PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

रिपोर्ट कार्डमा महानिरीक्षक खनालको एक वर्ष : भिआइपीको पिएसओ फिर्तादेखि ४ हजार ४ सयको बढुवासम्म



सविन ढकाल

रिपोर्ट कार्डमा महानिरीक्षक खनालको एक वर्ष : भिआइपीको पिएसओ फिर्तादेखि ४ हजार ४ सयको बढुवासम्म

काठमाडौं : सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्। 

खनालले एक वर्षमा विगत केही वर्षदेखि रोकिएको सरुवा, बढुवा, अभिवृद्धि विकास, सीमा सुरक्षामा प्रगति, अवैध सामानको पैठारी तथा निकासीमा कडाइ लगायत काममा सफलता हात पारेको दाबी गरे। सोमबार प्रहरी प्रधान कार्यालय हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले संगठन चेन अफ कमाण्डमा चलिरहेको बताए।

उनले भिआइपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता बोलाइसकेको महानिरीक्षक खनालले दाबी गरे। गृह मन्त्रालयको जिम्मेबारी सम्हालेदेखि नै गृहमन्त्री रामबहादुर थापाले विशिष्ट व्यक्तिको सुरक्षा खटिएका अनावश्यक सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेका थिए। 

'हामीले नीतिभन्दा बाहिर रहेरका भिआइपीहरुको सुरक्षाकर्मी फिर्ता बोलाइसकेका छौं,' महानिरीक्षक खनालले भने।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा चुनौती बढ्दै गएपछि तराईका जिल्लामा बिओपी (बोर्डर आउट पोस्ट) समेत थप गरेको छ। यस वर्षमात्र तराईका जिल्लामा १९ वटा बिओपी थप गरेको हो। अहिले देशभर ८७ बाट बढेर १०६ वटा बिओपी रहेका छन्। 'सीमा सुरक्षालाई ध्यानमा राखेर बिओपी थप गरिएको हो। अरु २ वटा थप्ने तयारीमा छौं,' महानिरीक्षक खनालले भने।

सशस्त्र प्रहरीले तराईमा हुने सुरक्षा चुनौतीलाई ध्यान दिँदै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाएको छ। त्यहाँ रहेको ९ हजार सशस्त्र प्रहरीको सङ्ख्या १५ हजार पुर्या इएको महानिरीक्षक खनालले बताए। प्रहरीले ५ वटा बाहिनी थप गरेर ८ वटा पुर्याएको छ। २७ गणमा ९ वटा थप गरी ३६ बनाइएको छ। ३८ गुल्महरुमा १८ वटा थप गरेर ५६ वटा स्थानमा गुल्म बनाएको महानिरीक्षक खनालले जानकारी दिए।

सीमा सुरक्षाको विषयलाई लिएर नेपाल र भारतका सुरक्षा निकायबीच ४८ पटक बैठक भएका छन्। आइजीस्तरीय एक पटक र डिआइजीस्तरीय चार पटक बैठक भएका छन्।

देशभर सशस्त्र प्रहरीको १८ सय ३४ वटा चेक प्वाइन्ट, पिकेट, गस्तीमा दैनिक १३ हजार ७४५ जना प्रहरी परिचालन हुने गरेको छ। सशस्त्र प्रहरीले एक वर्षभरिमा विभिन्न अभियोगमा ६ सय ८६ जनालाई पक्राउ गरेको महानिरीक्षक खनालले जानकारी दिए। २८ वटा हतियार समेत बरामद गरिको छ।

एकवर्षमा ४ हजार ४ सय ३६ प्रहरीको बढुवा गरिएको छ। त्यसमा संगठन विपरीत कार्य गर्ने ५ सय ४८ प्रहरीलाई कारबाही समेत भएको प्रहरीको तथ्याङकले देखाउँछ।

'छैन कुनै गुटबन्दी'
सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनभित्र कुनै पनि गुटबन्दी नभएको दाबी गरेका छन्। 

केही समयदेखि संगठनमा गुटबन्दी रहँदा चेन अफ कमाण्ड, सरुवा बढुवा लगायतमा प्रभाव परेको खबर आएपछि महानिरीक्षक खनालले खण्डन गरेका हुन्। 

महानिरीक्षक खनालले भने, 'खै हामी यहाँ सबै छौं त कहाँ गुटबन्दी भएको छ? केही पनि भएको छैन। सबै, चेन अफ कामण्डमा नै चलेको छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell