इन्डियन प्रिमियर लिग २०१९ अन्तर्गत आइतवार भएको पहिलो खेलमा शीर्ष स्थानको चेन्नाई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ।
सातौँ जितपछि चेन्नाईले ८ खेलबाट १४ अंक जोड्दै प्लेअफ यात्रा सहज बनाएको छ। उता कोलकताको भने यस सिजन यो चौथो हार हो। यस्तै चेन्नाई विरुद्ध खेलेको दुवै खेलमा कोलकता पराजित भएको हो। कोलकताले यस सिजन दिल्ली क्यापिटल्स विरुद्ध पनि खेलेको दुवै खेल हारिसकेको छ।
हारपछि पनि कोलकता दोस्रो स्थानमा यथावत नै छ। ८ खेलबाट ८ अंक जोडेको कोलकताले रनरेटमा मुम्बई, दिल्ली र पञ्जावलाई समान अंक भएपनि रनरेटमा पछि पारेको हो।
क्रिस लिनले अर्धशतक छायाँमा पार्दै सुरेश रैनाले अर्धशतक प्रहार गरेपछि चेन्नाईले कोलकताले दिएको १६२ रनको लक्ष्य १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
रैनाले ४२ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा नटआउट ५८ रन बनाए। यस्तै रविन्द्र जडेजाले १७ बल खेल्दै ५ चौकाको मद्दतमा नटबउट ३१ रन बनाए। यस्तै फाप डु प्लेसिसले २४ तथा केदार जादवले २० रन बनाए।
कोलकताका सुनिल नारिन र पियुष चावलाले २-२ विकेट लिए। नारिनले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चे।
त्यसअघि घरेलु मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गर्को कोलकताले लिनको ८२ रन मद्दतमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो।
लिनले ५१ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे। यस्तै नितिश रानाले २१ तथा कप्तान दिनेश कार्तिकले १८ रन जोडे। यसअघिका खेलहरुमा आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले ४ बलमा १० रन मात्र बनाए।
चेन्नाईका इमरान ताहिरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। यस्तै शार्दुल ठाकुरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।