
भ्रष्टाचारको आरोपमा पक्रन प्रहरी घरैमा आएपछि पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले आफैलाई गोली हान्दा मृत्यु भएको छ।
बीबीसीका अनुसार गोली लागेका गार्सियालाई तत्काल राजधानी लिमाको अस्पताल लगिएको थियो। उनको मृत्युको पुष्टि राष्ट्रपति मार्टिन भिज्काराले गरेका छन्।
गार्सियामाथि ब्राजिली निर्माण कम्पनी ओडेरब्रेच्टबाट घुस लिएको आरोप लगाइएको थियो। तर उनले यो आरोप अस्वीकार गरेका थिए।
यही आरोपमा पक्राउ गर्न प्रहरी उनको घरमा गएको थियो।
पेरुका गृहमन्त्रीले पत्रकारहरुलाई बताए अनुसार प्रहरी पुगेपछि गार्सिया फोन गर्छु भन्दै कोठाभित्र गई ढोका लगाएका थिए। त्यसको केही समयमा नै गोली चलेको आवाज आएको थियो। प्रहरीले ढोका फोरी हेर्दा कुर्सीमा बसेका पूर्व राष्ट्रपतिको टाउकोमा गोली लागेको भेटिएको थियो।
गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपति भएका थिए।
दोस्रो कार्यकालमा मेट्रो लाइन बनाउने प्रोजेक्टमा उनले घुस लिएको आरोप लागेको थियो।
उनले आफूलाई आरोप लागिरहँदा गत नोभेम्बरमा उरुग्वेका राजदूतको लिमास्थित निवासमा गएर शरण मागेका थिए। तर उनको शरण निवेदन उरुग्वेले अस्वीकार गरिदिएको थियो।