शिवदेव तृतीयाले करिब ९०० वर्षअघि गाउँ रहेको कीर्तिपुरलाई शहरका रूपमा विकास गरे। शहरलाई चाहिने सुविधा जस्तै पोखरी, ढुंगेधारा, खुला स्थान, सुरक्षित बस्ती निर्माण गरे। उनकै कीर्तिहरूको कारण कीर्तिपुर नाम रहन गएको स्थानीय बताउँछन्।
काठमाडौँ,भक्तपुर र ललितपुरका राजाहरू पारिवारिक रूपमा छुट्टिएर सांस्कृतिक युद्ध लड्दै थिए। तृतीयाले भने कीर्तिपुरलाई त्यही बेला नमुना राज्यको रूपमा विकास गरे।
तृतीयाले निर्माण गरेको कीर्तिपुरमाथि वि.सं. १८१४ मा पृथ्वीनारायण शाह नेतृत्वको गोर्खाली सैनिकले आक्रमण गर्यो। कीर्तिपुरबासीले गोर्खाली सैनिकलाई पराजित गरे। फेरि १८२१ मा शाहले कीर्तिपुरमाथि असफल आक्रमण गरे। सो क्रममा शाहका भाई शुरप्रतापको आँखा फुटाइएको थियो।
१८२२ मा भने पृथ्वीनारायणले काठमाडौँ, भक्तपुर र ललितपुरलाई कूटनीतिक रूपमा नियन्त्रण गरी कीर्तिपुरमाथि नाकाबन्दी लगाए। सयौँ कीर्तिपुरबासी योद्धाहरूले ज्यान जोगाए। युद्धका क्रममा कीर्तिपुरबाट लडिरहेका पुरुषहरूको मृत्यु भइसकेको थियो। १८२२ चैत्र २६ गते कीर्तिपुरले आत्मसमर्पण गर्यो।
तेस्रोपटक आक्रमण गर्दासम्म गोर्खाली फौजलाई अन्तिमसम्म रोक्ने योद्धा थिइन् कीर्तिलक्ष्मी।
महिला भए पनि उनी धेरै समय पुरुषको भेषमा देखिन्थिन्। उनको अनुहार कपडाले छोपिएको हुन्थ्यो। राजपरिवारसँग नजिक कीर्तिलक्ष्मीको युद्ध कौशलको गाथा ललितपुरमा रहेका शिलालेखहरूमा रहेको स्थानीय शुद्धरत्न महर्जनको दाबी छ। पृथ्वीनारायणले विजय हासिल गरेपछि चैत्र २७ गते ८६५ जनाको नाक, कान र ओठ काटेको र कीर्तिपुरका घर, दरबार नष्ट गरेका थिए। त्यही बेला कीर्तिपुरको इतिहास सबै ध्वस्त बनाएको महर्जन दाबी गर्छन्।
अहिले फेरि उनै कीर्तिलक्ष्मीको इतिहास र योगदानलाई सम्झाउने गरी कीर्तिपुरमा उनको ढुंगाको मूर्ति बन्दैछ।
नगरपालिकाले कीर्तिपुरलाई पर्यटकीय नगरीका रूपमा स्थापना गर्ने र खुल्ला छाडिएका सार्वजनिक स्थानको सदुपयोग गर्ने उदेश्यले नगरभित्र उद्यानहरु निर्माण गर्ने निर्णय गरे अनुरूप 'युद्ध स्मारक पार्क' निर्माण गर्दैछ।
कीर्तिपुरमा भएका युद्ध र अरू विभिन्न स्थानमा भएका युद्धहरूको सम्झनामा सो पार्कमा युद्धसम्बन्धी मूर्तिहरु राखिने छ। नेपालका विभिन्न जिल्लाबाट आएका २५ मूर्तिकारहरुले मूर्ति लगभग निर्माण गरिसकेका छन्।
कीर्तिलक्ष्मीको मूर्ति पनि त्यही पार्ककै लागि निर्माण भइरहेको हो।
इलामका ४८ वर्षीय राजु पिठाकोटीले कीर्तिलक्ष्मीको मूर्ति निर्माण गरेका हुन्। कीर्तिपुरमा आएपछि कीर्तिलक्ष्मीको वीरताबारे सुनेका उनले त्यो बेला पनि आफ्नो राज्यको सुरक्षाका लागि लडेको महिला योद्धाबाट ऊर्जा मिलेर कीर्तिलक्ष्मीको मूर्ति निर्माण गरेको बताउँछन्।
अहिले महिला अधिकारको धेरै कुरा भएको तर त्यही बेला पराजित भए पनि अन्तिम समयसम्म लड्ने कीर्तिलक्ष्मीबारे कतै प्रचार-प्रसार नभएकोमा मूर्तिले उनलाई चिनाउन सकिने पिठाकोटीको तर्क छ।
उनीसँगै कीर्तिपुर चिनाउने 'बाघ भैरव' को मूर्ति बनाउँदैछन् खोकनाका चन्द्रश्याम डंगोल।
नगरपालिकाले २५ मूर्तिकारहरुलाई गोलाप्रथा गरी ढुंगा वितरण गरेको थियो। त्यही क्रममा डंगोललाई परेको ढुंगा उनलाई चित्त बुझेन। मच्छेगाउँमा गएर आफैं ढुंगा छानेर ल्याए उनले र अहिले सेतो ढुंगालाई बाघ भैरवको आकृति दिइसकेका छन्।
नगरपालिकाले प्रदान गरेको ढुंगाहरुको गुणस्तर कम भएको मूर्तिकारहरुको गुनासो छ। त्यो स्वाभाविक पनि हो। नगरपालिकाले त्यो बेला कीर्तिपुरको गढ रहेको स्थानमै उपलब्ध ढुंगा प्रयोगमा ल्याएको थियो। युद्ध भएकै स्थानमा अहिले मूर्ति बन्दैछन्। तर खुल्ला स्थानमा त्यसै राखिएका कारण बाहिरबाट राम्रो देखिए पनि भित्रबाट भने फुस्रो र बिग्रेको ढुंगा निक्लेको स्वीकार गर्छन कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन।
ढुंगा नराम्रो भएपछि मच्छेगाउँ र मातातीर्थबाट ढुंगा खोजेर ल्याइएको महर्जन बताउँछन्।
वडा नम्बर १० को छ्याक: ल्वहदेखि वडा १ हुँदै वडा २ को देवढोकासम्म करिब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण हुँदैछ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा निर्माण भइरहेको यी मूर्तिहरु चैत २८ गते नगरपालिकालाई हस्तान्तरण गरिनेछ। त्यसपछि पार्कमा युद्धसम्बन्धी विभिन्न मूर्तिहरु राखिनेछ। हाल निर्माण गरिएका मूर्तिहरु कहाँ र कसरी राख्ने र तिनीहरूको संरक्षण कसरी गर्ने भन्नेबारे भने नगरपालिकाले योजना बनाइरहेको प्रमुख महर्जनले बताए।
कलाकारहरूलाई मूर्ति बनाउन स्वतन्त्र छाडेको भन्दै उनले युद्धका मात्रै नभई ऐतिहासिक र सांस्कृति महत्त्वका मूर्तिहरु समेत निर्माण भइरहेको बताए। महर्जन युद्ध स्मारक पार्क युद्धको सम्झना दिनेभन्दा युद्धमा भएको घटनाहरूलाई जीवन्त बनाउने माध्यम रहेको बताउँछन्।
भन्छन्,'यो पार्क न विजयको प्रतीक हो न पराजयको। इतिहासलाई जीवन्त बनाउने प्रयास हो।'
डेढ करोडको प्रारम्भिक बजेटमा निर्माण भइरहेको यो पार्कबाट कीर्तिपुरको उत्तरी क्षेत्रमा रहेको जंगली भागमा भएका सार्वजनिक जग्गाको सदुपयोग हुने र इतिहास अध्ययनको केन्द्र बन्ने उनको विश्वास छ।
उसो त युद्धका मूर्तिहरुबीच झापाका केडी याखाले अहिंसावादी सिपाहीको मूर्ति बनाएका छन्। पृथ्वीनारायण र कालु पाँडेसँगै उनले अहिले अहिंसाको वकालत गर्ने सिपाहीको मूर्ति बनाएका हुन्। शाह र पाँडेहरुले कीर्तिपुरमाथि आक्रमण गरेको सम्झना आफ्नो मूर्तिले दिने उनको विश्वास छ।
पृथ्वीनारायणको मूर्ति बनाउँदा केही व्यक्तिले आपत्ति नजनाएका पनि होइनन्। तर, उनले पृथ्वीनारायणले कीर्तिपुर आक्रमण गरेकाले यस मूर्तिबाट इतिहासमा भएको आक्रमण घटनालाई जीवन्त बनाउने भनेर बुझाउन सफल भएको बताउँछन्।
मूर्तिकारहरुले आफूले बनाएको मूर्तिहरुको संरक्षण र सुरक्षा राम्रो हुनेमा विश्वस्त छन्।
उसो त कीर्तिपुर र ढुंगाको सम्बन्ध पुरानै हो।
कीर्तिपुर एउटा विशाल ढुंगामा बनेको कथन छ। त्यसैले त्यहाँ भूकम्प गए पनि केही नहुने जनविश्वास छ। वि सं २०७२ सालमा गएको भूकम्पमा कीर्तिपुरका घरहरू भत्किएनन्। केही पुराना घरहरू भने चर्किए। यसबाट पनि कथनहरु सत्य रहेको स्थानीय विश्वास छ।
यस्तै कीर्तिपुरलाई चिनाउने अर्को ढुङ्गा हो कीर्तिपुरको 'छ्याक: ल्वहं' (छ्याके ढुंगा)। एकीकरण गर्दा कीर्तिपुरमा सयौँको कान र नाक काटेको भन्दै पृथ्वीनारायणलाई ठेस लागेर लडेको भनिएको उक्त ल्वहंमा कीर्तिपुरबासीहरुले थुक्दै आएका छन्।
निर्माणको संघारका रहेका ढुंगाका मूर्तिहरु कीर्तिपुरको अर्को चिनारी पक्कै बन्नेछ। यसप्रकारका पार्कहरु निर्माण गरी इतिहास ब्यूताउँने कीर्तिपुरको कदम स्वागतयोग्य छ। तिनको संरक्षण र सुरक्षामा भने नगरपालिकामात्र नभई स्थानीयहरु नै सक्रिय हुनुपर्छ।