PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

यू-१९ विश्वकप छनोट : नेपालको तेस्रो जित



पहिलोपोस्ट

यू-१९ विश्वकप छनोट : नेपालको तेस्रो जित

काठमाडौँ : कप्तान रोहित पौडेल, भीम सार्की र प्रतीष जिसीको उत्कृष्ट ब्याटिङ अनि स्पिनरहरुको उत्कृष्ट बलिङपछि आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालले ओमानलाई फराकिलो रन अन्तरले पराजित गरेको छ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७९ रनमा अल आउट भयो। ४४ ओभरसम्म क्रिजमा टिके पनि नेपाली बलरहरुको कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा ओमानले धेरै रन बनाउन सकेन र ४४.१ ओभरमा अलआउट भयो।

ओमानका ९ खेलाडीले दोहोरो अंक छुन सकेनन्। ओमानका लागि अमनप्रित सिरहले १३ र जिन तन्ना १३ रनमा नटआउट रहे।

नेपालको लागि पवन सर्राफले १० ओभरमा २ ओभर मेडन राख्दै २४ रन खर्चेर ३ विकेट लिए। सूर्य तामाङले ९ ओभरमा ४ ओभर मेडन राख्दै ११ रन खर्चेर २ विकेट लिए। प्रतीष जिसीले ७.१ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।

यस्तै कुशल मल्लले १० ओभरमा २ ओभर मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिए। ३६औँ ओभरमा बलिङ सुरु गरेका कमल सिंह ऐरीले ३ ओर बलिङ गर्दा ३ ओभर नै मेडन राखेर १ विकेट लिए।

त्यसअघि सेलेङ्गार टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक (७५ रन) र प्रतीष जिसीको विष्फोटक ब्याटिङको मद्दतमा २२९ रन बनाएको थियो।

रोहित, प्रतीषले उत्कृष्ट ब्याटिङ गरे पनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा नेपाल ४३.२ ओभरमै अलआउट भएको थियो।

नेपालको लागि कप्तान रोहितले ८१ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन बनाए। दशौँ नम्बरमा ब्याटिङ गरेका प्रतीषले ४१ रन योगदान गरे। भीम सार्कीले ३९ रन जोडे।

८१ रनमा ५ विकेट गुमेको अवस्थामा रोहितले भीमसँग मिलेर छैटौँ विकेटका लागि ९२ रनको साझेदारी गरे। भीमले ४३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३९ रन बनाएका हुन्। रोहित र भीमको विकेट गएपछि क्रिजमा पुगेका कुशल मल्ल (२) र कमल सिंह ऐरी (१) पनि लगत्तै आउट भए।

१७८ रन हुँदा ९ विकेट गुमाएको नेपालको स्कोर उकास्ने क्रममा दशौँ नम्बरमा ब्याटिङ गरेका प्रतीषले ४१ रनको महत्वपूर्ण पारी खेले। उनले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे। दशौँ विकेटका लागि प्रतीषले सूर्य तामाङसँग नटआउट ५१ रनको साझेदारी गरे। सूर्य ७ रनमा नटआउट रहे।

ओमानका लागि मुजाहिर राजा, सन्जय रवीन्द्र, अजम अली र जिल तन्नाले २-२ विकेट लिए।

 

युएईको लगातार चौथो जित

आजै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ९ विकेटले पराजित गर्दै लगातार चौथो जित हात पारेको छ। सिंगापुरले दिएको १३५ रनको लक्ष्य युएईले २६.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो। युएईका लागि कप्तान आर्यन लाक्राले नटआउट ५६ रन बनाए। यस्तै सायद हैदरले ३३ रन बनाए भने भि अरविन्दले नटआउट ३६ रन जोडे।

त्यसअघि बायुमास ओभरमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो। सिंगापुरका लागि राओउल शर्माले सर्वाधिक ४१ रन बनाए। उनी रिटायर्ड हर्ट भएका थिए। सिंगापुरलाई कम स्कोरमा रोक्न युएईका महुम्मद फाराजुद्दिनले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए। यस्तै कप्तान आर्यन लाक्राले २ विकेट लिए।

छनोटमा अपराजित रहने एक मात्र टोली युएईले ४ खेलबाट ८ अंक जोडेको छ र अर्को वर्ष विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। युएईले अब अन्तिम लिग खेलमा ओमानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell