आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्याबर प्रतियोगितामा प्रदेश नं ले ३ दुई स्वर्ण जितेको छ। नेपालगन्ज रंगशालामा शुक्रवार भएको खेलमा नेपाल आर्मी र एपिएफले एक–एक स्वर्ण जिते।
पुरुष व्यक्तिगत स्याबरमा प्रदेश नं ३ का अमित भण्डारीले स्वर्ण जिते। उनले एपिएफका राजेन्द्र गजुरेललाई १५–९ ले पराजित गरे। प्रतियोगितामा एपिएफका गजुरेलले रजत जित्दा प्रदेश नं ३ का प्रयास योञ्जन र आर्मीका नुरबहादुर तामाङ कांस्य हात पारे।
महिला व्यक्तिगत फोइलमा एपिएफकी मन्दिरा थापाले प्रदेश नं ४ की अन्जु तामाङलाई १५–९ ले पराजित गरि स्वर्ण जितिन्। एपिएफकी अनिता अधिकारी र नेपाल आर्मीकी रमा सिंह तृतिय भए।
पुरुष व्यक्तिगत इपीमा प्रदेश नं ३ का ओमकार सिंहले स्वर्ण जिते। उनले नेपाल आर्मीका दिपेन्द्र विष्टलाई १५–१४ ले हराए। आर्मीका राम थापा र एपिएफका सागर थापा तृतिय भए।
स्यावर महिला टिम गेममा आर्मी विजयी भएको छ। आर्मीले एपीएफलाई ४५–१६ ले हरायो। आर्मीबाट कमला श्रेष्ठ, विना थापा, अस्मिता बस्नेत र जानुका थापाले खेलेका थिए। दोश्रो भएको एपिएफबाट मुना थापा, मिनादेवी पौडेल, सुकमाया घिसिङ र पार्वती दुलालले प्रतिष्पर्धा गरेका थिए।