PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालुवाटारको जग्गा काण्ड : नेकपा महासचिवले किनेजस्तै जग्गा किन्नेलाई दुई वर्षे जेलको नजिर



सुदर्शन सापकोटा

बालुवाटारको जग्गा काण्ड : नेकपा महासचिवले किनेजस्तै जग्गा किन्नेलाई दुई वर्षे जेलको नजिर

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल यतिखेर राष्ट्रिय बहसको केन्द्रमा छन्। प्रधानमन्त्री निवाससँग जोडिएको बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा सार्दै महासचिव पौडेलका छोरा नविनको नाममा ८ आना जोडिएको खुलासा भएपछि उनी चर्चाको केन्द्रमा रहेका छन्। त्यसमाथि उनले जग्गा किनेको स्वीकार मात्र गरेनन्, सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नै उनको पक्षमा अभिव्यक्ति दिँदै भने - उहाँ नै ठगको जालमा पर्नुभयो, ठगिनुभयो।

पौडेलले 'प्रचलित कानुनबमोजिम लाग्ने राजश्व लिइ रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरीद गरी लिएको' लिखित प्रस्टिकरण दिइसकेका छन्। त्यसभन्दा एक कदम अगाडि बढेर संचारमन्त्री बाँस्कोटाले पौडेलको काँध थापिदिए - 'उहाँ ठगिनुभयो, उहाँलाई त क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ।'

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनासाथ पार्टीका वरिष्ठ नेतालाई अप्रत्यासित रुपमा तल पार्दै महासचिवमा फड्को मारेका पौडेल र तिलककुमारी खड्काको कथा भने उस्तै छ। जसरी पौडेल 'ठगिए' त्यस्तै हालतमा परेकी थिइन् तिलककुमारी।

राज्यको न्याय प्रणालीले कुन मुद्दालाई कसरी व्याख्या गर्छ, अब सबैको नजर त्यतातिर हुने नै छ। तिलककुमारी ठगिँदा उल्टै जेल परेकी थिइन् भने पौडेललाई चाहिँ के गरिन्छ त? यो पेचिलो प्रश्नको जवाफ खोज्न तिलककुमारीको कथा यहाँ सान्दर्भिक हुन्छ।

महोत्तरी (तत्कालीन वेलगाछी गाउँ विकास समिति वडा नम्बर २) स्थायी घर भएकी तिलककुमारी खड्काले २०६४ सालमा राजधानीको चाँगुनारायणमा चार आना जग्गा किनिन्। असाध्यै न्युन आयमा गुजारा गरिरहेकी उनको एक छोरा पनि थिए। सस्तोमा जग्गा पाउँदा उनले जसरी पनि किन्ने निधो गरिन्। ५ लाख रुपैयाँमात्र तिर्दा जग्गा उनको नाममा पास भयो।

तर, जग्गा किनिसकेपछि खुलासा भयो, ठगी पो भएछ।

जग्गा बेच्ने दलालले जग्गाधनीको नक्कली वारेसनामा बनाएर उनलाई जग्गा पास गरिदिएको खुल्यो। २०६९ सालमा सरकारीवादी फौजदारी मुद्दा चल्यो र अन्जानवस जालझेलमा परेकी उनी नराम्ररी ठगिइन्।

उनको मुद्दा जिल्ला अदालत भक्तपुर पुग्यो। सरकारी दस्तख कीर्ते र ठगी मुद्दामा उनीसहित नक्कली वारेसनामा बनाउने लगायतमाथि मुद्दा चल्यो।

बढी मूल्य पर्ने जग्गा असामान्य रुपमा कम पैसा तिरेर किनेको आरोप उनीमाथि थियो। महँगो मूल्यको जग्गा कसरी सस्तोमा खड्काले पाइन्? भन्ने सरकारी वकिल पक्षको दावी थियो। त्यसैले खड्काले ठगी गर्ने मनसायले जग्गा किनेको आधार अदालतमा प्रस्तुत गरिएको थियो।

अदालतमा लामो सुनुवाइ चल्यो। नक्कली वारेसनामा बनाउने मामिलामा खड्काको कतै दोष देखिएन। तर, खड्काले ठगी गर्ने मनसायले कम पैसामा महँगो जग्गा किनेको भनेर अदालतले फैसला दियो।

२०६९ साल पुस १८ गते भक्तपुर जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठले फैसला गरे- तिलककुमारीलाई २ वर्ष कैद र २ लाख २६ हजार ५६२ रुपैयाँ ५० पैसा जरिवाना तिर्नु।

यो मुद्दा पुनरावेदन पुग्यो। पुनरावेदन अदालत पाटनले जिल्लाको फैसलालाई नै सदर गर्यो। खड्का दुई वर्ष जेल बसेर बाहिरिसकेकी छिन्। उनको जग्गा किन्दा तिरेको पाँच लाख र अदालतले तोकेको २ लाख २६ हजार डुब्यो।

यहाँउनी ठगिइन् मात्र होइन उनलाई नक्कली कारोबारमा संलग्न भएको मुद्दामा २ वर्ष कैदको फैसला सुनाइयो। र, उनले कसुरअनुसारको दण्ड पनि पाइन्।

प्रश्न अब पौडेल काण्डमा

गिट्टी कुट्ने पेशामा रहेकी तिलककुमारी र हालको नेपाल कम्युनिस्ट पार्टीका शक्तिशाली महासचिव पौडेल दुवै फसेका छन् - जग्गाकै केसमा। यी दुवै पीडित भए पनि हैसियतका आधारमा तुलनायोग्य भने होइनन्। यति चाहिँ हो - विद्वान पौडेल र गिटी कुट्ने तिलककुमारी दुवै ठगिए। दुई तहका न्यायलयबाट न्याय पाउन नसकेपछि तिलककुमारीले सर्वोच्च अदालततिर धाउने हिम्मत पनि गर्न सकिनन्। पटक पटक ठगिएकी उनी सर्वोच्च अदालतमा न्यायको भिख माग्ने खर्च जुटाउने अवस्थाबाट विमुख भइसकेकी थिइन्। त्यसैले उनको प्रसंग त्यही टुंगियो।

अब प्रश्न महासचिव पौडेलको विषयमा मात्र हो। के उनीमाथि कुनै कारवाही होला? प्रधानमन्त्री केपी शर्मा ओलीसँगै छ बालुवाटार जग्गा प्रकरणको फाइल। सरकारले जग्गा रोक्का पनि गरिसकेको छ। पक्कै पनि अब सरकारले न्यायको बाटो लिनेछ।

तर, यहाँनेर प्रश्न भने खडा भएको छ - के न्याय सबैलाई बराबर हुन्छ? तिलककुमारीको मुद्दा लडेका कानुन व्यवसायी अपूर्व खतिवडा भन्छन्, 'हाम्रो देशको कानुन र अदालतको नजिरले तिलककुमारी र पौडेललाई समान मान्छ। पौडेललाई उन्मुक्ति दिने हो भने अब सरकारले कानुन नै बदल्नुपर्ने हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell