PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : फेन्सिङ : आर्मी च्याम्पियन, अन्य खेलमा विभागीय टोलीको वर्चस्व



पहिलोपोस्ट

 आठौँ राष्ट्रिय खेलकुद : फेन्सिङ : आर्मी च्याम्पियन, अन्य खेलमा विभागीय टोलीको वर्चस्व

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्बल च्याम्पियन भएको छ। आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो।

फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगिताको शनिबारसम्मको नतिजामा आर्मीले सर्वाधिक ६ वटा स्वर्ण छ। प्रदेश ३ ले ३ स्वर्ण तथा एपीएफ क्लबले दुई स्वर्ण हात पारे।

शनिबारको खेलमा फोइल पुरुष समूहमा आर्मीले प्रदेश ३ लाई ४५–२२ को अन्तरले पराजित गर्‍यो। त्यसैगरी स्याबर पुरुष समूहमा प्रदेश ३ ले एपीएफलाई ४५–३९ को अन्तरले निराश पार्‍यो। इपी महिला समूहतर्फ आर्मीले एपीएफमाथि ४५–४४ को कठिन जित दर्ता गर्‍यो।

फोयल महिला समूहमा एपीएफ पहिलो बन्यो। एपीएफले आर्मीलाई ४५–३२ को अन्तरले पराजित गर्‍यो।

 

बास्केटबल : सदिनाको टोली विजयी

आठौंअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदीना श्रेष्ठको टोली प्रदेश ३ ले विजयी सुरुआत गरेको छ।

दाङको घोराहीमा भएको प्रतियोगितामा प्रदेश ३ ले प्रदेश १ लाई ४८–१७ ले पराजित गर्‍यो। जितमा सदीनाले ११ अंक योगदान गरिन्।

महिलामै एपीएफले प्रदेश ४ लाई ५०–३५, प्रदेश ७ ले प्रदेश ५ लाई ३९–१८ तथा नेपाल प्रहरीले आर्मीलाई ४७–३२ ले हराए। एपीएफकी प्रतीक्षा मगरले १८, प्रदेश ७ की अनिता भण्डारीले १० तथा आर्मीकी प्रीति तुलाचन र अनिशा मल्लले समान १३–१३ अंक जोडे।

आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुषमा प्रहरीले एपीएफलाई ७५–६८, आर्मीले प्रदेश ७ लाई ९०–४५, प्रदेश ३ ले प्रदेश ६ लाई १२८–२२ र प्रदेश १ ले प्रदेश २ लाई ६२–१८ ले हराए।

 

बुद्धिचाल : ६ खेलाडीको समान अंक

आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ मनोलिसा खुम्बु, सुजना लोहनी, सुरुची थिङ, सिन्दिरा जोशी, खुश्बु थापा र शान्ति धिमालले दोश्रो चरणको खेल समाप्तिसम्म समान २–२ अंक जोडेका छन्। खुश्बु र शान्ति प्रदेश १ तथा बाँकी चार आर्मीका हुन्।

खुलातर्फ एपीएफका क्षितिज भण्डारी, प्रहरीका सूरवीर लामा, प्रदेश ३ का रिजेन्द्र राजभण्डारी, प्रहरीका मनीष हमालसहित ११ खेलाडीले दोश्रो चरणको खेल सकिँदा समान २–२ अंक जोडेका छन्।

 

कबड्डी : आर्मीको सानदार सुरुआत

आठौंअन्तर्गत राष्ट्रिय हक्कीको पहिलो दिन शनिबार आर्मीले सानदार सुरुआत गरेको छ। पुरुष-महिला दुवैमा आर्मीले दोहोरो जित निकाल्यो।

बर्दियाँको बाँसगढी कबड्डी एकेडेमीमा पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित गर्‍यो। अन्यमा प्रदेश ५ ले प्रदेश २ लाई ३६–२६, एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५–३५ र गण्डकीले प्रदेश ३ लाई ५१–४७ ले हराए।

महिलामा आर्मीले प्रदेश २ लाई ७२–१७ तथा कर्णालीलाई ५७–१२ ले पाखा लगायो। बाँकी लिगमा सुदूरपश्चिमले प्रदेश १ लाई ८१–२१, प्रदेश ५ ले गण्डकीलाई ६२–२२ र प्रहरीले प्रदेश ३ लाई ५१–२२ ले हराए।

 

हक्की : प्रदेश ५ सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा प्रदेश ५ सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘बी’ लिगमा प्रदेश ५ ले सुदूरपश्चिमलाई २–१ गोलले पराजित गर्दै समूह विजेता बन्यो। विजयी टिमका लागि शशि दर्लामी र मनीष गुरुङले गोल गरे।

पुरुषमै प्रदेश १ र कर्णालीले १–१ गोलको बराबरी खेले। ५० औं मिनेटमा सुशान्त राउतले गोल गर्दै कर्णालीलाई १–० को अग्रता दिलाएका थिए। प्रदेश १ का सञ्जय राजवंशीले ५४ मिनेटमा बराबरी गोल फर्काए। आर्मीले प्रदेश ३ लाई ८–० को फराकिलो गोलअन्तरले हरायो। आर्मीका प्रदीप राजवंशीले ४ तथा दिपेन्द्र ऐर, रोशन चौधरी, रन्जित राउत र देवसिंह धामीले १–१ गोल गरे।

महिलामा आर्मीले जितका साथ यात्रा प्रारम्भ गरेको छ। प्रदेश ३ विरुद्धको खेलमा आर्मी ९–० ले सहजै विजयी भयो। आर्मीको जितमा सीतामाया बलले ह्याट्रिक गरिन्। सीता चौधरी र पिंकी सिन्जालीले २–२ तथा सरिता मगर र ईश्वरी चुन्नी मगरले १–१ गोल थपे।

 

बक्सिङ : दिवाना र ललिता सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेलमा दिवाना शेर्मा र ललिता महर्जनले जित हासिल गरेका छन्।

४८ केजी तौल समूहको खेलमा नेपाल पुलिसकी दिवानाले प्रदेश ५ कि रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन्। सोही तौलको अर्को खेलमा नेपाल आर्मीकी ललिताले प्रदेश ५ कि प्रतिभा शाहीलाई एबीडी कन्टेस्टको आधारमा हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरिन्।

यसैगरी महिला ४८ केजी अन्तर्गतकै खेलमा प्रदेश ३ की सुष्मा तामाङ र प्रदेश १ की प्रतिभा श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरिन्। सुष्माले एपीएफकी सावित्री तामाङलाई अंकको आधारमा ४–१ ले तथा प्रतिभाले प्रदेश ४ की आकृति गुरुङलाई पनि अंककै आधारमा ५–० ले हराइन्।

 

यसैगरी महिला ५१ केजीको क्वाटरफाइनलमा प्रदेश १ की रोशनी लावतीले प्रदेश ७ की सुष्मा तामाङलाइ अंकको आधारमा ४–१ ले हराउंदा प्रदेश ३ की रोशनी राइले प्रदेश ६ की मीना घलेलाई पनि अंककै आधारमा ५–० ले हराउंदै अन्तिम चारमा स्थान सुरक्षित गरिन्। सोही तौल समूहको अन्य खेलमा नेपाल अर्मीकी विमला श्रेष्ठले प्रदेश ५ की विमला थापालाई अंकको आधारमा ५–० ले हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन्।

महिला ६४ केजी तौल समूहको खेलमा नेपाल अर्मीकी पूनम रावलले प्रदेश ६ की अस्मिता चन्दलाई रेफ्रि स्टप कन्टेस्ट (आरएसी) को आधारमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन्। सोही समूहको अर्को खेलमा प्रदेश १ की तृषा जागेबु लिम्बुले प्रदेश ३ की अम्बिका बिकेलाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा प्रवेश गरिन्। सोही तौलको अन्य खेलमा प्रदेश ५ की माया चौधरीले वाकओभर पाइन भने एपीएफकी विनिता थापा मगरले प्रदेश ७ की सुलोचना जैसीलाई एबीडी कन्टेस्टको आधारमा हराउदैसेमिफाइनलमा स्थान पक्का गरिन्।  

यसैगरी पुरुष ४९ केजी तौल अन्तर्गतको खेलमा नेपाल आर्मीका शुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। क्वाटरफाईनल खेल जारी छ।

प्रतियोगिताअन्तर्गत आइतबारदेखि दाङमा ब्याडमिन्टन, नेपालगन्ज जुडो हलमा जुडो र कोहलपुरमा साइक्लिङ खेल सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell