PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

दोस्रो संस्करणको केपीएल बिजेतालाई पाँच लाख, दर्शकलाई मोटरसाइकल



पी बी खड्का

दोस्रो संस्करणको केपीएल बिजेतालाई पाँच लाख, दर्शकलाई मोटरसाइकल

सुर्खेत : आगामी वैसाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने कर्णाली प्रिमिएर लिगको (केपीएल) दोस्रो संस्करणको बिजेताले पाँच लाख रुपैयाँ पाउने भएको छ। कर्णालीको राजधानी सुर्खेतमा हुने केपीएलको उपबिजेताले दुई लाख पाउने प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिए।

बुधवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक शाहीका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिज हुनेले पचास हजार पाउने छन्। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २० हजार पाउने छन्। प्रतियोगिताको म्यान अफ द म्याच हुनेले (प्रत्येक खेलमा) ३५ सय पाउने संयोजक शाहीले जानकारी दिए। 

गत वर्ष भएको कर्णाली प्रिमिएर लिगको पहिलो संस्करणमा बिजेता आर्मीले नगद तीन लाख हात पार्न सफल भएको थियो। 

यी खेलाडीको कप्तानीमा आठ टिम भिँड्दै 
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा हुने उक्त प्रतियोगितामा विभागीय टिमसहित आठ टिमको सहभागिता रहने भएको छ। विनोद भण्डारीको कप्तानीमा नेपाल आर्मी रहने छ भने मन्जित श्रेष्ठको कप्तानीमा नेपाल पुलिस क्लब रहँदा, सशस्त्र प्रहरीको एपिएफको कप्तानी बसन्त रेग्मीले सम्हाल्ने छन्।

त्यस्तै रविन्द्रजंग शाहीको कप्तानीमा कर्णाली ११ रहने छ भने मेहबुब आलमको कप्तानीमा लालीगुराँस क्रिकेट क्लब झापा प्रतियोगितामा उत्रने छ। हिमालयन किक्रेट एकेडेमी काठमाडौंको कप्तानमा सुरेन्द्र चन्द, महेन्द्रनगर किक्रेट कल्बको कप्तान सुशील खड्का,रहँदा मध्यपश्चिम किक्रेट एकेडेमीको कप्तानी अजय साहनीले गर्ने पक्का भएको छ। 

दर्शकलाई मोटरसाइकल उपहार
प्रतियोगिता हेर्न आउने दर्शकका लागि लक्की ड्र मार्फत् मोटरसाइकल उपहारको व्यवस्था गरिएको छ। आयोजकले पाँच सय, सय र ३० रुपैयाँको टिकट व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। 

खेल अवधिमा दर्शकले टिकट काटेर अवलोकन गरे प्रतियोगिताको अन्तिम दिन साढे दुई लाख बराबरको मोटरसाइकल उपहार दिइने छ। त्यस्तै दोस्रो उपहार एलइडी टेलिभिजन लगाएत मोबाइल सेट उपहार दिइने प्रतियोगिताका संयोजक शाहीले जानकारी दिए ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell