नष्ट गरे। त्यसैले त्यो सम्झँदा भने कीर्तिपुरवासीहरुको रगत अहिले पनि उम्लिएर आउँछ।'

पत्रकार समेत रहेका शाक्य कीर्तिपुरवासीले आत्मसमर्पण गरेको भोलिपल्ट यहाँका मानिसहरुको नाक, कान र ओठ काटेको कथन विभिन्न शिलालेखहरु र यहाँका दरबार र घरहरु नष्ट गरेको प्रमाणहरु रहेको बताउँछन्।

हाल कीर्तिपुरको ल्याकुमा त्यसबेलाको दरबार रहेको उनी बताउँछन्। नेपाल भाषामा ल्याकुको अर्थ दरबार हो। जंगबहादुरको पालामा नेपाल आएका हेनरी फिल्डले बनाएको चित्रमा त्यसबेला दरबारको एक तल्ले भाग बाँकी रहेको र नाक, कान काटेको कुरा उल्लेख गरिएको उनले बताए। नाक काटेकाले कीर्तिपुरको नाम नसकटपुर समेत बनाइएको थियो।

समिति अध्यक्ष महर्जन राज्यले कीर्तिपुरवासीहरुको वीरताको कदर नगरेको र शाहले राज्य विस्तारको नाममा गरेको ज्यादतीलाई स्वीकार नगरेकाले गँ स्थापना गरेको बताउँछन्। कीर्तिपुरवासीले पराजित गरेका कालु पाँडेका शालिकको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँडेजस्ता वीरका कारण नेपाल एकीकरण भएको भन्दै प्रशंसा गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे।

पहिला शाही सरकार र त्यही शाहलाई हटाएर गणतन्त्र स्थापना पछि बनेको सरकारले समेत कीर्तिपुरवासीको त्याग र वीरताको कदर नगरेको भन्दै अब कीर्तिपुरको इतिहासका बारे सबैलाई जानकारी दिने अवस्था आएको बताए।

बाघ भैरव मन्दिर परिसरमा निर्माण भइरहेको गँ त्यही कीर्तिपुरको लुटिएको र नष्ट गरिएको इतिहास ब्युताउँने प्रयास हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell