
लसिथ मालिंगाको ४ विकेट र हार्दिक पाण्ड्याको आक्रमक ब्याटिङको मद्दतमा मुम्बई इन्डियन्सले आइपीएल २०१९ मा रोएल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ।
जितपछि ८ खेलबाट १० अंक जोडेको मुम्बई अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।
दिल्ली क्यापिटल्सको पनि समान १० अंक रहे पनि रनरेटमा दिल्ली अगाडि छ।
यस सिजन सातौँ हार बेहोरेको बैंगलोर भने ८ खेलबाट २ अंकका साथ पुछारमा छ।
घरेलु मैदानमा मुम्बईले १७२ रनको लक्ष्य १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
मुम्बईका लागि क्वेन्टन डे ककले सर्वाधिक ४० रन बनाए। यस्तै हार्दिक पाण्ड्याले १६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा नटआउट ३७ रन बनाए।
बैंगलोरका युजभेन्द्र चाहाल र मोइन अलीले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले एबी डेभिलियर्स र मोइन अलीको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो। तेस्रो विकेटका लागि यी दुईले ९५ रनको साझेदारी गरे। डे भिलियर्सले सर्वाधिक ७५ तथा अलीले ५० रन बनाए।
मुम्बईका लागि मालिंगाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।