PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आठौँ पटक यू १९ वर्ल्डकप खेल्ने लक्ष्यमा नेपाल



पहिलोपोस्ट

आठौँ पटक यू १९ वर्ल्डकप खेल्ने लक्ष्यमा नेपाल

काठमाडौँ : अर्को वर्ष दक्षिण अफ्रिकामा आइसीसी यू-१९ वर्ल्डकप क्रिकेट आयोजना हुँदैछ। त्यसैका लागि छनोट हुने अभियानमा रहेका एसियाका ६ राष्ट्र भोलीबाट मलेसियामा सुरु हुने एसियन रिजनल क्वालिफायर खेल्दैछन्।

जसमा नेपालसहित टेष्ट नखेल्ने एसियाका ६ राष्ट्रले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् र अंक तालिकामा शीर्ष स्थानमा रहने एक टोली २०१९ जनवरीमा हुने यू-१९ वर्ल्डकपमा छनोट हुनेछ।

अहिलेसम्म १२ टोलीले दक्षिण अफ्रिकाको टिकट पक्का गरिसकेका छन् र एसियाबाट छनोट हुने टिम १३औँ हुनेछ।

त्यसका लागि नेपाल, मलेसिया, युएई, सिंगापुर, कुवेत र ओमान भिड्दैछन्। नेपाले पहिलो खेलमा भोली सिंगापुरसँग खेल्नेछ।

नेपालले यस क्वालिफायरको लागि भारतका दुई साताको क्याम्प राखेको थियो। जहाँ नेपालले आन्द्रा स्टेट यू-१९ क्रिकेट टिमसँग ६ खेल खेलेको थियो। त्यहाँ नेपालले ४ खेल जित्दा २ खेलमा भने हार बेहोरेको थियो।

भारत भ्रमणमा गएको १८ खेलाडीमध्येबाटै १४ जनाको अन्तिम टोली तयार पार्दै नेपाल मलेसिया पुगेको छ।

यस पटक नेपालको कप्तानमा समेत परिवर्तन भएको छ। राष्ट्रिय टिमका नियमित सदस्य तथा वर्ल्ड रेकर्ड होल्डर रोहित कुमार पौडेलले नेपालको नेतृत्व गर्नेछन्। राष्ट्रिय टिमबाट खेलिसकेकका पवन सर्राफ अर्का वर्ल्ड रेकर्ड होल्ड सन्दिप जोरा अनी राष्ट्रिय टिममा परिसकेका तर खेल्न बाँकी भिम शार्की जस्ता खेलाडी नेपाली युवा टोलीमा समावेश छन्।

यस्तै चार नयाँ खेलाडीले पनि यस पटक टोलीमा स्थान बनाएका छन्। घरेलु प्रतियोगितामा राम्रो गरिरहेका कुशल मल्ल र हरिबहादुर चौहान अनी प्रतिश जिसी र अभिषेक बस्नेतले पहिलो पटक यू-१९ टिममा स्थान बनाएका हुन्।

यसैगरी नेपालको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास छन्। झण्डै तीन वर्षदेखि विनोदले यूवा टिम हेर्दै आएका छन्। एज ग्रुप टिमका लागि नयाँ खेलाडी छान्ने र उनीहरुको प्रतिभा निखार्ने काम समेत गरेका विनोद दासले नेपालको महिला राष्ट्रिय टोलीको प्रशिक्षण समेत सम्हालिसकेका छन्।

यस पटक नेपाली टोलीमा सबै पक्ष सन्तुलन देखिएको छ। प्रशिक्षक दासले भारतमा क्याम्पका लागि जानुअघि खेलिरहेको र बलियो टिम भन्दा पनि अननोन टिम विरुद्ध खेल्दा केही डर लाग्ने बताएका थिए।

यस पटक नेपालसँग खेल्ने अन्य पाँचमध्ये दुई टिम ओमान र कुवेत एसियाको डिभिजन टू खेलेर बटुवा भएका हुन्।

बाँकी तीन टिमसँग नेपालले नियमित खेल्दै आएको छ। यस्तै युएईसँग नेपालको खेल प्रतिस्पर्धात्मक हुँदै आएको छ।

बंगलादेशमा गत सेप्टेम्वर-अक्टोबरमा भएको एसीसी यू-१९ एसिया कपमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको थियो। उक्त खेलमा नेपालले २६९ रन चेस गर्ने क्रममा रोहितले ९१ र सन्दिप जोराले ६७ रन बनाएका थिए।

पछिल्लो पटक नेपालले सन् २०१६ मा यू-१६ वर्ल्ड कप खेलेको थियो। सन्दीप लामिछाने, दिपेन्द्र सिंह भरी जस्ता खेलाडी रहेको त्यो टिमले समूह चरण पार गरेको थियो। २०१८ मा न्यूजिल्याण्डमा भएको वर्ल्डकपमा भने नेपाल छनोट हुन सकेन। छनोटमा नेपाल अफगानिस्तानसँग पराजित भएपछि वर्ल्डकप खेल्नबाट बन्चित भएको थियो। यस पटक अफगानिस्तान आइसीसीको फुल मेम्बर बनेर सिधै वर्ल्डकपमा छनोट भइसकेकोले पनि नेपाललाई केही सहज देखिन्छ।

पहिलो पटक नेपालको कप्तानी गर्न लागेका रोहितले नेपाललाई वर्ल्डकपमा छनोट गराउन सके त्यो क्षण आफ्नो लागि उत्कृष्ट हुने बताइसकेका छन्।

सन् १९९८ बाट सुरु भएको यू-१९ वर्ल्डकपमा नेपालले २००० मा पहिलो पटक खेलेको थियो। २००० देखि २००८ सम्म लगातार पाँच पटक वर्ल्डकप खेलेको नेपालले २०१४ र २०१६ मा पनि प्रतिस्पर्धा गरेको थियो। २०१०, २०१२ र २०१८ मा भने नेपाल छनोट हुन सकेन।

 

नेपाली टोली:

रोहित कुमार पौडेल (कप्तान), मोहम्मद आसिफ शेख, पवन सर्राफ, सन्दिप जोरा, भीम शार्की, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ

 

खेलतालिका:

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell