
आगामी मे-जुन-जुलाईमा हुने आइसीसी एकदिवसीय विश्वकप २०१९ को लागि आयोजक इंग्ल्याण्डले टोली घोषणा गरेको छ। इयान मोर्गनको कप्तानीमा बुधबार घोषणा भएको १५ सदस्यीय टोलीमा फास्टर बलर जोफ्रा आर्चर भने अटाउन सकेनन्।
हाल इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थन रोएल्सबाट खेलिरहेका आर्चरले अन्तिम टोलीमा स्थान बनाउन सक्ने सम्भावना क्रिकेट विश्लेषकहरुले व्यक्त गरेका थिए। तर लियम प्लङकट, डेविड विली, मार्क उड, क्रिस वोक्स, टम कुरान र बेन स्टोक जस्ता फास्ट बलर रहेको टिममा आर्चरले स्थान बनाउन सकेनन्।
यस्तै एदिल रसिद र मोइन अली सँगै जोए डेन्लीलाई अतिरिक्त स्पिनरको रुपमा टिममा राखिएको छ।
कप्तान मोर्गानसँगै ब्याटिङमा जोस बटलर, जोनी बेर्स्टोव, जोए रुट, ज्यासन रोए, एलेक्स हाल्स छन्।
१५ सदस्यीय टोली घोषणा गरेपनि इंग्लिस सेलेक्टरले यसलाई प्रारम्भिक टोली भनेको छ र आगामी मे १९ मा पाकिस्तान विरुद्धको पाँच एकदिवसीय सिरिज सकिएपछि अन्तिम टोलीको टुङ्गो लगाउन सकिने जनाएको छ। त्यसका लागि फास्ट बलरमा आर्चरसँगै क्रिस जोर्डन पनि पर्न सक्ने सेलेक्टरले जनाएको छ। पाकिस्तान विरुद्धको सिरिज र आयरल्याण्ड विरुद्धको एकदिवसीय र टी २० सिरिजका लागि आर्चर इंग्लिस टिममा परेका छन्।
इंग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने १२औँ संस्करणको विश्वकपका लागि यसअघि नै न्यूजिल्याण्ड, भारत, अष्ट्रेलिया र बंगलादेशले टोली घोषणा गरिसकेका छन्।