.jpg)
आठौं राष्ट्रिय खेलकुदका लागि शुक्रबार विराटनगरबाट औपचारिक रुपमा ओलम्पिक टर्च र्याली सुरु भएको छ। आठौं राष्ट्रिय खेलकुदका विभिन्न खेल चैत २७ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन बैशाख ५ गते हुनेछ।
आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका दिन नेपालगन्ज रंगशाला र्याउने गरी पूर्व ओलम्यिन खेलाडीले ओलम्पिक टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन्।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको व्यवस्थापनमा भएको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए। उक्त ओलम्पिक टर्च विराटनगर बजार घुमाउँदै सबै प्रदेशमा लगिने छ।
उक्त ओलम्पिक टर्च पूर्व ओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले लिएर जाने छन्।
प्रदेश प्रमुख तुम्बाहाङ, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय खेलकुदको सफलताको शुभकामना दिँदै प्रदेशबाट सहभागी भएका खेलाडीलाई विजयी हुनका लागि शुभकामना दिएका थिए। त्यस अवसरमा प्रदेशसभा सदस्य जयराम यादव, विन्ध्या कार्की, सावित्रा रेग्मी र कुसुम श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायतको उपस्थिति रहेको थियो।