काठमाडौँः सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशविरुद्ध पाँचवटा नै उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिमा उजुरी दिने क्रम सोमबार सकिएको छ। तोकिएको समयभित्र पाँच उजुरी परेका हुन्।
पाँच उजुरीमध्ये तीन व्यक्तिगत र दुई सैद्धान्तिक विषयमा केन्द्रित छन्।
प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरेर उजुरी दिइएको छ। प्रस्तावित न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र हरिप्रसाद फुँयालविरुद्ध व्यक्तिगत उजुरी छन्। ढुङ्गानाविरुद्ध २ र फुँयालविरुद्ध एक उजुरी परेको छ।
सर्वोच्चमा सिफारिसप्रति निकै आलोचना गरिएका प्रस्तावित न्यायाधीश मनोजकुमार शर्माविरुद्ध समितिमा कुनै पनि उजुरी परेका छैनन्। सिफारिसमा परेका सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध पनि उजुरी परेका छैनन्।
के छ उजुरीमा?
ढुङ्गानाविरुद्धका दुबै उजुरी न्याय सम्पादनका विषयमा केन्द्रित छन्। उच्च अदालतमा उनले गरेका आदेश त्रुटिपूर्ण रहेको भन्दै दुई उजुरी परेका छन्। एक उजुरी भने बढुवा विवादमा ढुङ्गानाले गरेको आदेशबारे न्याय सेवाकै पूर्व कर्मचारीले गरेका छन्।
यस्तै फुयाँलको नियुक्तिलाई ‘राजनीतिक’ भनेर उजुरीमा टिप्पणी गरिएको छ। फुयाँलको पेशाको निरन्तरता र योग्यतामा पनि प्रश्न गरिएको छ।
अन्य तीन उजुरी भने सैद्धान्तिक विषयमा केन्द्रित छन्। वरिष्ठ अधिवक्ता शम्भु थापासहितले न्यायाधीश नियुक्तिको प्रक्रिया, विधि र मापदण्डमै प्रश्न उठाएका छन्। समावेशी सिद्धान्त पालना नभएको तथा नियुक्ति प्रक्रिया स्पष्ट मापदण्डमा आधारित नभएको भन्दै अन्य उजुरी दर्ता भएका छन्।