
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीले ४ स्वर्ण जितेको छ।
सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीका सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए। पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन् भने पुरुष ९१ केजीभन्दा माथिको तौल समूहको उपाधि भिडन्तमा प्रदेश ३ का सनी जुवाले पहिलो राउण्डमा खेल परित्याग गरेपछि आशिषले स्वर्ण चूमे।
त्यसैगरी महिला ५१ केजीको फाइनलमा नेपाल आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई स्प्लिट निर्णयको आधारमा पराजित गर्दै स्वर्ण हात पारिन्। पूनमले पनि एपीएफकी विनिता थापा मगरलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण चुमिन्।
सोमबारै सम्पन्न पुरुष ५२ केजीको सेमीफाइनलमा सफलता हात पार्दै एपीएफका विक्रम परियार र आर्मीका तेज बहादुर देउबाले फाइनलमा भेट पक्का गरेका छन्। पुरुष ५६ केजी तौल समूहको फाइनलमा भने एपीएफका पूरन राई र प्रदेश १ का सुरेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन्। पुरुष ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बु इजम र आर्मीका एक बहादुर घले फाइनलमा प्रवेश गरेका छन्।