
काठमाडौँ : आठौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै नेपाल बास्केटबल लिग एनबीएलको मिति एक हप्ता पछाडि पारिएको छ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गर्न लागेको एनबीएल यसअघि वैशाख ७ गतेबाट सुरु गर्ने तय भएको थियो। तर आठौँ खेलकुद र व्यस्त तालिकाका कारण लिगको मिति एक हप्ता पछि धकेलिएको हो।
नेपाली बास्केटबलकै सबैभन्दा लामो र ठूलो बास्केटबल प्रतियोगिता अब आठौँ राष्ट्रिय खेलकुद सकिएपछि सुरु हुनेछ।
लिगअघि सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदका कारण थकान हुने भएकाले खेलाडी, अफिसियल र रेफ्रीहरुले प्रतियोगिता सार्न आग्रह गरेको आयोजकले जनाएको छ।
राष्ट्रिय खेलकुदअन्तर्गत दाङको घोराहीमा हुने महिला र पुरुष बास्केटबल वैशाख ४ गते नै सकिनेछन्। “राष्ट्रिय खेलकुद अन्तर्गतको बास्केटबल खेलहरु एनबिएल भन्दा तीन दिनै अगावै सकिने भएपनि सम्पूर्ण खेलाडी, अफिसियल र रेफ्रिहरुलाई थकान हुने भएकाले हामीले एनबिएल सार्ने निर्णय लिएका हौं,” आयोजक पिडिसिएनका अध्यक्ष अरुण कार्कीले भने।
एनबिएल अन्तर्गत पुरुष बास्केटबल लिग अब वैशाख १४ गते हुने भएको छ। महिलो बास्केटबल लिगको मिति भने तय भैसकेको छैन। “एनबिएल ५५ दिनको लिग हो र लामो समयसम्म चल्ने प्रतियोगिताको लागि यसम संलग्न सबैलाई आरामको आवश्यक हुन्छ। हामीले दिएको बिश्रामको समयले खेलाडीहरुलाई पनि उत्कृष्ट प्रदर्शन गर्न पनि मद्दत मिल्ने आशा राखेको छौ, कार्कीले भने।
एनबिएलको पुरुष लिगमा कुल ६८ खेल हुनेछन्। दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्ले अफका लागि छानिनेछन्। प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ।
तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् र विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसंग फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायर खेल्नेछ। दोश्रो क्वालिफायर पनि बेस्ट अफ थ्रि कै आधारमा खेलाइनेछ। फाइनलमा एक खेल मात्र हुनेछ।
प्ले अफ र फाइनलका सबै खेलहरु राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलाइनेछ। प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन गोल्डेन गेट इन्टरनेशनल कलेज रहेको छ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने टोलीले क्रमश रु दुई लाख र एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका साझेदारका रुपमा सानिमा जनरल इन्स्योरेन्स, कंगारु ऐजुकेशन फाउण्डेशन र केटिएम सिटी रहेका छन् । सानिमा जनरल इन्स्योरेन्सले प्रतियोगिताका सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्रि र स्वयं सेवक गरि कुल १ सय ६८ जनाको प्रतिब्यक्ति ५ लाख गरि १० करोड रुपैयाको बिमा गराएको, पिडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिएका छन्।
शैक्षिक साझेदार रहेको कंगारुले प्रथम पुरस्कारको प्रायोजन गर्नुका साथै खेलहरु तथ्यांक राख्ने कार्यमा आयोजकलाई सघाउनेछ। यस्तै क्लोदिङ्ग पार्टनर केटिएम सिटीले प्रतियोगिता भरिकै ६८ म्यान अफ द म्याचलाई रु ३ हजार बराबरको गिफ्ट भाउचर प्रदान गर्नेछ। प्रतियागिताको लागि नेपाल बास्केटबल संघले प्राविधिक सहयोग प्रदान गरेको छ।
सहभागि टोलीहरु
गोल्डेन गेट इन्टरनेशनल क्लब
त्रिभुवन आर्मी क्लब
नेपाल पुलिस क्लब
बुढानीलकण्ठ म्युनिसिप्यालिटी बास्केटबल क्लब
रोयल बास्केटबल क्लब
किर्तिपुर बास्केटबल क्लब
टाइम्स इन्टरनेशनल क्लब
साउथ साइडर्स बास्केटबल क्लब