PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आइपीएल : सान्टनरले अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाईलाई जिताए, धोनीलाई जरिवाना



पहिलोपोस्ट

आइपीएल : सान्टनरले अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाईलाई जिताए, धोनीलाई जरिवाना

मिचेल सान्टनरले अन्तिम बलमा छक्का प्रहार गरेपछि चेन्नाई सुपर किंग्सले आइपीएल २०१९ मा बिहीवार राजस्थान रोएल्सलाई ३ विकेटले पराजित गरेको छ।

यस सिजन छैटौँ जित हात पारेको चेन्नाईले ७ खेलबाट १२ अंकसहित ४ अंकको अग्रता बनाएको छ। रास्थानले दिएको १५२ रनको लक्ष्य चेन्नाईले अन्तिम बलमा पूरा गरेको हो।

सान्टनरले छक्का प्रहार गर्नुअघि कप्तान महेन्द्र सिंह धोनी र अम्बाटि राएडुले अर्धशतक प्रहार गर्दै चेन्नाईको जितको आधार तय गरेका थिए।

२४-४ को स्थितीमा रहेको चेन्नाईको स्कोर उकास्न पाँचौ विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए। धोनीले ५८ र राएडुले ५७ रन बनाए। ४३ बल खेलेका धोनीले २ चौका र ३ छक्का प्रहार गरे। राएडुले पनि ४७ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे।

चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा १८ रन चाहिएको थियो। राजस्थानका बेन स्टोकले बलिङ गरेको उक्त ओभरको पहिलो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरे। दोस्रो बल नो बल भएपछि स्ट्राइकमा धोनी पुगे। उनले दोस्रो बलमा २ रन जोडे। तेस्रो बलमा स्टोकले धोनीलाई बोल्ड गरे। त्यसपछि चेन्नाईलाई अन्तिम ३ बलमा ८ रन चाहिएको थियो। क्रिजमा नयाँ ब्याट्सम्यानको रुपमा मिचेल सान्टनर पुगे। चौथो बलमा पनि स्टोकले नो बल फाले। तर अम्पायरले अन्तिम निर्णयको रुपमा त्यसलाई नो बल दिएनन्। यस बारे विवाद भएपछि चेन्नाईका कप्तान धोनी अम्पायरसँग असन्तुष्टी जनाउँदै मैदान प्रवेश गरे। तर निर्णय परिवर्तन भएन। मैदान प्रवेश गरेर अम्पायरसँग विवाद गरेका कारण धोनीलाई ५० प्रतिशत जरिवाना लगाइएको छ।

त्यस बलमा सान्टनरले २ रन भने लिएका थिए। पाँचौ बलमा पनि सान्टनरले २ रन लिए। अन्तिम बलमा जितका लागि चेन्नाईलाई ४ रन चाहिएको थियो। तर स्टोकले वाइड बल फालेपछि चेन्नाईले अर्को मौका पायो र एक बलमा ३ रन प्रहार गर्नुपर्ने भयो। त्यसैमा सान्टनरले छक्का प्रहार गर्दै जित दिलाए।

राजस्थानका लागि २ विकेट लिएका स्टोकले ३ ओभरमा ३९ रन खर्चिए।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो। राजस्थानका लागि बेन स्टोकले २८ र जोस बटलरले २३ रन बनाए। यस्तै श्रेयास गोपालले ७ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा नटआउट १९ रन बनाए।

चेन्नाईका लागि दिपक चाहर, सार्दुल ठाकुर र रविन्द्र जडेजाले २-२ विकेट लिए। सान्टनरले १ विकेट लिए।

यस्तो थियो चेन्नाईको अन्तिम ओभर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell