PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

राराबाट फुकेको कर्णाली पर्यटन वर्षको ‘बिगुल’ कति सफल? साढे ५ हजार पर्यटक भित्रिँदा बाह्य पर्यटक २  सयमात्र



पी बी खड्का

राराबाट फुकेको कर्णाली पर्यटन वर्षको ‘बिगुल’ कति सफल? साढे ५ हजार पर्यटक भित्रिँदा बाह्य पर्यटक २  सयमात्र
फाइल फोटो

सुर्खेत: गत वैशाख १ गते बेहुली झै सिँगारिएको रारा। प्रधानमन्त्रीदेखि सर्वसाधारणले स्वागत गरी मनाएको त्यो नयाँ वर्ष। यसै अवसर पारी ठुलो तामझामका साथ कर्णालीमा ’कर्णाली रारा पर्यटन वर्ष–२०७५’ घोषणा।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालको आँगनबाट पर्यटन वर्षको घोषणा गरे। प्रधानमन्त्रीसँगै रक्षा मन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटन मन्त्री  रवीन्द्र अधिकारी, नेकपा नेता सुवास नेम्वाङ, जनार्दन शर्मालगायतका एक दर्जन बढी शीर्ष नेताको उपस्थितिमा पर्यटन वर्ष घोषणा भयो। 

अझ त्यत्ति मात्रै नभएर मुलुकको ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीले दिएको शुभकामना र देशवासीको नाउँमा गरेको सम्बोधन। जसले गर्दा राराले मात्रै नभएर कर्णालीले थप चर्चा पायो। कर्णाली सरकारको अपेक्षा पनि यही थियो की महत्त्वपूर्ण पर्यटकीय गन्तव्य रारामा पर्यटकको ध्यान केन्द्रित गर्ने र प्रदेशमा भएका अन्य पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्ने।

प्रदेश सरकारले कर्णालीको मुख्य समृद्धिको आधार पर्यटनलाई मानेर पर्यटनको हबको रूपमा विकास गर्ने योजना अघि सारेको छ। त्यसैले पनि २०७५ साललाई हतारमै पर्यटन वर्षको रूपमा मनाउने निर्णय अनुसार पर्यटन वर्ष घोषणा भयो।

राराको आँगनबाट फुकेको ‘बिगुल’ आज एक वर्ष पुरा भयो। प्रदेश सरकारले यो एक वर्षमा पाँच लाख बढी पर्यटक भित्र्याउने लक्ष्य थियो। अहिले सबैको चासोको विषय बनेको छ कर्णालीमा कति पर्यटक भित्रिए!

कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार यस वर्ष रारामा झन्डै साढे पाँच हजार मात्रै पर्यटक पुगेका छन्। मन्त्रालयको यो तथ्याङ्क प्रदेश सरकारका लागि निकै निराशाजनक बन्न पुग्यो।

मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायका अनुसार फागुन मसान्तसम्म रारा तालमा साढे ५ हजार पर्यटक भित्रिएको बताए। त्यो पनि बाह्य पर्यटक भने करिब २ सय २० को हाराहारीमा मात्रै छन्। बाँकी ५ हजार ३ सय बढी पर्यटक आन्तरिक छन्। उनले चैत सम्मको तथ्याङ्क अझै आउन केही समय लाग्ने उनको भनाई छ।

दुई वर्षअघि आन्तरिक मात्रै करिब २० हजार पर्यटक रारामा पुगेको तथ्याङ्क छ। 

जसरी प्रदेश सरकारले देशविदेशका पर्यटकलाई टार्गेट गरेर पर्यटन वर्ष घोषणा गरेको थियो त्यही पक्ष भने निकै कमजोर रह्यो। प्रदेश सरकारले तामझामका साथ झन्डै करोड खर्चेर पर्यटन वर्ष उद्घाटन गरेको रारामै न्यून पर्यटक पुगे। प्रदेशको मात्रै नभएर समग्र नेपालकै प्रमुख आकर्षणको केन्द्र रारामा अनपेक्षित पर्यटक भित्रिन पुगे।

पर्यटन मन्त्रालयले फागुन मसान्तसम्म कर्णालीमा २ लाख ३३ हजार २५ जनाको पर्यटक भित्रिएको तथ्याङ्क सङ्कलन गरेको छ। मन्त्रालयका अनुसार डोल्पाको शे–फोक्सुण्डो ताल अवलोकनका लागि ८ सय ७२ जना पर्यटक पुगेका छन्। त्यहाँ पुगेका मध्ये ४ सय ८९ जना आन्तरिक र ३ सय ८३ बाह्य पर्यटक रहेका छन्।

प्रदेशकै प्रवेशद्वार सुर्खेतको काँक्रेविहारमा ३६ हजार ९ सय बढी पर्यटक भित्रिएका छन्। ती मध्ये ३४ जना बाह्य र ३६ हजार ९ सय जना आन्तरिक पर्यटक काँक्रेविहार अवलोकन गर्न पुगेका छन्। सुर्खेतकै अर्को पर्यटकीय स्थल बुलबुलेमा डेढ लाख बढी पर्यटक भित्रिएको तथ्याङ्क छ। मन्त्रालयका अनुसार यो वर्ष एक लाख ६० हजार पर्यटक बुलबुले भित्रिएका छन्। तर, ती सबै पर्यटक आन्तरिक मात्रै हुन्।.

मन्त्रालयको अनुसार जम्मा चार स्थानमा मात्रै तथ्याङ्क सङ्कलन गरेको छ। जस मध्ये जम्मा भित्रिएका पर्यटकमध्ये ६ सय ३३ जना विदेशी कर्णालीमा पुगेका छन्।

तथ्याङ्क हेर्दा प्रदेश सरकारको लक्ष्य भेट्टाउन बुलबुले तालले धेरै सङ्ख्यामा पर्यटक भित्र्याएको छ। पाँच लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ भने, बुलबुलेमा मात्रै डेढ लाख बढी पर्यटक भित्रिएको तथ्याङ्क छ।

बुलबुले तालमा कर्णालीको सबैभन्दा बढी पर्यटक भित्रिएको तथ्याङ्क छ। बुलबुले तालमा दैनिक विद्यार्थीदेखि, उपत्यकावासी नुहाईधुवाईका लागि लाइनमा बस्ने गर्छन्। यसरी दैनिक जाने सर्वसाधारणलाई पनि पर्यटक मान्ने या नमान्ने? यो भने सोच्न आवश्यक छ। जसले गर्दा पनि प्रदेश सरकारले फ्याक्ट पर्यटकको डेटा भने सङ्कलन गर्न नसकेको स्पष्ट देखिन्छ।

 

आन्तरिक पर्यटकले जोगाएको इज्जत

पाँच लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको इज्जत आन्तरिक पर्यटकले धाने। गणना गरेको प्रदेश सरकारको तथ्याङ्क अनुसार भित्रिएका सबै पर्यटक आन्तरिक छन्।

जम्मा दुई लाख ३३ हजारको हाराहारीमा पर्यटक भित्रिएको तथ्याङ्क सङ्कलन गरेको सरकारले विदेशी ६ सय ३३ मात्रै भित्रिएका छन्।

रारामै जम्मा साढे पाँच हजारमध्ये बाह्य पर्यटक करिब २ सय २० को हाराहारीमा तथ्याङ्क सरकारले राखेको छ भने, बाँकी आन्तरिक मात्रै छन्।

त्यस्तै, बुलबुले तालमा जम्मा एक लाख ६० हजार पर्यटक बुलबुले भित्रिएको तथ्याङ्क छ। ती सबै पर्यटक आन्तरिक नै हुन्। बुलबुलेको तथ्याङ्क सबै उपत्यकावासी नुहाई धुवाई, पिकनिक लगायतको लेखाजोखा समावेश गरिएको छ।

जसरी प्रदेश सरकारले देशविदेशका पर्यटकको ध्यान केन्द्रित गर्ने उद्देश्यले रारा तालबाट पर्यटन वर्षको घोषणा गर्‍यो त्यो सपना भने अधुरै रह्यो।

 

 

सूचीमा समावेश पर्यटकीय गन्तव्यकै छैन तथ्याङ्क

केन्द्र सरकारले नै नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको १७ पर्यटकीय गन्तव्यको तथ्याङ्क प्रदेश सरकारसँग छैन। केन्द्र सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेका २१ मध्ये १७ ठाउँ पर्यटकीय गन्तव्यको रेकर्ड प्रदेशले राख्न सकेको छैन।

गत कात्तिक १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुगुको रारा ताल, सल्यानको कुपिन्डे दह, दैलेखको धार्मिक सम्पदाको क्षेत्र पञ्चकोशी ज्वाला क्षेत्र, जुम्लाको सिंजा सभ्यता, कालिकोटको पचाल झरना, रारादेखि–से–फोक्सुन्डो, डोल्पाको त्रिपुरा सुन्दरी पर्यटन क्षेत्र, हुम्लाको लिमी उपत्यका र जाजरकोट दरबारलाई एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको थियो। अधिकांश पर्यटकीय गन्तव्यको तथ्याङ्क प्रदेश सरकारसमक्ष छैन। ‘सबै ठाउँमा हाम्रो इन्ट्रि सिस्टम छैन। त्यसो भएर हाम्रो चार ठाउँ शे–फोक्सुन्डो, रारा ताल, कांक्रेविहार र बुलबुले तालको मात्रै तथ्याङ्क सङ्कलन गर्न सकियो।’ सूचना अधिकारी रोकायले भने,‘अब सरकारको तर्फबाट सिस्टम गराई तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ।’

 

न्यूनतम पूर्वाधारबिनै पर्यटन वर्ष

प्रदेश सरकारले समृद्धिको मुख्य आधार मानेको पर्यटकीय गन्तव्यमा पूर्वाधारको चुनौती देखिन्छ। जसले गर्दा पनि टार्गेट अनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार असफल जस्तै भयो। न्यूनतम पूर्वाधारको विकास नै नगरी पर्यटन वर्ष घोषणा गर्दा लक्ष्य प्राप्त गर्न प्रदेश सरकारले सकेन।

कर्णालीका दुई दर्जन बढी पर्यटकीय गन्तव्यमा सहज र सरल तरिकाले पुग्न सकिने, उचित बसोबासको व्यवस्था, पर्यटकको मन जित्ने पूर्वाधार छैनन्।

प्रसिद्ध मुगुको रारा ताल आवतजावतका लागि हवाई मार्ग र सडक यातायात दुवैको व्यवस्था गरिएको छ तर, यी दुवै मार्ग भने पर्याप्त भरपर्दो छैन। जसले गर्दा पनि पर्यटन वर्षमा पर्यटक भित्रिन निकै सकस पर्‍यो।

नेपालगन्ज–सुर्खेत हुँदै कर्णालीका विभिन्न जिल्ला छिचोल्दै जाँदा बाटोमै पर्ने करिब एक दर्जन बढी पर्यटकीय गन्तव्यमा न्यूनतम पूर्वाधार छैन। यही रुटमा दैलेखको ज्वालामुखी, पञ्चकोषी, कालिकोटको पचाल झरना, जुम्लाको सिंजा, चन्दननाथ मन्दिर, रारा ताल, हुम्लाको गुम्बा लगायतको पर्यटकीय गन्तव्य पर्छन्। तर, न्यूनतम पूर्वाधारलेनै ओझेलमा छन्।

यसै रुटमार्फत रारा पुग्न ज्यानको बाजी थापेर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ। सुर्खेतबाट झन्डै २ दिनको यात्रा गरेपछि रारा पुग्न सकिन्छ।

मुगुको ताल्चा विमानस्थलबाट रारासम्म गाडीमा आधा घण्टा लाग्ने गर्छ। हवाई मार्गबाट सुर्खेत र नेपालगन्ज हुँदै रारा आउजाउ गर्ने व्यवस्था छ। हवाई मार्ग बाट भाडा दर भने नेपालगन्ज बाट ८ हजार ५ सय र फर्किँदा ५ हजार तोकिएको छ भने, सुर्खेत बाट करिब ५ हजार देखि ७ हजार निर्धारण गरिएको छ।

कर्णालीमा थुप्रै पर्यटकीय सम्पदाहरू छन्। तर, ती ऐतिहासिक, धार्मिक महत्त्वका सम्पदाहरूमा सहज र सरल तरिकाले पुग्न सक्ने अवस्था न्यून छ। भएका पर्यटकीय सम्मत्तिहरुमा पुग्न जोखिम मोलेर जानुपर्ने बाध्यात्मक अवस्था छ।

त्यस्तै, कर्णालीमा विद्युत् र सञ्चारको पहुँच पुर्‍याउन सके पर्यटकको सङ्ख्या वृद्धिमा सहयोग पुग्ने निश्चित छ। सुर्खेत देखि मुगुको रारा जाने बेला सम्म समेत पर्याप्त भनेको समयमा सञ्चार हुन सक्ने अवस्था छैन।  फोन सम्पर्क गर्न समेत समस्या छ भने नेट इन्टरनेटको पहुँचको कुरा त परै छ। अधिकांश पर्यटकीय गन्तव्यमा सञ्चार पहुँच निर्माण पुगिसकेको छैन।

हरेक जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न सडक, स्तरीय होटल, विद्युत्, सञ्चार लगायतको पूर्वाधार भने अभावमै गुज्रिएका छन्।

कर्णाली प्रदेशको समृद्धिको मुख्य आधार चिन संग जोडिएको उत्तरी नाका खोल्नु भन्दा अघि सडकको पहुँच मार्ग निर्माण गर्नुपर्ने देखिन्छ।

मुगुको गमगढी–नाक्चेनांग्ला सडक १६ किलोमिटर बढी निर्माण भएको छ भने जम्मा ८५ किलोमिटर निर्माण गरिनुपर्ने हुन्छ। हुम्लाको सिमीकोट–हिल्सा सडक ७८ किलोमिटर, हुम्लाकै अर्को सिमीकोट–लिमी–लाप्चा सडक ९० किलोमिटर सडक निर्माण गरी जोड्नुपर्ने छ।

डोल्पाको दुनै–धो–मोरिम्ला सडक १७० किलोमिटर निर्माण गर्नुपर्ने हुन्छ। उक्त सडक मार्ग र नाका खोले प्रदेशको समृद्धि र व्यापारिक पारवहन सम्बन्ध स्थापित हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell