
काठमाडौँः प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको मेडिकल कलेजहरूको शुल्क विवाद सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले मेडिकल कलेजका शुल्क तथा काम कारबाहीबारे गुनासो भए उपलब्ध गराउन अपिल गरेको छ। उपसमितिले सार्वजनिक सूचना जारी गर्दै मेडिकल कलेजका सम्बन्धमा भएका गुनासा १५ दिनभित्र उपलब्ध गराउन विद्यार्थी, सर्वसाधारण र सरोकारवालासँग अपिल गरेको हो।
उपसमितिले समितिको सचिवालयमा त्यस्ता गुनासा तथा उजुरी उपलब्ध गराउन आग्रह गरेको छ। इमेलमार्फत पनि उजुरी गर्न सक्ने व्यवस्था गरेको छ।
सांसद सुरेशकुमार राईको संयोजकत्वमा समितिले चैत १० गते उपसमिति गठन गरेको थियो। उपसमितिमा खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, जीवनराम श्रेष्ठ, सन्तकुमार थारु लगायत सदस्य छन्।
सरकारले तोके अनुसारको शुल्क कार्यान्वयन गरे वा नगरेको विषयमा पनि अध्ययन गरी सुझाव प्रतिवेदन दिनेछ। यस्तै, मेडिकल शिक्षा सुधारका लागि सरोकारवालासँग परामर्श समेत गरी प्रतिवेदन दिनेछ।
उपसमितिले विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरुको अध्ययन गरी प्रतिवेदन दिनेछ।