
नेपालगन्ज : दिपेश कँडेलले घातक बलिङ गर्दै ४ विकेट लिएपछि आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा प्रदेश १ ले प्रदेश ३ लाई २० रनले पराजित गरेको छ।
बाँकेको कोलहपुर क्रिकेट मैदानमा भएको समूह बी को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले निर्धरित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो। प्रदेश १ का लागि कप्तान पुष्प थापाले सर्वाधिक २४ रन र सन्नी पुनले १२ रन बनाए।
प्रदेश ३ का सोनु देवकोटाले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए।
१०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ १८.३ ओभरमा ८६ रनमै अलआउट भयो। प्रदेश ३ का लागि ओपनर रविन जोशीले २४ र यशान पाण्डेले २० रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्।
प्रदेश ३ लाई अलआउट गर्न प्रदेश १ का दिपेशले ३.३ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर १० रन खर्चँदै ४ विकेट लिए।
कोहलपुरमै भएको यसै समूहको अर्को खेलमा प्रदेश २ ले प्रदेश ६ लाई ९ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ६, ५७ रनमै अलआउट भएको थियो। प्रदेश २ ले ११.४ ओभरमा खेल्दै १ विकेट गमाएर लक्ष्य पूरा गरेको हो।
प्रदेश २ का लागि हरि शंकर शाहले ३३ रन बनाए। यस्तै प्रदेश ६ लाई अलआउट गर्न प्रदेश २ का कुमाल थापाले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए।
यसैगरी भैरहवामा भइरहेको समूह ए को खेलमा नेपाल पुलिसले प्रदेश नम्बर ४ लाई २८ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको पुलिसले १९.५ ओभरमा १ सय ३५ रन बनाएको थियो। पुलिसका लागि लागि कुशल भुर्तेलले सर्वाधिक ४४, आरिफ शेखले ३५, अमित श्रेष्ठले १६ र दिपेन्द्र ऐरिले १२ रन बनाए। बलिङमा प्रदेश चारका करण केसीले ३ विकेट लिए।
जवाफमा प्रदेश ४ ले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो। प्रदेश ४ का लागिआकाश थापाले ३१ तथा सुमन घिमिरेले २७ रन बनाएपनि बाँकि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्। बलिङमा पुलिसको लागि राम नरेश गिरिले २ विकेट लिए।