
युरोपियन च्याम्पियन लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोनाले म्यानचेष्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा आत्मघाती गोल उपहार पाउँदा बार्सिलोनाले साँघुरो जित हात पारेको हो। खेलको १२औँ मिनेटमा कप्तान लिओनेल मेसीले उपलब्ध गराएको पासमा लुइस सुअरेजको हेडर बल युनाइटेडका लुक शले आफ्नै पोष्टमा छिराए।
उता इटालियन क्लब युभेन्ट्सले अग्रता लिएर पनि नेदरल्याण्ड्सको अयाक्ससँग बराबरी खेलेको छ। अयाक्सको मैदानमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको हो।
जोहन क्रफ स्टेडियममा क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको अन्तिममा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको पहिलो मिनेटमै डेविड नेरेसले डच टोलीका लागि बराबरी गोल फर्काए। प्रिक्वाटरफाइनलमा रियल मड्रिडलाई पराजित गरेको योङ टिम अयाक्सले युभेन्ट्स विरुद्ध खेलको अन्त्यतिर दबाब बनाएपनि गोल गर्न सकेन।
अयाक्स विरुद्ध गोल गरेसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको गोलसंख्या १२५ पुगेको छ। उनले १६१ खेलमा यो उपलब्धी हासिल गरेका हुन्। रोनाल्डो पछि दोस्रो स्थानमा रहेका बार्सिलोनाका लिओनल मेसीले १०८ गोल गरेका छन्।