
पेरिस: फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो चर्चमा आगलागी भएको छ।
जीर्णोद्धारको कार्य भइरहेको ऐतिहासिक 'नोट्र डाम क्याथेड्रल' चर्च मा आगलागी भएको हो। जीर्णोद्धार गर्ने क्रममा नै आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
सोमबार अपराह्नबाट लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। चर्च वरिपरिका भवनहहरु खाली गराइएको छ भने व्यापक संख्यामा उद्धार टोली परिचालन गरिएको छ। हालसम्म एक जना व्यक्ति घाइते भएको बताइएको छ।
आगलागीबाट चर्चको छानो खसेको छ भने काठका हस्तकलाहरू नष्ट भएको बताइएको छ। चर्चको मुख्य भवन र घन्ट झुण्याइएको दुई टावर भने आगोबाट सुरक्षित रहेको जनाइएको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले क्याथेड्रल चर्चको भ्रमण गर्दै यस घटनालाई 'भयानक त्रासदी' भन्दै दु:ख व्यक्त गरेका छन्। चर्च सबै फ्रान्सेलीहरुको भएको भन्दै उनले पुनर्निर्माणका लागि आग्रह गरेका छन्। यस्तै उनले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि समेत आह्वान गरेका छन्।
यसैबीच फ्रान्सका अर्वपति फ्रान्कोइस हेनरी पिनअउल्टले चर्च पुनर्निर्माणका लागि १०० मिलियन युरो सहयोग गर्ने घोषणा गरेका छन्।
आगो नियन्त्रणको प्रयास भइरहँदा क्याथेड्रल सडकमा हजारौँ मानिस भेला भई मौनधारण गरेका छन्। चर्च बाहिर उपस्थित धेरै मानिस रोइरहेको र प्रार्थना गरिरहेको बताइएको छ।
क्याथोलिकहरुले होली विक 'पवित्र सप्ताह' मनाइरहँदा भएको यस घटनामा दु:ख जनाउँदै पेरिसमा रहेका अन्य चर्चहरुमा घन्ट बजाइएको छ।
क्याथेड्रल चर्चमा भएको आगलागीप्रति दु:ख व्यक्त गर्न विश्वभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।