PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

स्क्वास : प्रवीण र अमृत फाइनलमा, महिलातर्फ भावनाको तेस्रो



पहिलोपोस्ट

स्क्वास : प्रवीण र अमृत फाइनलमा, महिलातर्फ भावनाको तेस्रो
भावना सुनुवार

काठमाडौँ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ललितपुरमा भइरहेको ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा प्रदेश ३ का प्रवीणवीर सिंह कंशाकार र गण्डकीका अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा प्रवीणले आफ्नै प्रदेशका राजेन्द्र शाक्यलाई ६–११, ११–४, ११–७, १३–१५ र ११–७ तथा अमृतले प्रदेश २ का अमृतले प्रदेश २ का दीपक थापालाई ११–६, ११–८ र ११–३ ले पराजित गरे।

महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन्। भावनाको तेश्रो जित हो। दोहोरो जित निकाल्ने क्रममा प्रदेश ३ की विपना ब्लोनले प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–६, ११–८, ८–११ र ११–६ तथा गण्डकीकी सालिनी घिमिरेलाई ११–३, ११–३ र ११–३ को सेटमा पाखा लगाइन्।

 

हक्कीमा प्रहरीको दोश्रो जित

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरीले शुक्रबार लगातार दोश्रो जित हात पारेको छ। नेपालगन्जस्थित मंगलप्रसाद माविमा प्रहरीले प्रदेश ३ लाई ३–० गोलले पराजित गर्‍यो। रोमन राणाले २ तथा राजेन्द्र कार्कीले १ गोल गरे।

यस्तै गण्डकी प्रदेश र प्रदेश २ ले १–१ गोलको बराबरी खेले। ३९ औं मिनेटमा गण्डकीका राजन नेपालीले १ गोल गरे। ५१ औं मिनेटमा प्रदेश २ का अर्जुन खड्काले बराबरी गोल फर्काए। प्रदेश ५ ले कर्णाली प्रदेशलाई ७–० गोलले हराउदै लगातार दोश्रो जित आत्मासात् गर्‍यो। मोहम्मद शेख र मनीष गुरुङले २–२ गोल गरे भने अमन कुमार, सोनु लामा र रविकान्त कुमारले १–१ गोल थपे।

 

बास्केटबल : प्रदेश ३ को जित

आठौंअन्तर्गत १६औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ। प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित गर्‍यो। प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे।

समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी विजयी भए। प्रदेश ४ ले प्रदेश १ लाई ७९–४९ ले हरायो। विजयी टिमका लागि जिमेन पुनले १५ अंक जोडे।

एपीएफले कर्णाली प्रदेशमाथि ९२–३२ को सहज जित दर्ता गर्‍यो। एपीएफका रुपेश नामीले १४ स्कोर गरे । प्रदेश २ विरुद्धको खेलमा आर्मी ८८–२३ ले विजयी भयो। आर्मीका अनिश बस्नेतले १९ अंक जोडे।

१५औं राष्ट्रिय महिला बास्केटबल शनिबारदेखि दाङको घोराहीमै सुरु हुँदैछ।

 

लनटेनिस : संरक्षक र प्रणव सेमिफाइनलमा

आठौंअन्तर्गत १५औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन्। उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे।

बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले प्रदेश ४ का नवीन मगरलाई ६–१, २–६ र ६–२ तथा सन्तोषले प्रदेश ५ का भीष्म काउछालाई ६–२ र ६–१ को सेटमा पराजित गरे।

महिला सिंगल्समा आर्मीकी आइरा रावतले प्रदेश ३ की प्रकृति श्रेष्ठलाई ६–१, ३–६ र ६–०, आर्मीकी अभिलाषा विष्टले गण्डकीकी गंगा शर्मालाई ७–६ र ६–२, एपीएफकी प्रेरणा कोइरालाले एपीएफकै एनी माथेमालाई ६–२ र ६–२ तथा प्रदेश ३ की रायना शाहले गण्डकी प्रदेशकी श्रीया भट्टराईलाई ६–१ र ६–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

महिला डबल्समा एपीएफका सलोनी तामाङ र अस्लेषा लिसानेविचको जोडीले प्रदेश ३ का रायना शाह र अल्सा रेग्मीको जोडीलाई ६–१ र ६–३ तथा एपीएफका प्रेरणा कोइराला र एनी माथेमाको जोडीले गण्डकी प्रदेशका श्रीया भट्टराई र रोमिका बुद्धचार्यको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे। सोही स्पर्धाको पुरुषमा एपीएफका छेवाङ लामा र सन्तोष खत्री, एपीएफका इभान हो लिसानेविच र जितेन्द्र परियार, प्रदेश ४ का प्रदीप खड्का र नवीन मगर तथा प्रदेश ४ कै धर्म लामिछाने र अनिल शाहीको जोडी सेमिफाइनलमा पुगे।

मिक्स डबल्समा आर्मीका प्रणव खनाल र अभिलाषा विष्टको जोडीले प्रदेश ४ का अनिल शाही र गंगा शर्माको जोडीलाई ६–४, ३–६, र १०–२ तथा एपीएफका इभान हो लिसानेविच र अस्लेशा लिसानेविचको जोडीले आर्मीका अभिनव आचार्य र आइरा रावतको जोडीलाई ६–२ र ६–१ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell