PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'गुग्ली ब्वाए' सन्दीपको ३ वर्षे क्रिकेट यात्रा, उपलब्धी १०७ विकेट



पहिलोपोस्ट

'गुग्ली ब्वाए' सन्दीपको ३ वर्षे क्रिकेट यात्रा, उपलब्धी १०७ विकेट

काठमाडौँ : सन्दीप लामिछानेले नेपालको सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेको आज तीन वर्ष पूरा भएको छ। आज भन्दा ठीक तीन वर्षअघि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल ग्राउण्डमा वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिपमा नामिबिया विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका थिए।

यस अवधीमा सन्दीपले विश्वका धेरै मैदानमा खेले। धेरै स्टार खेलाडीसँग, धेरै स्टारको विकेट लिए। नेपाललाई पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सहयोग गरे। अनि नेपालको पहिलो एकदिवसीय श्रृंखला र टी २० अन्तर्राष्ट्रिय श्रृंखला जिताउन पनि सहयोग गरे।

पछिल्लो समय नेपाली क्रिकेटको स्टार छवी बनाएका उनी पोस्टर ब्वाएकै रुपमा छाएका छन्।

विश्वकै चर्चित र ग्लामरस टी २० लिग आइपीएलमा गत सिजन खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीपले एक वर्ष भित्रमै लगभग सबै फ्रेन्चाइज्ड टी २० लिग खेले। आफ्नो गुग्लीमा ठूला ब्याट्सम्यानलाई समेत छक्काए।

तीन वर्षे क्रिकेट करियरमा सन्दीपले अष्ट्रेलियादेखि बेलयातको लर्ड्स मैदानसम्म आफ्नो बलिङ जादू देखाइसकेका छन्। उनले टी २० करियरमा केही दिनअघि मात्र ५० विकेट पूरा गरेका छन्। यस्तै लिस्ट ए मा ५७ विकेट लिइसकेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय, टी २० अन्तर्राष्ट्रियसहित सबैखाले प्रतियोगितामा गरी सन्दीपले १०७ विकेट लिएका छन्।

नेपालको लागि डेब्यू गरेको तीन वर्ष पूरा हुँदा सन्दीपले पनि यसलाई विशेष दिनको रुपमा लिएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्दै आजको दिन आफ्नो मुटुमा विशेष दिनको रुपमा रहने उल्लेख गरेका छन्।

उनले आफ्नो जर्सीको पछाडि सन्दीप अनी २५ नम्बर हुनुले एकदमै गर्व लाग्ने जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell