
अमेरिकी गल्फर टाइगर उड्सले २०१९ को मास्टर गल्फको उपाधि जितेका छन्।
खेलकुद इतिहासमै ठूलो पुनरागमनको रुपमा लिइएको यस उपलब्धी उड्सले ११ वर्षपछि हात पारेका हुन्।
सन् २००८ पछि पहिलो मेजर गल्फ उपाधि जित्ने क्रममा टाइगर उड्सले १३ अन्डर २७५ स्कोर गरे। अमेरिकाको जर्जियास्थित अगस्टा नेशनलमा भएको यस स्पर्धामा उड्सले अमेरिकाकै डस्टिन जोहनसन, ब्रुक्स कोएप्का र जेन्डर स्काउफेले लाई १ स्ट्रोकले पछि पारे।
उनले पछिल्लो पटक २००८ मा युएस ओपन जितेका थिए। १० वर्ष ९ महिना २९ दिन (३ हजार ९५४ दिन) पछि उड्सले पहिलो पटक उपाधि जित्दा विश्व खेलकुद जगतमा यसलाई उत्कृष्ट पुनरागमनको रुपमा हेरिएको छ। ४३ वर्षीय उड्सले आफ्नो २२ वर्षे गल्फ करियरमा विभिन्न किसिमका उतारचढावको सामना गरे। सेक्स स्क्यान्डल र चोटसँग संघर्ष गर्दै पुन: गल्फ कोर्समा फर्कँदै उनले यो सफलता हात पारेका हुन्।
उड्सको यो पाँचौ मास्टर गल्फ उपाधि हो। सन् १९९७ मा पहिलो पटक यस प्रतियोगिता जितेका उड्सले २००१, २००२ र २००५ मा पनि यो उपाधि जितेका थिए।
समग्रमा भने उड्सको यो १५औँ गल्फ उपाधि हो। उनले पिजिए च्याम्पियनसिप ४ पटक, दि ओपन च्याम्पियनसिप र युएस ओपन ३-३ पटक जितेका छन्। उनले सन् २००० मा गल्फको मुख्य चार प्रतियोगिता जितेर गल्फ ग्राण्ड स्लान जितेका थिए।
टाइगर उड्सले यस सिजन जितेको गल्फ उपाधि खेलकुद पोशाक निर्माण कम्पनी नाइकको लागि २२ मिलियन जितको रुपमा समेत हेरिएको छ।