कैलाली: कार्यकर्ता भेटघाट तथा सुदूरपश्चिम प्रदेश भ्रमणको सिलसिलामा धनगढी पुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डाक्टरहरूको आन्दोलन नभएर रडाको भएको बताएका छन्। उनले सरकारी डाक्टरहरूको माग संविधान र सङ्घीयता विरोधी भएको समेत बताएका छन्।
बुधबार नेकपाको प्रदेश पार्टी कार्यालय धनगढीमा उनले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कारबाही गर्नेसमेत बताएका छन्।
‘डाक्टर सरकारले खटाएको ठाउँमा जानुपर्ने छ। सबै सरकारी डाक्टरलाई सङ्घ रोजेर काठमाडौँमा घुम्न दिइने छैन। ‘प्रदेश र स्थानीय तहमा जान्न भन्न मिल्दैन’ मन्त्री पण्डितले भने ‘यदि कसैलाई समायोजनमा चित्त बुझेको छैन भने पनि उजुरी गर्न पाइने व्यवस्था छ।’
सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले भने सरकारसँग विभिन्न माग राख्दै आन्दोलन स्वरूप सेवा नै ठप्प पारेका छन्।