
काठमाडौं : प्रदेश ५ मा भइरहेको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दोस्रो दिन विभागीय टोलीको प्रदर्शन उत्कृष्ट रहँदा १४ स्वर्णको छिनोफानो भएको छ। औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते हुने तय भएपनि केही खेलहरुको प्रतिस्पर्धा चैत २७ गते बुधवारबाटै सुरु भइसकेको छ।
बिहीवार स्वर्ण जित्नेमा विभागीय टोलिहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस अघि रहे। यस्तै प्रदेश ७ ले पनि दोस्रो दिनै स्वर्णको खाता खोलेको छ।
आठौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण भने नेपाल पुलिसले जित्यो। टेबलटेनिसको महिला स्पर्धामा पुलिसले एपीएफलाई पराजित गर्दै स्वर्ण जितेको हो।
टेबलटेनिसबाहेक बिहीवार कुस्ती, लनटेनिस र फेन्सिङको पनि केही स्पर्धाका खेलहरु सकिएका छन्। जसमा आर्मीको दबदबा रह्यो। आर्मीले फेन्सिङमा तीन, कुस्तीमा दुई र लनटेनिसमा एक स्वर्ण जितेको हो।
टेबलटेनिस : प्रहरीलाई तीन स्वर्ण
दाङको घोराही कभर्डहलमा भइरहेको ४०औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन प्रहरीले तीन स्वर्ण जितेको छ। प्रहरीले महिला टिम इभेन्ट र डबल्स तथा पुरुष टिम इभेन्टमा स्वर्ण हात पार्यो। एपीएफले १ स्वर्ण जित्यो।
टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्यो। प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन्। दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन्। एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन्। आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेश्रो भए।
महिला डबल्सको फाइनलमा प्रहरीका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा हराए। प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेश्रो बने।
पुरुष डबल्स फाइनलमा प्रहरीका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र विनेश खनियाँको जोडीले एफीएफका मणिकुमार लामा र विलोश श्रेष्ठको जोडीलाई १०–१२, ११–५, ११–४ र ११–६ सेटमा हराए। प्रदेश ३ का संयोग कपाली र एलेक्स महर्जन तथा एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे तेश्रो भए।
पुरुष टिम इभेन्टमा एपीएफले स्वर्ण जित्यो। फाइनलमा एपीएफले आर्मीको चुनौती ३–० ले समाप्त पार्यो। शिवसुन्दर गोथेले बोधित डिसीलाई ३–०, पुरुषोत्तम वज्राचार्यले कृष्ण थापा मगरलाई ३–२ र मणिकुमार लामाले प्रज्ज्वल श्रेष्ठलाई ३–१ ले पाखा लगाए। प्रहरी र प्रदेश ३ तेश्रो बने। शुक्रबारदेखि पुरुष-महिला सिंगल्स स्पर्धा हुनेछ।
लनटेनिस : आर्मी र एपीएफलाई स्वर्ण
आठौ राष्ट्रिय प्रतियोगिता २०७५ अन्तर्गत बुटवलमा जारी लनटेनिस खेलमा शुक्रबार दुई स्वर्णको टुङ्गो लागेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा नेपाली सेना र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ स्वर्ण हात पारेका छन्।
टिम ईभेन्टतर्फको महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन।
पुरुष टिम ईभेन्टमा शसस्त्र प्रहरी एपीएफले नेपाली सेनलाई ३–० ले सेटमा पराजित गर्दै स्वर्ण जितेको छन्। नेपाली सेना दोस्रो हुदै रजत पदकमा चित्त बुझाएको छ भने प्रदेश नं.४ र एनआरएनको टिम तृतिय हुदै कास्य पदक पाएको छ।
यसैगरि महिला टिम ईभेन्टतर्फ नेपाली सेनाले शसस्त्र प्रहरी बलको एपीएफलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो। एपीएफ क्लब रजत पदकमा चित्त बुझाएको छ। प्रतियोगितामा प्रदेश नं. ३ र प्रदेश न ४ तृतिय हुदै कास्य पदकमा चित्त बुझाएको छ।
यसैगरि विहिबार खुल्ला इभेन्टतर्फ खेलहरु सम्पन्न भएका छन्। खुल्लाको मेन्स सिगलमा भिष्म काउचाले सन्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेको छ। यसैगरि संरक्षकभुषण बज्राचार्यले दावा सोनाम शेर्पालाई ६–३, ६–१ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्। यसैगरि नबिन मगरले ईवेक जोशीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्। अर्को खेलमा संम्यक भुषण बज्राचार्यले निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
विहिबार नै भएको महिला सिगलमा प्रेरणा कोइरालाले एनी माथेमालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन्। यसैगरि रायना शाहले श्रीया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन्।
यसैगरि विहिबार नै भएको मेन्स डबल्सतर्फको खेलमा राम बहादुर बिक र शेषमणी चौधरीको जोडीले निशान्त श्रेष्ठ र कुमार जिसीको जोडीलाई ७–५, ६–३, १०–६ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका छन्। यसैगरि चन्द्र थापा र विकास खड्काको जोडीले कृष्ण गोबिन्द र शिवराम मगरको जोडीलाई ६–१, ६–१ ले सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्। यसैगरि संरक्षक भुषण बज्राचार्य र अमृत पौडेलको जोडीले भिष्म काउचा र संजय श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
यसैगरि मिक्स डबल्सतर्फको खेलमा अनिल शाही र गंगा शर्माको जोडीले आत्माराम कार्की र ईन्द्रकला श्रेष्ठको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरका छन्। प्रणव खनाल र अभिलाष विष्टको जोडीले गोबिन्द नेपाली र विमला बस्यालको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्। यसैगरि आईभन लिसानोभिच र अस्लेशा लिसानोबिचको जोडीले निशान्त श्रेष्ठ र अल्सा रेग्मी ६–३, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका छन्।
राष्ट्रिय प्रतियोगिता अन्तर्गत रुपन्देहीमा पुरुष र महिला गरि मेन्स सिगल, मेन्स डबल्स, वुमन सिगल, वुमन डबल्स, मिक्स डबल्स, टिम ईभेन्ट गरि सात वटा स्वर्ण पदकका लागि प्रतिस्प्रर्धा भैरहेको छ। प्रतियोगितामा प्रदेश ३, ४, ५, नेपाली सेना, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र एनआरएनका २८ पुरुष र १५ महिला खेलाडीहरु सहभागि रहेका छन्। प्रतियोगिता बैशाख २ गतेसम्म चल्ने छ।
कुस्ती : प्रदेश ७ लाई तीन स्वर्ण
प्रदेश नं. ७ ले आठौ राष्ट्रिय खेलकुद अन्तर्गत कुस्तीमा तीन स्वर्ण हात पार्न सफल भएको छ। प्रदेश ७ का मनिषा सिहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन्। यस समूहमा सेनाकी लक्ष्मी तामाङले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन्। यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए। ५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाईन्।
यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पार्यो। ५७ केजीमा सेनाकी कल्पना बि.क.ले स्वर्ण हात पारिन्। दोश्रो स्थानमा ७ नं प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन्। यसैगरि ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा प्रदेश ७ की कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन्।
फेन्सिङ : आर्मीलाई ३ स्वर्ण
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बुधबार आर्मीले ३ स्वर्ण जितेको छ।
नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन्। फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन्। एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए।
महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउदै शीर्ष स्थान कब्जा गरिन्। प्रदेश ३ की शिक्षा नापित र आर्मीकी रविना थापा तेश्रो भए।
पुरुष व्यक्तिगत फोइल स्पर्धामा आर्मीका जलिन्द्रबहादुर शाही विजेता बने। उनले फाइनलमा आर्मीकै राजनराज खड्को चुनौती १५–११ ले पन्छाए। एपीएफका ज्ञानेन्द्र तिम्सिना र शेरबहादुर ऐरी तेश्रो स्थानमा रहे।
प्रतियोगिताको संघीय सांसद नन्दलाल रोकायाले एक कार्यक्रमबीच शुभारम्भ गरे। प्रतियोगितामा पुरुष-महिलातर्फ व्यक्तिगत र टिममा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। प्रदेश १, ३, ४ र ७ तथा आर्मी, प्रहरी र एपीएफका जम्मा १ सय २९ खेलाडी सहभागी छन्।
रोमनको पाँच गोल
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ। पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित गर्यो। पाँचै गोल रोमन राणाको नाममा रह्यो। रोमन प्रहरीमा आबद्ध हुनुअघि गण्डकीबाटै खेल्थे। गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीमा नेपाल आर्मीलाई हराउदै उपाधि जित्दा रोमन गण्डकी टिमका मुख्य सदस्य थिए।
अन्य खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी र प्रदेश ७ ले सफलता पाए। आर्मीले प्रदेश २ लाई १–० गोलले हराउँदै लगातार दोश्रो जित हात पार्यो। राम शाहले निर्णायक गोल गरे। प्रदेश ७ ले कर्णाली प्रदेशलाई ३–० गोलले निराश पार्यो। जितमा राम परियार, भीमदत्त भट्ट र कान्तुराम पनेरुले १–१ गोल योगदान गरे।
स्क्वास : भावना र कृष्णाको दोहोरो जित
आठौंअन्तर्गत ११औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश ३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन्।
भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन्। कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की मन्जिला मगरलाई ११–३, ११–२ र ११–३ को सीधा सेटमा हराइन्। प्रदेश ३ की विपना ब्लोनले आफ्नै प्रदेशकी मन्जिलालाई ११–१, ११–४ र ११–४ को सोझो सेटमा हराइन्।
पुरुष सिंगल्समा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा प्रदेश ३ का राजेन्द्र शाक्यले त्यसै प्रदेशका प्रवीणवीर सिंह कंशाकार तथा प्रदेश २ का दीपक थापाले गण्डकीका अमृत थापा मगर विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।
क्वाटरफाइनलमा राजेन्द्रले प्रदेश ३ का अमिर ब्लोनलाई ३–११, ११–२, ११–३ र ११–६, दीपकले प्रदेश १ का निशान्त अग्रवाललाई ११–६, ११–५, ५–११ र ११–६, अमृतले एपीएफका उमिद शाक्यलाई ११–५, ११–२ र ११–८ तथा प्रवीणले एपीएफका विक्रम मगरलाई ११–९, ११–२ र ११–२ को सेटमा हराए।
बास्केटबल : विभागीय टिमको जित
आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन्।
प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे। घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूर प्रदेशले प्रदेश २ लाई ६५–२१ ले हरायो।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले एक कार्यक्रमबीच उद्घाटन गरे। सचिव देवकोटाले खेल क्षेत्रको विकासले युवाहरुलाई हौसला सँगै देशको पहिचान बढाउने काम गरेको बताए। देशको गौरवका रुपमा रहेको खेल क्षेत्रको विकासका लागि राज्यले खेल क्षेत्रमा लगानी बढाउदै गएको बताए। खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण बढेपनि पर्याप्त पूर्वाधार नहुदाँ खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्ने अवस्था रहेको भन्दै खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताए। उनले आठौँ राष्ट्रिय बास्केटबललाई देशको गौरवका रुपमा लिदै खेलाडीहरुलाई अनुशासित रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे।
पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। १५औं महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि मात्र सुरु हुनेछ। महिलामा ८ टिम सहभागी छन्।
प्रतियोगिताअन्तर्गत शुक्रबार बक्सिङ नेपालगन्जस्थित ज्ञानोदय मावि र बुद्धिचाल बर्दियाको ठाकुरद्वारामा सुरु हुँदैछ।