PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आठौँ राष्ट्रिय खेलकुद : जुडोमा मनीता र इन्द्रलाई स्वर्ण, पाँचौ दिन अरु के के भए?



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : जुडोमा मनीता र इन्द्रलाई स्वर्ण, पाँचौ दिन अरु के के भए?

काठमाडौँ : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन्। महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन्। प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए।

महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउँदै पहिलो भइन्। प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए। ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन्। फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन्। प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने।

पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे। उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई हराए। एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए। ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते। एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए।

पुरुष ८१ केजीमुनि आर्मीका पवनकुमरा श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे। फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए। ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेश्रो स्थानमा रहे।

 

 

प्रहरी समूह विजेता

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ ।

हक्कीमा पहिलो पटक सहभागी प्रहरीले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित गर्‍यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए ।

समूह ‘बी’ बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले हरायो । विजयी टिमका लागि दीपकराज जोशीले २ तथा सुमितकुमार कामीले १ गोल गरे । प्रदेश १ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० ले हराउदा प्रेम विक र प्रदीप नेपालीले १–१ गोल योगदान गरे । यो समूहबाट प्रदेश ५ विजेतका रुपमा सेमिफाइनलमा पुगिसकेको छ ।

 

महिला हक्की : सुदुरपश्चिम र आर्मी सेमिफाईनलमा

सुदुरपश्चिम प्रदेश महिला हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ। आईतवार भएको लिग खेलमा मिलिमा पाण्डे र तनु गुरुङको ह्याट्रिक गोलको मद्दतमा सुदुरपश्चिम प्रदेशले प्रदेश ३ माथी १०–० गोलको सहज जित निकाले पछि समूह ए बाट सुदुरपश्चिम र आर्मी सेमिफाईनलमा प्रवेश गरेका छन् । मिलिमाले १७औं,३४औं,३६औं र ५८औं मिनेटमा ४ गोल गरिन भने तनु गुरुङले २१औं,३१औं र ४५औं मिनेटमा गोल गदै ह्याट्रिक पुरा गरेकी थिईन् । दमरा भट्टले १२औ मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएकी थिईन् भने ३४ औं मिनेटमा दोश्रो गोल गरेकी थिईन् । खेलको ५५औं मिनेटमा सुनिता नेगीले पनि एक गोल थपेकी थिईन्।

समूह ए मा रहेको प्रदेश ३ लिग चरणका दुवै खेलमा पराजित भएको पछि प्रतियोगिताबाट बाहिरिएको छ ।  सोमवार हुने सुदुरपश्चिम र आर्मीबीचको खेलबाट समूह बिजेताको छिनोफानो हुने छ । खजुराको सुक्रमावि मैदानमा भएको समूह बीको लिग खेलमा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ । मिना परियारको २ गोलको सहयोगले गण्डकीले प्रदेश १ लाई ४–० गोलले हरायो । गण्डकीका लागि मिनाले २९औं र ४३ औं मिनेटमा गोल गर्दा देविका बिक ४०औं मिनेट र कमला रानाले ४५औं मिनेटमा एक–एक गोलको योगदान दिए । सोमवार प्रदेश २ र गण्डकी प्रदेश तथा आर्मी र सुदूरपश्चिमबीच अन्तिम लिग खेल हुने छ ।

 

 

लनटेनिस : एपीएफलाई थप दुई स्वर्ण

रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुदअन्तरगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो ।

महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६-१, ६-२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं ४ कि श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडी तेस्रो हुदै कास्य पदकमा चित्त बुझाएका छन ।

यसैगरि पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडिलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गर्दै संवरण जितेका हुन। यसैगरि धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन ।

पुरुष एकलतर्फ आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६-०, ६-३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा नेपाली सेनाका प्रनव खनालले प्रदेश नं ४ का प्रदिप खड्कालाई ६-३, ७-५ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।

यसैगरि महिला एकलतर्फको पहिलो सेमीफाईनलमा नेपाली सेनाका अभिलाषा विष्टले प्रदेश नं ३ का रायना शाहलाई ६-२, ६-० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकी ईरा रावतलाई ६-०, ५-७, ६-२ को जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन । फाईनल सोमबार हुने छ ।

 

स्क्वास : कृष्णाको चौथो जित

आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् ।

कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् । अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्ने छ ।

पुरुष टिममा प्रदेश ३ ले एपीएफ तथा गण्डकीले प्रदेश १ लाई समान २–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

 

बास्केटबल : प्रदेश ५ लाई सफलता

ठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ ।

प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् ।

अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३, प्रहरीले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । प्रदेश ३ की सदीना श्रेष्ठले १७, प्रहरीकी अनुषा मल्लले १६ र आर्मीकी मिना गुरुङले ९ अंक जोडे ।

पुरुषमा प्रदेश ५ ले प्रदेश ६ लाई ६७–२८, प्रदेश ४ ले प्रदेश २ लाई १०४–२९, प्रदेश ३ ले प्रहरीलाई ७७–६६ र प्रदेश १ ले प्रदेश ७ लाई ७०–४० ले पाखा लगाए । प्रदेश ५ का रोहित बरालले २३, प्रदेश ४ का जिमेन पुनले २४, प्रदेश ३ का राजीव जोशीले १९ र प्रदेश १ का विवेकमणि श्रेष्ठले १९ स्कोर गरे ।

 

बुद्धिचाल : पुरुषोत्तमको स्पष्ट अग्रता

आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा चार चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईंले ४ अंक जोड्दै एकल अग्रता कायम गरेका छन् ।

बर्दियाँको ठाकुरद्वारामा भइरहेको प्रतियोगिताको खुलामै एपीएफका क्षितिज भण्डारी ३.५ अंकसाथ दोश्रो स्थानमा छन् । त्यस्तै समान ३ अंकसाथ प्रहरीका मदनकृष्ष कायश्थसहित ९ जना तेश्रो स्थानमा छन् ।

महिलातर्फ समान ४–४ अंकमा आर्मीका सुजना लोहनी र सिन्दिरा जोशी शीर्ष स्थानमा छन् । आर्मीकी मोनालिसा खुम्बु तथा प्रदेश १ का कृपा अधिकारी र शान्ति धिमालसहित ८ खेलाडी समान ३ अंकसाथ दोश्रो स्थानमा रहेका छन् । महिलामा पनि चार चरणको खेल सकिएको छ ।

 

कबड्डी

आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा एपीएफले प्रहरीलाई ५८–३६, गण्डकीले कर्णाली प्रदेशलाई ७५–३६, सुदूर पश्चिम प्रदेशले प्रदेश १ लाई ७६–४४, प्रदेश ३ ले प्रदेश २ लाई ४६–३३, आर्मीले एपीएफलाई ३९–१९, प्रदेश ५ ले गण्डकीलाई ४५–२३ र प्रदेश १ ले प्रहरीलाई ६२–३६ ले पराजित गरे ।

बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा महिलातर्फ प्रदेश ५ ले कर्णाली प्रदेशलाई ४१–२९, प्रहरीले एपीएफलाई ४०–१९, गण्डकीले प्रदेश २ लाई ४५–२९, प्रदेश ३ ले प्रदेश १ लाई ७१–१९, आर्मीले प्रदेश ५ लाई ४८–१५, प्रहरीले सुदूर पश्चिमलाई ३०–२२ र प्रदेश २ ले कर्णालीलाई ४२–१८ ले हराए ।

 

ब्याडमिन्टन : सेना, एपिएफ, सुदूरपश्चिम र प्रदेश १ अन्तिम चारमा

त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अव सेनाले सुदूरपश्चि प्रदेश संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले प्रदेश २ लाई २ – ० को नै जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

यस्तै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश ५ लाई २ – ० ले पाखा लगाउँदै प्रदेश १ संगको भेट पक्का गरेको हो । प्रदेश १ ले गण्डकी प्रदेशलाई २ – ० को जित निकाल्दै सेमिमा प्रवशे गरेको हो ।

 

बक्सिङ : माला र विमला फाइनलमा

बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् ।

बांकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ की रोशिना लावतीलाई रेफ्रि स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । यस्तैगरी अर्मीकी विमलाले पनि प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले पराजित गरिन् ।

यसैगरी वेल्टर वेट अन्तर्गत महिला ६४ केजी तौल समूहको खेलमा आर्मीकी पूनम रावलले प्रदेश १ की तृषा जागेबु लिम्बूलाई आरएससीको आधारमा हराउंदै फाइनलमा प्रवेश गरिन् । सोही तौलको अर्को सेमिफाइनलमा एपीएफकी बिनिता थापा मगरले पनि प्रदेश ५ की माया चौधरीलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै फाइनलमा पूनमसंग भेट पक्का गरिन् ।       

त्यसअघि आइतबारै भएको क्वाटरफाइनल खेलहरुमा जित हासिल गर्दे प्रदेश ३ की शिवानी श्रेष्ठ र नेपाल पुलिसकी निशा तामाङले पनि सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् ।

बेन्टम वेट क्याटोगोरी अन्तर्गत महिला ५४ केजी तौल समूहको खेलमा शिवानीले प्रदेश ५ की सुष्मा पुनलाई अंकको आधारमा ४–१ ले हराइन् । त्यसैगरी निशाले पनि प्रदेश ७ की हरिना अएरलाई अंकको आधारमा ५–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिन् । सोही तौलको अर्को क्वाटरफाइनलमा एपीएफकी सन्जुमाया थिङले प्रदेश ४ की जोशिका श्रेष्ठलाई नकआउटको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् ।

यसैगरी महिला फेदरवेट अन्तर्गत ५७ केजी तौल समूहको क्वाटरफाइनलमा नेपाल आर्मीकी चन्द्रकला थापा, एपीएफकी माया चौधरी, प्रदेश ७ की भावना ऐरी र प्रदेश १ की दिया लिम्बुले सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । चन्द«कलाले प्रदेश ३ की कुसुम तामाङलाई यूनानिमोस डिसिजनको आधारमा पाखा लगाउंदा मायाले प्रदेश ४ की माया गुरुङलाई एबीडी कन्टेस्ट तथा भावनाले प्रदेश ६ की राधा बिकलाई रेफ्रि स्टप कन्टेस्टको आधारमा हराइने । सोही तौलको अर्को खेलमा दियाले प्रदेश ५ की लक्ष्मी घर्तीमगरलाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

यसैगरी महिला ६० केजी तौल समूहको सेमिफाइनलमा प्रदेश ५ की संगीता दंगाल, प्रदेश ७ की संगिता चौधरी र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्थान पक्का गरिन् । संगीताले प्रदेश ६ की रिता बिकलाई अंकको आधारमा ४–१ ले हराउंदा चौधरीले प्रदेश ४ की अस्मिता बस्नेतलाई आरएससी आधारमा पराजित गरिन् । यस्तै सबिनाले प्रदेश १ की रञ्जिता मगरलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै अन्तिम चारमा प्रवेश गरिन् ।

 

फेन्सिङमा आर्मी च्याम्पियन

चौथो राष्ट्रिय फेन्सिङमा आर्मी टिम च्याम्पियन बनेको छ। ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बन्यो। दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो। ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो।

प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले  २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुंगाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले पुरस्कृत गरे।

नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell