PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

वुमन्स च्याम्पियन्स लिग टी-२० क्रिकेटको पाँच टिम र मार्की खेलाडी घोषणा



पहिलोपोस्ट

वुमन्स च्याम्पियन्स लिग टी-२० क्रिकेटको पाँच टिम र मार्की खेलाडी घोषणा

काठमाडौँ : क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजना हुने वुमन्स च्याम्पियन्स लिग टी २० क्रिकेटको पाँच टिम, टिम मालिक र मार्की प्लेअरको नाम सार्वजनिक भएको छ।

आयोजकले क्वीन्स इभेन्टले शुक्रवार काठमाडौँमा कार्यक्रम गर्दै टिम घोषणा गरेको हो।

लिगमा नेपालको पाँच शहरको नामबाट पाँच टिमको नाम राखिएको छ। जसमा क्यापिटल्स रोएल काठमाडौँ, पोखरा पल्टन, चितवन राइनोज, ललितपुर फाल्कोन्स र विराटनगर टाइटन्स छन्।

यसअघि क्वीन्स इभेन्ट्ले कात्तिकमा  पोखरा प्रिमियर लिग आयोजक गरेको थियो। क्वीन्सको यो दोस्रो प्रतियोगिता समेत हो।

यस्तै डब्लुसिएलको टिमको मार्की खेलाडी र टिम मालिकको नाम पनि सार्वजनिक भएको छ। जसअनुसार काठमाडौँको मार्की प्लेअरमा राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्री छिन्। यस टिमको स्वामित्व जेफोर स्पोर्ट्सको दिपा अग्रवालको नाममा रहेको छ।

यस्तै सीता राना मगर पोखराको, इन्दु बर्मा चितवनको, नेरी थापा ललितपुरको र सरिता मगर विराटनगरको मार्की खेलाडीमा छन्। पोखराको मालिकमा विनायक पोखरेल छन् भने चितवनको स्वामित्व मिङ्मा डोण्डु शेर्पाको नाममा छ। ललितपुरको स्वामित्व श्रीजना जोशी र विराटनगरको स्वामित्व पारस लुनियाको नाममा रहेको छ।

 

'दुई लिगको मिति जुध्दैन'

डब्लुसिएल टी २० लिग चैतको २१ देखि ३० गतेसम्म गर्ने भनिएको थियो। तर आयोजकले प्रतियोगिताको मिति सार्दै अब २०७६ साल जेठ ३ गतेबाट कीर्तिपुरस्थित टीयू मैदानमा गर्ने बिहीवार घोषणा गरेको थियो।

बिहीवारै एनसिएल स्पोर्ट्सले पनि वुमन्स टी २० लिग जेठ ७ गतेदेखी गर्ने घोषणा गर्‍यो। यसअघि विराटनगरमा गर्ने भनिएको उक्त लिग पनि टीयू मै गर्ने भनिएको छ।

एकै पटक दुई प्रतियोगिताको मिति जुधेको र एकै ठाउँमा गर्ने भनिएपछि यसबारे अन्योल सिर्जना भएको थियो। तर टीयू मैदानमा खेल्न अनुमती दिने काम गर्दै आएको राष्ट्रिय खेलकुद परिषद् राखेपले भने दुवै प्रतियोगितालाई मिलाएर बयोजना गर्ने र मिति नजुधाउने जनाएको छ।

एनसिएलले गर्ने लिगको चार टिमको घोषणा भइसकेको छ भने अक्सन समेत सम्पन्न भइसकेको छ।

राखेपका उपाध्यक्ष पिताम्वर तिमल्सिनाले डब्लुसिएलको टिम सार्वजनिक कार्यक्रममा दुवै लिग छुट्टा-छुट्टै समयमा आयोजना गर्ने र त्यसको व्यवस्थापनमा आफै लागेको बताए। 'मैले दुवै लिगको आयोजकसँग बसेर छलफल गरिसकेको छु। एउटाको मिति अघि र अर्कोको पछि सारेर प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेका छौँ।' तिमल्सिनाले भने।

यस्तै राखेपले नै गर्ने भनिएको पिएम कप क्रिकेट पनि पछाडि सर्ने उनले जानकारी दिए। 'हामी पिएम कपलाई अझै भव्य बनाउन चाहन्छौँ र स्पोनसरहरु पनि खोज्छौँ।'

 

 

खेलाडीहरु उत्साहित : भन्छन् मरिसकेको आशा पलायो

एकै पटक महिला क्रिकेटमा दुई लिग हुन लाग्दा महिला क्रिकेटरहरु उत्साहित छन्। यस्तै टिम मालिकहरु पनि महिला क्रिकेटको विकासमा सहकार्य गर्न पाउँदा खुलेर लागेका छन्।

राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा इन्भेष्ट भएको देखेर खुशी व्यक्त गरिन्। समाथै उनले डब्लुसिएलमा उत्कृष्ट प्रदर्शन गर्ने बताइन्।

यस्तै पोखराको मार्की प्लेअर रहेकी सीता राना मगरले महिला लिगको घोषणाले मरिसकेको आशा जगाएको बताइन्।

महिला क्रिकेटलाई यो एउटा प्लाटफर्मको रुपमा रहेको छ। 'हाम्रो मरिसकेको आशामा जीवनदान दिने काम गर्नुभएको छ। आशा छ हामी राम्रो गर्नेछौँ।' राष्ट्रिय टिमकी उपकप्तान समेत रहेकी सीताले भनिन्।

यसैगरी ललितपुरकी मार्की खेलाडी नेरी थापाले यस्तो किसिमको लिगले महिला क्रिकेटलाई अझै अगाडि लैजाने विश्वास व्यक्त गरिन्। हामीलाई अझ राम्रो गर्ने अवसर दिएको छ। पहिला एउटा खेलको लागि ६ महिना एक वर्ष कुर्नुपर्थ्यो। अहिले लगातार गेमहरु हुने अवस्थामा छ। नेरीले भनिन्। आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्छ।

यस्तै चितवनकी मार्की खेलाडी इन्दु बर्मा र विराटनगरकी मार्की खेलाडी सरिता मगरले पनि डब्लुसिएल लिगबाट उत्साहित भएको बताइन्। यी दुई खेलाडी पहिलो पटक मार्की खेलाडी बनेका हुन्। रुविना, सीता र नेरी एनसिएलले गर्ने भनेको वुमन्स टी २० लिगमा पनि मार्की खेलाडीको रुपमा रहेका छन्।

'हामी यो लिग खेल्न एकदमै धेरै उत्साहित छौँ।' इन्दुले भनिन्।

यसैगरी महिला क्रिकेटमा लगानी गर्न अगाडि बढेका टिम मालिकहरुले पनि महिला क्रिकेट लिग हुने खबरले उत्साहित  र खुशी भएको प्रतिक्रिया दिए। उनीहरुले पुरुष जस्तै महिला क्रिकेटमा पनि लगानी हुनपर्ने बताए।

'डब्लुसिएलले महिला क्रिकेटलाई अर्को लेभलमा पुर्‍याउनेछ।' विराटनगर टिमका प्रतिनिधि सुरज क्षेत्रीले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell