
काठमाडौँ : प्रदेश नम्बर ५ मा भइरहेको आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले पहिलो स्वर्ण जितेको छ। पहिलो पटक राष्ट्रिय खेलकदुमा सहभागिता जनाएको एनआरएनएका लागि लनटेनिसमा संरषणभुषण बज्राचार्यले पुरुष एकलमा स्वर्ण जितेका हुन्।
यस्तै छैटौँ दिन आर्मीले विभिन्न खेलमा वर्चस्व राख्यो। आर्मीले जुडो र बक्सिङमा छैटौँ दिन स्वर्ण थप्यो। यस्तै लनटेनिसमा संरक्षणले जितेको बाहेक बाँकी स्पर्धामा एपीएफले स्वर्ण जित्तै टिम च्याम्पियन बन्यो।
एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिक्स युगल र पुरुष टिम इभेन्ट्समा स्वर्ण जितेको हो।
संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण
बुटवल : आठौं राष्ट्रिय खेलकुदमा गैरआवसिय नेपाली संघ (एनआरएनए) ले पहिलो स्वर्ण जितेको छ। आठौँ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण बज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन्।
बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए।
महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन्। फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–०, ६–२ को सेटमा सहजै हराइन्। आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए।
स्क्वास अपराजित कृष्णाले जितिन् स्वर्ण
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन्।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन्। ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए।
पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापा मगर च्याम्पियन बनिसकेका छन्। विपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेश्रो भए। दुवै प्रदेश ३ का हुन्।
पुरुष टिममा प्रदेश ३ पहिलो भयो। फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो। प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए।
साइक्लिङ क्रस कन्ट्रीमा ओकेश र लक्ष्मीलाई स्वर्ण
नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको क्रस कन्ट्रीमा पुरुषतर्फ ओकेशराज बज्राचार्य र महिलातर्फ लक्ष्मी मगरले स्वर्ण जितेका हुन्।
बाँकेको बैजनाथ गाउँपालिका गाभरमा भएको प्रतियोगितामाआर्मीका ओकेशले ४.६ किलोमिटरको ५ ल्याप १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे।
त्यस्तै आर्मीकै हिमाल टमाटाले १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते। गण्डकी प्रदेशका हिक्मत विकले १ घण्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पूरा गरे।
यस्तै प्रदेश ३ की लक्ष्मीले महिलातर्फ ४.६ किलोमिटरको ४ ल्याप १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन्।
दोस्रो हुँदै रजत जितेकी प्रदेश १ की उषा खनालले निर्धारित दूरी १ घण्टा ३३ मिनेट ३८ सेकेन्डमा पूरा गरिन्। प्रदेश तीनकी निर्जला ताम्राकार १ घण्टा ३५ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन्।
एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए।
जुडो : दोस्रो दिन आर्मीलाई पाँच स्वर्ण
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १६औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ। दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते।
पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए। सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे। ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते। फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए। १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले आर्मीका रमेशबहादुर चन्दलाई पाखा लगाउदै स्वर्ण जिते।
महिला ७८ केजीमुनि आर्मीकी आकृति जोशी, ५२ केजीमुनि एपीएफकी देविका खड्का, ६३ केजीमुनि आर्मीकी निर्मला घर्ती मगर र ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भए। फाइनलमा आकृतिले प्रदेश ५ की दीपा गुरुङ, देविकाले प्रहरीकी दिलकुमारी छन्त्याल, निर्मलाले प्रहरीकी रेणुका थापा र पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई पाखा लगाए।
बक्सिङ : नेपाल आर्मीलाई ४ स्वर्ण
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीले ४ स्वर्ण जितेको छ।
सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीका सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए। पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन् भने पुरुष ९१ केजीभन्दा माथिको तौल समूहको उपाधि भिडन्तमा प्रदेश ३ का सनी जुवाले पहिलो राउण्डमा खेल परित्याग गरेपछि आशिषले स्वर्ण चूमे।
त्यसैगरी महिला ५१ केजीको फाइनलमा नेपाल आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई स्प्लिट निर्णयको आधारमा पराजित गर्दै स्वर्ण हात पारिन्। पूनमले पनि एपीएफकी विनिता थापा मगरलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण चुमिन्।
सोमबारै सम्पन्न पुरुष ५२ केजीको सेमीफाइनलमा सफलता हात पार्दै एपीएफका विक्रम परियार र आर्मीका तेज बहादुर देउबाले फाइनलमा भेट पक्का गरेका छन्। पुरुष ५६ केजी तौल समूहको फाइनलमा भने एपीएफका पूरन राई र प्रदेश १ का सुरेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन्। पुरुष ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बु इजम र आर्मीका एक बहादुर घले फाइनलमा प्रवेश गरेका छन्।
ब्याडमिन्टन : टिम ईभेन्ट्समा महिलातर्फ एपीएफ र पुरुषतर्फ सेनालाई स्वर्ण
महिला टिम ईभेन्ट्समा एपीएफले स्वर्ण हात पार्यो। एपिएफले सेनालाई २– १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो। सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए। सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २– ० को सोझो सेटमा पराजित हुंदै तेश्रो स्थानमा खुम्चिन बाध्य भयो।
पुरुष टिम ईभेन्ट्स तर्फ सेनाले निकै कठिनका साथ स्वर्ण हात पार्न सफल भयो। सेनाले एपिएफलाई ३– २ ले पराजित गर्दै स्वर्ण हात पारेको हो।
टिम ईभेन्ट्सको पुरुष एकल तर्फ राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ्खलाई एपिएफका दिपेश धामीले २१-११, २१-१२ अंकका साथ सहज पराजित गर्दै खेललाई १-० को अग्रता दिलाए। एक गेमको अग्रता लिएको एपिएफका सुदीप सेढाईलाई सेनाका नविन श्रेष्ठले पराजित गर्दै खेल एक एक को बराबरीमा ल्याए। खेललाई आफ्नो पक्षमा पार्ने क्रममा एपिएफका गौतम कठायतले पुन सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै खेललाई २-१ मा पुर्याए। पुनः पुरुष एकलमा हार ब्यहोरेका रत्नले नविन श्रेष्ठ संग मिलेर टिम ईभेन्ट्सकै पुरुष जोडीमा एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडीलाई पराजित गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। अन्यमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेढाईको जोडीलाई पराजित गर्दै ३-२ सेटका साथ सेनाका लागि स्वर्ण जोडे।
पुलिस र सुदूर पश्चिम पुरुष टिम ईभेन्ट्स तर्फ संयुक्त रुपमा तेश्रो स्थानमा रहे। एपिएफले सेमिफाईनलमा पुलिसलाई ३– ० को सोझो सेटले पराजित गरेको हो। यस्तै सेनाले सुदूरपश्चिमलाई ३– १ ले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१-१८, २१-१४ ले पाखा लगाउँदै फाईनल प्रवेश गर्ने आशा दिलाएता पनि अन्य खेलाडीहरुले दाहालको लयलाई समात्न नसकेका कारण सेनालाई जित सुम्पना बाध्य भयो।
घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्ण बहादुर बोहराले प्रदेश ३ का भोज बहादुर गुरुङ्खलाई २१-१३, २१-१२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन्। यस्तै प्रदेश ५ का बिश्व नेपाल र पुलिसका जिवन आचार्यको जोडी पनि दोश्रो चरण प्रवेश गर्न सफल भए। बिश्वले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११-२१, २१-१३, २१-६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१-७, २१-११ ले पराजित गरे।
गल्फ
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ। इन्डिभिज्योलतर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन। उनले सानदार सुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारेका हुन्। टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पुरा गरे। शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा रहेकाछन।युवा खेलाडी सुबाष तामाङ र अजित बिके १ ओभर ७३ अंककासाथ संयुक्तरुपमा तेस्रो स्थानमा रहे।
महिलातर्फ १६ ओभर ८८ अंककाससथ प्रतिभा राई शीर्षस्थानमा रहदा कशमिरा शाहलाई ५ स्ट्रोकलेपछि पारिन्। टिम ईभेन्टसमा प्रदेश एक १४४ अंक सहित पहिलो स्थानमा र सेना १५० अंककासाथ दोस्रोस्थानमा रहेका छन। तीन दिनदम्म चल्ने प्रतियोगितामा ३४ पुरूष र ६ महिलागरी कुल ४८ खेलाडीको सहभागिता रहेको छ। दुई महिला खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।