PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

निर्मला, साढे २३ किलो सुनदेखि सांसदलाई जन्मकैद फैसलासम्म : सुदूरपश्चिमका केही खबर जसले यो वर्ष पूरै देश तरङ्गित भयो 



एम बम

निर्मला, साढे २३ किलो सुनदेखि सांसदलाई जन्मकैद फैसलासम्म : सुदूरपश्चिमका केही खबर जसले यो वर्ष पूरै देश तरङ्गित भयो 

कैलाली : २०७५ सालमा सुदूरपश्चिमका केही खबरले पूरै देश तरङ्गित भयो। यो वर्ष सुदूरपश्चिम प्रदेशको पनि कञ्चनपुर जिल्ला धेरै चर्चामा रह्यो । साढे २३ किलो सुन प्रकरणको साक्षी पनि बन्यो कञ्चनपुर।  

निर्मला हत्या प्रकरणले लगभग वर्षभरि चर्चामा रहेको कञ्चनपुर पछि हत्या हिंसा र बलात्कारमा कैलालीको अवस्था पनि निराशाजनक रह्यो । पहाडी जिल्लामा ठुला सडक दुर्घटना लगायत २ सय बढीले २०७५ सालमा सडक दुर्घटनाका कारण अकालमै ज्यान गुमाए। 

निर्मला प्रकरण : चर्चा ठूलो र उपलब्धि शून्य

सुदूरपश्चिमको तराईको जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते शव फेला पर्‍यो। कसले र किन हत्या गर्‍यो, आजसम्म पत्ता लागेको छैन। 

घटना भएकै दिनबाट निर्मलाको हत्यारा पत्ता लगाउने माग सहितको आन्दोलन र त्यसको उग्र रूपले अनुसन्धानलाई पछाडि धकेल्यो, आन्दोलनले प्रश्रय पायो। हत्यारा सार्वजनिक गर्ने माग देशव्यापी बन्यो। न्यायका लागि गरिएको आन्दोलनमा एकजनाले ज्यान गुमाए, थुप्रै घाइते भए। घटनाबारे रेको भरमा चलेका हल्ला र प्रतिवेदनले घटना झन् रहस्यमय बन्दै गयो। 

८ महिनासम्म पनि दोषी पत्ता लगाउने काम शून्यमै छ। बरु घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा प्रहरी अधिकारीहरूले कारबाही भोग्नुपर्‍यो, अदालतमा मुद्दा चल्यो।

प्रदेशमा अन्य बलात्कार र हत्याका घटना

निर्मला पन्तको बलात्कार र हत्याले चर्चा पाए पनि सुदूरपश्चिम प्रदेशमा यस वर्ष दर्जन बढी बलात्कार र हत्याका घटना भएका छन्। असार १२ गते कार्यालय जान भनेर घरबाट निस्केकी कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ११ कि माया विक कार्यालय पुगिनन्।

सामाजिक परिचालनको जिम्मेवारीमा रहेकी माया कहाँ गइन् भनेर सोधखोज भयो। राति अबेरसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारका सदस्य अतालिए र  प्रहरीमा हराएको उजुरी दिए।

धेरैले आफन्तका घरमा गएको अनुमान लगाए तर असार १५ गते उनको शव भेटियो । उनको सामूहिक बलात्कार पछि विभत्स हत्या भएको अवस्थामा शव भेटिएको थियो। घटनाको एक साता हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गर्‍यो।

असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ आमखैयाकी १७ वर्षीया कविता विष्टको छ दिन पछि हत्या गरिएको अवस्थामा शव फेला पर्‍यो। कैलाली जिल्ला अदालतमा मात्रै यो वर्ष ४ दर्जन बढी जबरजस्ती करणीका घटनाका मुद्दा दर्ता भएका छन्। 

घरायसी विवादले सिर्जना गरेका हत्या
सुदूरपश्चिम प्रदेशमा यस वर्ष पारिवारिक हत्या श्रृंखालामा वृद्धि भएको छ। कैलालीको गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन्।

वैशाख १६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का २४ वर्षीय बिस्टसँग उनको मागी विवाह भएको थियो। प्रहरीको अनुसन्धानअनुसार विवाह अघि गोदावरी नगरपालिका– १२ खमौराका २४ वर्षीय दीपकसँग प्रेम सम्बन्ध थियो ।

यसै कारण बिहे भएको दुई महिना नपुग्दै प्रेमीसँग मिलेर उनले श्रीमानलाई भासु भिरबाट खसालेकी थिइन्। घटनाको पाँचौँ दिन असार १२ गते बिस्टको शव कैलालीको चुरे गाउँपालिका– ८ भासु भीरमा सडेको अवस्थामा फेला र्पयो।

त्यसै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरे । ३७ वर्षीय केशवले ३६ वर्षीया सरस्वतीलाई खेतमा हतियारले हिर्काएर हत्या गरे । सशस्त्र प्रहरीका हवलदार कार्की श्रीमती हत्या अभियोगमा अहिले कारागारमा छन् ।

भदौ ५ गते कैलालीको लम्की चुहा नगरपालिका–९ प्रतापपुरमा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमानले श्रीमती को हत्या गरे ।  भीमदत्त नगरपालिका–९ टुँडिखेल सिङ्गापुरका अन्दाजी ४५ वर्षीय चन्द्र पुन मगरले ३५ वर्षीया श्रीमती विमला पुन मगरको बन्चरो प्रहार गरी हत्या गरेका गरे। 

माघ ६ गते कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरे।

साढे २३ किलो सुन प्रकरण
मुलुकभर ३३ किलो सुनको चर्चा भइरहँदा यस वर्ष कञ्चनपुरबाट प्रहरीले साढे २३ किलो सुन बरामद गर्‍यो। फागुन २ गते पुनर्वास –२ दशरथ बस्तीबाट सीआइबी, अपराध अनुसन्धान महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको संयुक्त प्रहरी टोलीले १८ किलो सुन बरामद गरेको थियो। सोही टोलीले अर्को दिन फागुन ३ गते ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो। 

साढे २३ किलो सुन प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले प्रहरी जवान सुरज तिरुवालाई १० लाख धरौटी र लक्ष्मण तिरुवालाई जेल चलान गरेको भए पनि सुरज तरुवाले धरौटी तिर्न नसक्दा उनी पनि जेल चलान भए।

प्रतिनिधि सभाका सांसदलाई जन्मकैदको फैसला
टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेसमलाल चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले फागुन २२ गते जन्मकैदको फैसला सुनायो। कैलाली जिल्ला अदालतले गरेको उक्त निर्णयले राजनीतिक वृत्तमा यस वर्ष चर्चा पायो। यतिसम्म कि सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी राजपाले सरकारको समर्थन फिर्ता लियो।

अदालतले सांसद चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरीया, सुन्दर लाल कठरीया, बृज मोहन डगौँरा, राजेश चौधरी, वीर बहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३ (३) बमोजिम जन्म कैदको फैसला सुनाएको थियो।

मन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशमा पदीय आचरण विपरीत काम गरेको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरियो। सोडारीलाई मन्त्री पदबाट हटाउने नेकपा प्रदेश कमिटीको निर्णय गरे पछि मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरे। प्रदेश सरकार गठन भएको झन्डै ९ महिनाको अवधिमै सोडारीको मन्त्री पद खोसिएको थियो।

 नेपाल आइडल रवि ओड
सुदूरपश्चिमको कञ्चनपुरबाट प्रतिनिधित्व गर्दै नोपल आइडलको विजेतासम्म पुगेका रवि ओडले पनि सुदूरपश्चिमलाइै केही समय चर्चामा राखे । नेपाल आइडल सिजन–२ को विजेता बनेसँगै सुदूरपश्चिममा पनि देउडा बाहेकका गीत गाउने प्रतिभा छ भन्ने देखायो। 

सडक दुर्घटनाले निल्यो २ सय जनालाई 
गत मङ्सिरमा डडेलधुराबाट डोटी जाँदै गरेको बस डा. के आई सिंह राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका – ११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा  १६ जनाको मृत्यु भयो । १० जनाको घटनास्थलमा र ६ जनाको डडेलधुरा अस्पतालमा मृत्यु भयो।

फागुनको मध्य तिर सुदूरपश्चिममा अर्को ठुलो दुर्घटना भयो । सदरमुकाम खलङ्गाबाट दार्चुलाको दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । राति करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म १ ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खस्दा १ नाबालकसहित ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयका अनुसार २०७५ मा प्रदेशभर सडक दुर्घटनामा मात्रै २ सय जनाले ज्यान मुमाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell