PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आठौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा एक खेल अगावै सुजनालाई स्वर्ण, सातौँ दिनपछि यस्तो छ पदक तालिका



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा एक खेल अगावै सुजनालाई स्वर्ण, सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल अगावै सुजनाले स्वर्ण पक्का गरेकी हुन्। सुजनाले नवौं चरणको खेल खेल्न बाँकी छ। अन्य पदकको भने टुंगो लाग्न बाँकी छ।

खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन्। प्रहरीका प्रहरीका मदनकृष्ण कायश्थको ६ अंक छ।

 

जुडो : मिक्स टिममा आर्मीलाई स्वर्ण

आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ। प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए।

एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए। त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो। स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो। आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए।

प्रहरी च्याम्पियन बन्यो। १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा प्रहरीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत  ४ कांस्य हात पार्‍यो। १ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पार्‍यो। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे।

 

सुष्मा र मिनुलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेकी छन्।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनलाई स्पिलिट निर्णयको आधारमा हराउंदै सुष्माले स्वर्ण चुमेकी हुन्। सोही तौल समूहमा नेपाल पुलिसकी दिवाना शेर्मा र प्रदेश १ की प्रतिभा श्रेष्ठले कांस्य पदक हात पारे।

यस्तै महिला ५४ केजीको फाइनलमा मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई यूनानिमोस निर्णयको आधारमा हराउंदै स्वर्ण जितिन्। सोही तौलमा एपीएफकी सन्जुमाया थिङ र प्रदेश ३ की शिवानी श्रेष्ठले कांस्य जिते।

पुरुषतर्फको ५६ केजीको फाइनलमा एपीएफका पूरन राईले स्वर्ण जिते । प्रदेश १ का सुरेन्द्र राईले इन्जुरीका कारण वाकओभर दिएपछि पूरनले स्वर्ण हात पारेका हुन्। सोही तौल समूहमा प्रदेश ७ का महेन्द्र चन्द र आर्मीका पूरन सुनुवारले संयुक्त रुपमा कांस्य जिते। पुरुष ५२ केजीको फाइनलमा एपीएफका विक्रम परियारलाई अंकको आधारमा हराउंदै आर्मीका तेज बहादुर देउवाले स्वर्ण जिते। सोही तौल समूहमा एनआरएनका प्रदिप घिमिरे र पुलिसका चन्द्रबहादुर थापाले कांस्य जिते । त्यसैगरी पुरुष ६४ केजीको सेमिफाइनलमा आर्मीका दान बहादुर दर्लामी र पुलिसका भूपेन्द्र थापामगर फाइनलमा प्रवेश गरेका छन्।

पुरुष ६९ केजी तौल समूहमा एपीएफका विकास लामा र प्रदेश ३ का मनिष डंगोलले फाइनलमा भिडन्त पक्का गरे । यसैगरी ७५ केजी तौलको फाइनलमा आर्मीका दिपक श्रेष्ठ र प्रदेश ३ का दिवसलाल भुमी फाईनल प्रवेश गरेका छन् । पुरुष ८१ केजी तौल समूहमा आर्मीका गणेश प्रधान र प्रदेश ६ का मनोहर बस्नेत फाईनल प्रवेश गर्न सफल भए । पुरुष ९१ केजीमा एपीएफका गोकुल गुरुङ र आर्मीका अर्जुन सिगु फाईनल प्रवेश गरेका छन्।

यसैगरी महिला ५७ केजीको फाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा र प्रदेश १ की दिया लिम्बूले भिडन्त पक्का गरिन्। मंगलबार भएको सेमिफाइनलमा चन्द्रकलाले एपीएफकी माया चौधरीलाई अंकको आधारमा हराउंदा दियाले पनि प्रदेश ७ की भावना ऐरीलाई अंककै आधारमा पराजित गरिन्।

यसैगरी महिला ६० केजी तौलको सेमिफाइनलमा जित हासिल गर्दै एपीएफकी संगीता सुनुवार र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्वर्णका लागि भेट पक्का गरे। संगिताले प्रदेश ५ की संगीता दंगाललाई एबीडीको आधारमा हराउंदा सबिनाले पनि प्रदेश ७ की संगीता चौधरीलाई एबीडीकै आधारमा हराइन्।

 

हक्की : प्रहरी र आर्मी फाइनलमा

आठौंअन्तर्गत पुरुष हक्कीमा प्रहरी र आर्मी मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सडन डेथ (५–४) ले पराजित गर्‍यो। आर्मीले प्रदेश ५ लाई टाइब्रेकरमा ४–२ गोलले हरायो। निर्धारित ६० मिनेटको दुवै सेमिफाइनल १–१ को बराबरीमा सकिएको थियो।

महिलातर्फ भएको एक मात्र खेलमा प्रदेश २ र प्रदेश १ लाई ३–० गोलले हराउदै सुदूरपश्चिमसंग सेमिफाइनल भेट पक्का गर्‍यो। मधुकुमारी, अमिता राई र गीता मिर्चिङले गोल गरे। अर्को सेमिफाइनल आर्मी र गण्डकी प्रदेशबीच हुनेछ।

 

बास्केटबल : प्रदेश ३ दोहोरो उपाधिनजिक

आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष-महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ।

दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित गर्‍यो। प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे। फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ। अर्को सेमिफाइनलमा आयुश सिंहको १९ अंक सहयोगमा आर्मीले नेपाल प्रहरीलाई ८५–७१ ले हरायो।

महिलामा प्रदेश ३ ले आर्मीमाथि ३९–२३ को जित दर्ता गर्‍यो। प्रदेश ३ की एलिना गुरुङले ९ अंक जोडिन्। उपाधिका लागि प्रदेश ३ ले प्रहरीसंग भिड्ने छ। प्रहरीले सुदूरपश्चिमलाई ५५–४४ ले पाखा लगायो। प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।

 

कबड्डी : आर्मी र प्रदेश ५ भिड्ने

आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन्। बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे।

महिलामा आर्मी र प्रहरी फाइनलमा पुगे। आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले हराए। फाइनल बुधबार हुनेछ।

 

फुल कन्ट्याक्ट कराते सुरु

आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि नेपालगन्जस्थित महेन्द्र क्याम्पसमा सुरु भएको छ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। सबै तौलसमूहमा सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी छन्। सेमिफाइनल र फाइनल बुधबार हुनेछ।

 

पदक तालिकामा विभागीय टोलीकै वर्चस्य

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत छैटौँ दिनसम्मको खेल सकिँदा पदक तालिकामा विभागीय टिमको वर्चस्व रहेको छ। औपचारिक उद्घाटन बैशाख ५ गते हुने भएपनि केही खेलहरु २०७५ साल चैत २७ गतेदेखि सुरु भएको थियो।

त्यसयता ७ दिनको खेल सकिँदा पदक तालिकामा तीन विभागीय टोली अगाडि छन्। सातौँ दिन आर्मी र पुलिसले १-१ स्वर्ण थपेका छन्। त्रिभुवन आर्मी १९ स्वर्ण, २० रजत र १७ कास्यसहित कूल ५६ पदकका साथ पहिलो स्थानमा छ। आर्मीलाई पछ्याइरहेको नेपाल पुलिस र एपीएफ दोस्रो र तेस्रोमा छ। पुलिसले १४ स्वर्ण, १२ रजत र १२ कास्यसहित ३८ पदक जितेको छ। यस्तै एपीएफले ११ स्वर्ण, ११ रजत र १७ कास्यसहित ३९ पदक जितेको छ।

पहिलो पटक प्रदेश हरु सहभागि भएको यस राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम र प्रदेश नम्बर २ अहिलेसम्म पदक तालिकामा अगाडि छ। यस्तै पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको एनआरएनएले पनि सोमवार स्वर्णको खाता खोलेको छ। कर्णाली प्रदेशले भने अझै स्वर्ण जित्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell