PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

आठौँ राष्ट्रिय खेलकुद : आर्मी ४५ स्वर्णसहित शीर्ष स्थानमा



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : आर्मी ४५ स्वर्णसहित शीर्ष स्थानमा

नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीहरुले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा वर्चस्व बनाइरहेका छन्। प्रदेश पाँचमा भइरहेको प्रतियोगिता अन्तर्गत दशौँ दिनको खेलहरु सकिँदा त्रिभुवन आर्मी ४५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ।

आर्मीले ४५ स्वर्ण, ३१ रजत र २७ कास्यसहित कूल १०३ पदक जितिसकेको छ। यस्तै आर्मीलाई अन्य दुई विभागीय टोली नेपाल पुलिस र एपीएफले पछ्याइरहेका छन्। पुलिस २२ स्वर्ण, २० रजत र २१ कास्यसहित ६३ पदकका साथ दोस्रो स्थानमा छ भने एपीएफ १७ स्वर्ण, १६ रजत र २८ कास्य सहित कूल ६१ पदकका साथ तेस्रो स्थानमा छ।

यस्तै विभागीय टोली बाहेक अन्य टोलीले स्वर्ण पदक संख्या १० पनि पुर्‍याउन सकेका छैनन्। विभागीय टोलीपछि धेरै स्वर्ण जित्नेमा प्रदेश ३ रहेको छ। प्रदेश ३ ले ९ स्वर्ण जितेको छ। स्वर्ण थोरै जितेको प्रदेश ३ ले रजत र कास्य भने धेरै जितेको छ। ९ स्वर्ण, १५ रजत र ३३ कास्यसहित ५७ पदकका साथ प्रदेश ३ चौथो स्थानमा छ।

यस्तै गण्डकी प्रदेश, प्रदेश ७ र प्रदेश २ ले समान ६ स्वर्ण जितेका छन्। प्रदेश ५ ले ४ स्वर्ण, प्रदेश १ ले ३ स्वर्ण, कर्णाली प्रदेशले २ स्वर्ण र पहिलो पटक सहभागिता जनाइरहेको एनआरएनएले १ स्वर्ण जितेको छ। अहिलेसम्म १२१ स्वर्णको छिनोफानो भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell