PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

‘तामो-तुलसी छोएर गर्दिनँ भनेको काम नगर्ने जाति नेपाली हो, भ्रष्ट र अनैतिक मान्छे नेपाली होइन’: प्रधानमन्त्री



पहिलोपोस्ट

‘तामो-तुलसी छोएर गर्दिनँ भनेको काम नगर्ने जाति नेपाली हो, भ्रष्ट र अनैतिक मान्छे नेपाली होइन’: प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुन नसक्ने बताएका छन्। नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारका विषयमा आफू मुखमा पानी हालेर नबोल्ने बताएका छन्।

भ्रष्टाचारका विषयमा हुने कारबाहीलाई यो वा त्यो नाममा मुख नहेर्ने पनि प्रधानमन्त्रीको भनाई छ।

‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने, भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने मेरो दृढ सार्वजनिक घोषणा हो। भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन। परम्परा हैन। हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौँ। तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम/कुरा नगर्ने इमान भएको जाति नेपाली हो। तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन। हुनै सक्दैन।’

सम्बोधनमा प्रधानमन्त्री ओलीले गत साल, बेथिति र भ्रष्टाचारविरुद्धको अभियानको वर्ष रहेको पनि बताए। विगतमा अवाञ्छित कार्यमा संलग्न भएकाहरु अहिले छट्पटाइरहेको प्रधानमन्त्रीको भनाई छ। भ्रष्टाचारविरुद्धको सरकारको सक्रियताले विगतमा अवाञ्छित कार्यमा संलग्न भएकाहरु अनपेक्षित ढंगमा प्रतिक्रिया दिइरहेको उनको भनाई छ।

‘राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिनेछैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ। हामीलाई थाहा छ, भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ। तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरी छाड्ने अभियानमा म प्रतिबद्ध छु’ सम्बोधनमा प्रधानमन्त्रीले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell