PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुहानाको सफल इन्ट्री, बलिउड प्रभावले ग्रसित: ए मेरो हजुर ३(समीक्षा)



रीना मोक्तान

सुहानाको सफल इन्ट्री, बलिउड प्रभावले ग्रसित: ए मेरो हजुर ३(समीक्षा)

'ए मेरो हजुर २'बाट निर्देशनमा डेब्यू गरेकी अभिनेत्री झरना थापाको दोस्रो फिल्म त्यसैको सिक्वेल 'ए मेरो हजुर ३' यतिखेर रिलिज भइसकेको छ।

निर्देशक शिव रेग्मी (स्वर्गीय)ले निर्देशन गरेको 'ए मेरो हजुर'मा आफै अभिनेत्री भएर काम गरेकी झरनाले फिल्मको तेस्रो संस्करण निर्देशन गरिसक्दा दुई नव कलाकारलाई रजतपटमा डेब्यू गराइसकिन्।

'ए मेरो हजुर २'बाट सलिनमान बनियाँलाई चलचित्र क्षेत्रमा प्रवेश गराएकी झरनाले तेस्रो संस्करणमा आफ्नै छोरी सुहाना थापालाई इन्ट्री गराइन्।

फिल्मलाई झरनाकै पति सुनिल कुमार थापाले निर्माण गरेका हुन्। पछिल्लो संस्करणमा झैं फिल्मलाई मूलधारे बनाउन झरनाले 'ए मेरो हजुर ३'मा कुनै ठाउँ छोडेकी छैनन्।

फिल्ममा मनोरञ्जन भ्यालू अनुरुप युवा दर्शकले रुचाएको युवा स्टार, कमेडी, नृत्य, गीत अनि फरक लोकेसन समावेश छन्।

फिल्ममा आर्या (सुहाना) र सुपरस्टार गायक प्रेम (अनमोल)बीचको प्रेम सम्बन्धलाई केन्द्रमा राखेर फिल्म बनेको छ। सुपरस्टारका डाइ हर्ट फ्यान हुन् आर्या।

सुपरस्टार प्रेम पनि फ्यान आर्यालाई मन पराउँछन्। तर, सुपरस्टारको ट्यागका कारण प्रेम प्रकट गर्न सक्दैनन्। फिल्म यिनै विषयवस्तु लिएर अगाडि बढेको छ।

एक फ्यान र सुपरस्टार गायकबीच कसरी प्रेम मौलाउँछ? उनीहरुको प्रेममा आउने आरोहअवरोह नै 'ए मेरो हजुर ३' हो।

फिल्मको कथामा नयाँ पन छैन। प्लटहरुमा बलिउड फिल्मका पर्याप्त गन्ध आउँछ। बलिउड पटकथालाई तोडमोड गरिएका कति दृश्य त दर्शकलाई पहिल्यै हेरिसकेको अनुभव हुनसक्छ।

आर्यालाई पाउन सुपरस्टार प्रेम भेष बद्लेर साधारण शैलीमा प्रस्तुत हुन्छन्। यतिखेर प्रेममा बलिउड फिल्म 'गजनी'मा आमिर सामान्य व्यक्ति भएर प्रस्तुत भएको झल्को आउँछ। यता आर्याले पनि समाजसेवाबाट नै प्रेमको मन जितिरहेकी हुन्छिन्, 'गजनी'मा कल्पनाले जसरी।

फिल्ममा एक फ्यानले सुपरस्टारसँग सजिलै भेटेको दृश्य खास लाग्दैन। प्रेमका विषयमा कसैले केही नराम्रो बताउँदासमेत रिसाएर झगडा गर्ने आर्याले फेसबुकमा म्यासेज गरेकै भरमा सुपरस्टारसँग भेट्छिन्। सुपरस्टार भेट्न आर्याको संघर्ष अपुग नै देखिन्छ।

भेष बदलेर घनश्याम महर्जन बनेको दृश्य फिल्म निर्देशकको लिबर्टी नै हो।

चटपटे व्यापारी रवीन्द्रलाई 'बिहारी' र 'मधिशे' सम्बोधन गरेपछिको दृश्य निकै न्यायसंगत ढंगले प्रस्तुत गरेको छ। उक्त दृश्यले तराईवासी तमामलाई हेर्ने दृष्टिकोणप्रति व्यङ्ग्य गर्छ। यद्यपि, फिल्ममा ती दृश्य अनावश्यक देखिन्छन्।

फिल्मको राम्रो पक्ष भनेकै पार्श्व संगीत नै हो। 'ए मेरो हजुर' शीर्षकलाई न्याय दिने संगीत छ फिल्ममा। 'ए मेरो हजुर' र 'सत्य भन्छु' बोलका गीतलाई दमदार बनाउने पार्श्व गायक प्रताप दास हुन्। संगीताकार प्रतीक पौडेल र कल्याण सिंहले संगीतमा गरको मेहनत पनि प्रष्ट देखिन्छ।

सुरुवातमा बज्ने गीतमा भने 'बाहुबली'को 'सोजा जरा'को फ्लेभर सुनिन्छ। गीतका खिचाइ पनि कति त उस्तै लाग्छन्।

पछिल्ला नेपाली फिल्महरुको समस्या दुईअर्थी शब्दको प्रयोग नै हो। २०७५ को अन्तिम यो फिल्ममा यसको ब्यापक प्रयोग नै छ। हँसाउनका लागि राखिएका कतिपय संवाद आपत्तिजनक नै छन्। निर्देशन झरनाले आगामी फिल्महरुमा यस विषयमा गम्भीर हुनुपर्ने देखिन्छ। उनी पटकथा चयनमा चुकेकी नै छिन्। निर्देशकीय यात्रालाई अगाडि बढाउन यसमा सुधार आवश्यक छ।

सेन्सर गरिएका कति दृश्यमा चलाखी पुगेको छैन। महिला निर्देशकले हँसाउनकै लागि अर्की महिलालाई पर्दामा दुइअर्थी संवादसहित कसरी प्रस्तुत गर्न सक्छिन्?

फिल्ममा रक्षा गौतमलाई लाउड प्रस्तुत गरिएको छ। यद्यपि, उनले आफ्नो भूमिकामा मेहनत गरेकी छिन्।

अभिनेत्री सुहानालले भने डेब्यू अभिनयबाट सम्भावना देखाएकी छिन्। उनको अभिनयले कताकता अनमोललाई नै छायाँमा पारेको देखिन्छ। झरनाका फ्यानलाई झरना सम्झाइदिने अभिनय गरेकी छिन् सुहानाले।

आठौं फिल्मसम्म आइपुग्दा अनमोलको अभिनयमा ग्रोथ कमै छ।

रवीन्द्रले आफ्नो अभिनयलाई न्याय दिएका छन्। सलोन आफ्नो भूमिकामा फिट लाग्छ। फिल्ममा सम्राट नरसिंह राणा(अर्पण थापा)लाई जसरी स्थापित गरेको छ पछि फितलो प्रस्तुत हुँदै गएको छ। उनको अभिनय तारिफ योग्य नै छ।

लभ स्टोरी जनरामा बनेको यस फिल्मको क्ल्याइमेक्स खास लाग्दैन। दर्शकले सजिलै अनुमान गर्न सकिने किसिमको क्ल्याइमेक्स दृश्य छ। फिल्मको सिनिमेटोग्राफीले आँखालाई शीतलता देला, फिल्ममा प्रस्तुत इमोसनलाई सुहानाको अभिनयले प्रभावकारी बनाउँछ।

लभ स्टोरीमा नयाँ कथा खोजेर जानेहरुलाई फिल्मले निराश पक्कै बनाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell