PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

यू १९ विश्वकप छनोट : नेपालको दोस्रो जित



पहिलोपोस्ट

यू १९ विश्वकप छनोट : नेपालको दोस्रो जित
नेपालका लागि नटआउट ३९ रन बनाएका रित गौतम, फाइल फोटो

काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालले दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर रित गौतमले नटआउट ३९ रन बनाए। त्यसअघि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि मलेसिया ९२ रनमै अलआउट भएको थियो। पवन सर्राफले ३ विकेट लिनुका साथै १९ रन जोडे।

आजै भएको अर्को खेलमा युएईले कुवेतलाई ७ विकेटले पराजित गरेको छ। लगातार तेस्रो जितपछि युएई ६ अंकका साथ अंकतालिकामा शीर्ष स्थानमा छ। नेपाल (दुई जित, एक हार) ४ अंकका साथ दोस्रो स्थानमा रहँदा ४ अंक नै रहेको कुवेत तेस्रो स्थानमा छ।

६ टोली सहभागि छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ। त्यसैले छनोटको प्रत्येक खेल महत्वपूर्ण छ। एक खेल हारिसकेको नेपालको लागि विश्वकप पुग्ने सम्भावना युएईसँग हारपछि केही कमजोर बनिसकेको छ।

नेपालले अब कुवेत र ओमानसँग खेल्न बाँकी छ भने युएईले ओमान र सिंगापुरसँग खेल्न बाँकी छ। नेपाल भन्दा युएईको २ अंक बढि छ। त्यसैले नेपालले विश्वकपमा स्थान बनाउन आफ्नो बाँकी दुवै खेल जित्नुपर्ने छ नै युएईले एक खेल हार्नैपर्नेछ। तर ओमान र सिंगापुर तुलनात्मक रुपमा कमजोर टोली रहेकाले युएईलाई विश्वकप पुग्न नेपालको भन्दा सहज अवस्था छ।

 

नेपाली स्पिनरको उत्कृष्ट बलिङ

स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ३३.५ ओभरमा ९२ रनमा अलआउट भयो। पवन सर्राफको नेतृत्वमा रहेको नेपाली स्पिनरले कूल ७ विकेट लिए। पवनले ८.५ ओभरमा १ ओभर मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए। यस्तै कुशल मल्लले ८ ओभरमा २ ओभर मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए। अर्का स्पिनर सागर ढकाले ८ ओभरमा १ ओभर मेडन राख्दै १९ रन खर्चेर १ विकेट लिए।

फास्ट बलर कमल सिंह ऐरीले ५ ओभरमा १ ओभर मेडन राख्दै २२ रन खर्चेर २ विकेट लिए। उनले इनिङ्सको पहिलो ओभरमै मेडन राख्दै  विकेट लिएका थिए।

घरेलु टोली मलेसियाका लागि लेजन डानिएल फिग्रीले सर्वाधिक ३७ रज बनाए। यस्तै कप्तान मुहम्मद अमिरले १३ तथा विकेटकिपर हाकिम हरिसनले १० रन जोडे। बाँकी ८ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

९३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटका लागि रित गौतम र पवन सर्राफले ४२ रनको साझेदारी गरे।

पवन छैटौँ ओभरमा १९ रन बनाएर आउट भए। १४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। त्यसपछि रितले दोस्रो विकेटका लागि आसिफ शेखसँग ४६ रनको साजेदारी गरे। आसिफले १८ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए।

ओपनर रितले नटआउट ३९ रन प्रहार गर्दै नेपाललाई जितसम्म पुर्‍याए। कप्तान रोहित कमुमार पौडेलले १३औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताए।

रितले ४५ बल खेल्दै ५ चौकाको मद्दतमा नटआउट ३९ रन योगदान गरे।

पवन सर्राफ म्यान अफ दि म्याच घोषित भए।

 

युएईको लगातार तेस्रो जितमा कप्तान आर्यन लाक्राको ५ विकेट

कप्तान आर्यन लाक्रा बलिङमा चम्केपछि युएईले कुवेतलाई ७ विकेटले पराजित गरेको छ। लगातार ३ जितपछि युएई ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ र विश्वकप पुग्ने सम्भावना बलियो बनाएको छ। यसअघि दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको कुवेत युएई सामु भने निरिह बन्यो।

सेलेङ्गार टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत २६ ओभरमै ५६ रनमा अलआउट भयो। कुवेतलाई कम स्कोरमा अलआउट गर्न युएईका स्पिनरहरु हावी बने। सबै १० विकेट युएईका स्पिनरहरुले लिए।

युएईका कप्तान आर्यनले १० ओभर बलिङ गर्दै २ ओभर मेडन रखेर २२ रन खर्चेर ५ विकेट लिए।

यस्तै मुहम्मद फाराजुद्दिनले ८ ओभरमा ३ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए भने केपी मेइयाप्पनले ७ ओभरमा २ ओभर मेडन राख्दै १७ रन खर्चेर २ विकेट लिए।

आजै सिंगापुर र ओमानबीच पनि खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको ओमानले यो समाचार तयार पार्दासम्म ४७ ओभरमा २२८-९ बनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell