PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'स्टारकिड' सुहानाको रजतपटमा इन्ट्रीः भन्छिन्, 'निरन्तरता दिने कि नदिने दर्शकको मूल्याङ्कनमा भरपर्छ'



रीना मोक्तान

'स्टारकिड' सुहानाको रजतपटमा इन्ट्रीः भन्छिन्, 'निरन्तरता दिने कि नदिने दर्शकको मूल्याङ्कनमा भरपर्छ'

सन् २०१६ मा साइकोलोजी अध्ययनका लागि अमेरिका पुगिन् सुहाना थापा। धेरै समयसम्म आमासँग फोनमा कुरा गरेरमात्र उनको दैनिकीको सुरुवात हुन्थ्यो।

एकदिन आफू ब्युँझनुअघि नै आमा झरनाले फोन गरिन्। र, सिधै आफ्नो कुरा राखिन्- 'ए मेरो हजुर ३'मा अनमोलसँग साइन गरेँ, तिमी पनि त्यसमा अभिनय गर्दैछौ।'

सुहानाले जवाफ फर्काउन नपाउँदै उताबाट फोन काटियो। उनी अन्योलबीच दंग परिन्।

अचम्म त तब भयो जब फेसबुक खोल्नसाथ समाचारका लिंकहरु देखिन 'सुहानाले फिल्म गर्दै' भन्ने। समाचारमा छाउनु उनको पहिलो अनुभव पनि थियो।

आमा झरना र बुबा (निर्माता) सुनिल कुमार थापाले इन्डस्ट्रीमा २२ वर्ष बिताइसकेका छन्। उनीहरूको सपना छोरीलाई इन्डस्ट्रीमा डेब्यू गराउने। त्यही सपनालाई आकार दिन नेपाल फर्केको बताउँछिन् सुहाना।

'अमेरिका जानुअघि पनि पढेर फर्कने र नेपालमै केही गर्ने सोच थियो। आमाबुबा पनि यही चाहनुहुन्थ्यो। यसरी फिल्म इन्डस्ट्रीसँग जोडिने भएँ। खुसी छु,' सुहानाले सुनाइन्।

'ए मेरो हजुर'को दोस्रो संस्करण हेरेपछि नै उनलाई फिल्मप्रति मोह बढेको थियो। आमा झरनाको नाम र पहिचानलाई अभिनयबाटै जोगाउने सोच उनमा त्यतिखेरै आइसकेको थियो।

आमाको कामप्रतिको लगावले पनि उनलाई अभिनयमा तानेको बताउँछिन्। फिल्ममा दर्शकले झरनाको झलक आफ्नो अभिनयमा दिनेमा सुहाना आशावादी छिन्।

'फिल्ममा ममको झलक पक्कै आउँछ। म उहाँको छोरी, त्यसमाथि फिल्मको निर्देशन उहाँले नै गर्नु भएको छ। आमाको गुण मेरो ब्लडमै देखिन्छ,' उनी निर्धक्क छिन्।

भेटेजतिले आफूलाई हुबहु आमाजस्तै भन्नुले पनि उनलाई यस्तो महसुस गराएको हुनुपर्छ।

इन्डस्ट्रीप्रति वितृष्णा

उनले अनमोल केसीको 'होस्टेल' हेरिन्। उक्त फिल्मको कथामा उनले आफूलाई पाएकी थिइन्। सानैदेखि 'होस्टेल' बसेकी उनलाई फिल्मले छुनु स्वाभाविक थियो। त्यही फिल्मपछि उनले नेपाली फिल्मको ट्रेन्ड परिवर्तन महसुस गरिन् र यो क्षेत्रलाई लिएर केही सकारात्मक भइन्। नत्र इन्डस्ट्रीप्रति वितृष्णाकै बोझ थियो।

सानै छँदा झरनाको फिल्मी व्यस्तताका कारण आमाको पर्याप्त समय पाइनन्। होस्टेलमा आमाको बाटो पर्खन्थिन् उनी। तर, बुबा सुनिलमात्र एक्लै आएको देख्दा उनी सन्तुष्ट हुँदैन थिइन्।

गर्मीको बिदा र दशैँमा घर त जान्थिन्। 'बिदामा घर आउँदा समेत आमाको समय नपाउनु त साँच्चै ठिक थिएन नि। सधैँ फिल्मको तयारी या त सुटिङ,' उनी सम्झन्छिन्, 'ड्याड पनि इन्डस्ट्रीमै त हो। जुन इन्डस्ट्रीका कारण म उहाँहरूबाट टाढिएँ। त्यसैले पनि फिल्म क्षेत्र मन पर्थेन।'

त्यसैले त एक्लै हुँदा रुन्थिन्, रिसाउँथिन् पनि। 'म त कहिले पनि फिल्म खेल्दिन,' झोकमा उनी आफैँसँग भन्थिन्।

रोचक त के भने उनले आफ्नै आमाका सबै फिल्म हेरेकी छैनन्। हेरेकामध्ये केहीको नाम सम्झन्छिन्- 'फेसबुक', 'म तिमी बिना मरिहाल्छु' र 'ए मेरो हजुर'।

बुबाले निर्माण गरेकोमध्ये 'गोर्खाली' उनलाई मन परेको फिल्म।

आमाबाट टाढा रहन परे पनि उनले दिने ज्ञानगुणका कुराले भने सुहानालाई सधैँ प्रभावित गर्‍यो। 'उहाँले सधैँ कर्मबारे सिकाउनु हुन्थ्यो। त्यसैले मैले आफ्नो कर्म र धर्ममा कहिल्यै हेलचक्रयाइ गरिनँ,' सुहानाले भनिन्।

२१ वर्षीया सुहाना अहिले भने बाल्यकालका ती अनुभूतिलाई सकारात्मक रूपमा लिन्छिन्। किनकी परिवारबाट टाढा हुँदा भागवत गीता पढिन्। त्यो समय उनी अध्यात्मतिर तानिइन्। अध्यात्मले उनलाई तटस्थ रहन सिकायो।

एसएलसीपछिको पढाई भारतको जीडि गोइंकाबाट सकिन्। त्यसपछि स्नातक गर्न अमेरिका पुगिन्। त्यहाँ रहँदा पनि परिवारबाट टाढा। अहिले नेपाल त आइन् तर फेरि सुटिङपछि डबिङ र त्यसपछि प्रचारमा जुट्नुछ। पहिले बाबुआमाको फिल्मका कारण टाढा रहिन् अहिले आफ्नै डेब्युका कारण। 

 

सेटमा सुहाना

सुटिङ सेटमा झरना र सुहानाको सम्बन्ध निर्देशक र अभिनेत्रीको भएको बताउँछिन् उनी। भन्छिन्, 'बरु अनमोलले साथी बनेर सहज महसुस गरायो तर मम सधैँ निर्देशकमात्र बन्नुभयो।'

एक रात पानी परेको दृश्यमा सुहानाको सट खिच्नु पर्ने थियो। छोरीको अवस्था देखेर निर्माता सुनिलले बीचैमा सुटिङ रोक्न खोज्थे, 'छोरीलाई चिसो भयो रोकौँ रोकौँ।'

तर, निर्देशक झरना सुनिललाई फर्काइदिन्थिन्। भन्थिन्, 'यो काम हो गर्नुपर्छ। हेर्न सक्दैनौ भने उता जाऊ।'

सुनिलसँग छोरीलाई पर बसेर हेर्नुको विकल्प थिएन।

कुनै दृश्यमा अभिनय गर्दा सुहाना झरनाको निर्देशन विपरीतमा अभिनय गर्थिन्। आमाले भएन भन्दा पनि जिद्दी गर्थिन्, 'यस्तै हुनुपर्छ भनेर।' धेरैपटक आमाछोरीको ठाकठुक नै पर्‍यो पनि।

प्राविधिक र अन्य कलाकारले सुहानालाई सम्झाउनु पर्नेसम्मको स्थिति पनि आयो। 'मममा प्रोफेस्नालिज्म धेरै छ। सेटमा छोरीलाई जसरी व्यवहार नगर्दा चित्त पनि दुख्थ्यो। कहिलेकाहीँ माया पनि देखाउनुहुन्थ्यो,' छेउमा रहेको चिसो पिउँदै आमाको तारिफ गर्न पनि भ्याइन् उनले।

उनले वर्कसपमा आशान्त शर्माबाट अभिनय सिकेकी हुन्।

फिल्मको ट्रेलरको प्रतिक्रिया पाएपछि उनी फिल्मबाट झनै आशावादी हुँदै गएकी छिन्। फिल्मको लागि गरेको मेहनतले खुसी दिएको सुनाउँछिन् उनी।

नेपाली फिल्म क्षेत्रलाई नजिकबाट हेरिरहेकी सुहाना फिल्मको व्यापारिक अवस्थादेखि खुसी भने छैनन्।

'फिल्म नचल्नुको कारण चाहिँ ठूलो ग्याप हो। राम्रा फिल्म आउन नै बन्द भए। हामी सबै जना आफ्नो फाइदाको लागि फिल्म बनाउँछौँ। कहिले काहीँ त एउटै मितिमा राम्रो फिल्महरू जुध्ने गर्छन्। यसले पनि घाटा गराएको छ नि,' उनले भनिन्।

ए मेरो हजुर ३  पनि 'यात्रा: अ म्युजिकल भ्लग'सँग भिँड्दै छ।

अहिलेको युवा मेकिङ र प्रिजेन्टसन हेरेर फिल्ममा आकर्षित हुन्छन् भन्ने लाग्छ उनलाई। फेमिली बिजनेस भन्छिन् 'ए मेरो हजुर ३'लाई। जसमा यी दुबै कुरा पाइने उनको दाबी छ।

'आमाबुबा छोरीले निर्देशक निर्माता र अभिनेत्री भएर काम गरेका छौँ। हेरौँ दर्शकलाई हाम्रो सहकार्य मन पर्नेछ,' उनले भनिन्।

फिल्मका कारण पढाइलाई निरन्तरता दिने कि नदिने भन्नेमा चाहिँ उनमा अन्योलता छ।

संघर्ष गरेर नातावादबिना फिल्म क्षेत्रमा आउनेहरू स्टारकिडलाई फिल्ममा आउन सजिलो छ भन्छन् नि? हाम्रो प्रश्नमा जवाफ दिइन्, 'बाबाआमाले २२ वर्ष हामीलाई नदिएर इन्डस्ट्रीलाई दिनु भएको छ। यत्ति त हामीले पाउनुपर्छ होइन र? निरन्तरता दिने कि नदिने भन्नेबारे चाहिँ दर्शकले गरेको मूल्याङ्कनमा भरपर्छ।'

कृष्णभक्त उनी एकादशीमा व्रत बस्छिन्। आजभोलि भगवानसँग गर्ने कामना पनि फिल्मको लागि हुनेगर्छ।

अन्य समयमा कुर्तामा सहज महसुस गर्ने उनले फिल्म गरेपछि भने ग्ल्यामरमा ध्यान दिन थालेकी छिन्।

उनी फिल्म क्षेत्रमा अभिनय पढेर भन्दा पनि बुझेर आउनुपर्ने बताउँछिन्। कलाकारले इन्डस्ट्रीको विकासमा सोच्नुपर्ने उनको बुझाइ छ। 'कलाकार भएर हेर्दा इन्डस्ट्रीको विकास धेरै नै जरुरी छ। प्रतिस्पर्धा होइन तर हामी एकअर्कासँग मिलेर जानुपर्छ,' उनी डेब्यू गर्लभन्दा केही अनुभवी सुनिइन्।

फिल्ममा लभर गर्लको भूमिकामा देखिएकी उनी रियल लाइफमा भने कोहीसँग सम्बन्धमा नभएको बताउँछिन्।

भन्छिन्, 'मनले चाहेको कोही पाएँ भने बाबुआमाको साथ पाइहाल्छु। त्यति भए पुगिहाल्यो नि।'

उनी अभिनीत फिल्म चैत २९ बाट देशभर प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell